बजारका सडक स्तरोन्नती गरिँदै

वीरेन्द्रनगर बजार क्षेत्रका मुख्यसडक स्तरोन्नती गर्न लागिएको छ । वीरेन्द्रनगर नगरपालिका प्रदेश र संघीय सरकारको संयुक्त योजनामा सडक स्तरोन्नती गरिने भएको हो । मंगलगढीदेखि गणेशचोकसम्मको मुख्य सडक फराकिलो र व्यवस्थित बनाउन लागिएको नगरपालिकाले जनाएको छ । मुख्य सडक नौ सय ४२ मिटर र बजार क्षेत्रमा अन्य गरी करिब दुई हजार सात सय मिटर सडक विस्तार तथा स्तरोन्नती गरिने बताइएको छ । संघीय सरकारको सडक विभाग, प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाको त्रिपक्षीय समन्वयमा सडक विस्तार र स्तरोन्नतीको काम सुरू हुन लागेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।

यस्तै, जन नमुना माध्यमिक विद्यालयदेखि रामजानकी मन्दिर र वीरेन्द्रचोदेखि यरीचोकसम्मका सडक पनि स्तरोन्नती गरिने भएको हो । मंगलगढी–गणेशचोक सडक १३ करोड लगानीमा स्तरोन्नती गर्न लागिएको छ । उक्त सडक १४ मिटर पिच हुनेछ । एक÷एक मिटर नाली र दुई÷दुई मिटर फुटफाथसहित २० मिटर सडक विस्तार गर्न लागि लागिएको नगरपालिकाले जनाएको छ । नालामाथिबाटै फुटफाथ बनाउन लागिएको छ ।

नगर प्रमुख सुवेदीले संघीय सकारको समेत बजेट जोड्दा २१ करोड लागतमा वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न सडकको स्तरोन्नती हुने जनाए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाको बढ्दो जनसंख्यालाई मध्यनजर गरी सडक स्तरोन्नती गर्न लागिएको हो । ‘साघुँरा र अव्यवस्थित सडकले ट्राफिक व्यवस्थापनमा नै समस्या हुन थाल्यो,’ उनले भने, ‘सडकको स्तरोन्नती गरेसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउँने छ ।’ वीरेन्द्रनगर प्रदेशको राजधानी सहर पनि भएकाले यहाँका सडकहरू स्तरीय र सुरक्षित गराउन नगरपालिकाले पहल गरेको नगरप्रमुख सुवेदीको भनाइ छ ।

पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले बजारका सडक स्तरोन्नतीका लागि खड्का निर्माण सेवा बाँकेलाई १३ करोडमा टेन्डर परिसकेको जनाए । उनले अबको दुईभित्र सम्झौता गरेर भदौदेखि कामको सुरूवात गर्ने गरि तयारी भइरहेको बताए । १६ करोडमा टेन्डर आह्वान गरिएकोमा खड्का निर्माण सेवाले १३ करोडमा टेन्डर पारेको हो । सडक विस्तारका लागि पहिलो चरणमा विभिन्न सरोकारवाला निकायसँग छलफल समेत गरिएको छ । चालु आर्थिक वर्षभित्रै सबै कामहरू सक्नेगरी सडक विस्तारको काम अघि बढाइएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।