खोप अभियानमा चरम लापरबाही

जनस्वास्थ्यमाथि खेलबाड, परीक्षण स्थल र खोप केन्द्रमै संक्रमणको जोखिम, खोपमा पहुँचवालाको रजाइँ

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सञ्चालित खोप अभियानमा हेलचक्य्राँइ गरिएको पाइएको छ । स्वास्थ्य सेवा प्रदायक निकायले नै खोप अभियानमा चरम लापरबाही गरेका हुन् । सुर्खेतमा तोकिएका विभिन्न केन्द्रहरूमा खोप लगाउन आउने सेवाग्राहीको भिड अत्यधिक छ । सम्बन्धित पालिका र वडा कार्यालयहरूले खोप केन्द्र व्यवस्थित गर्नुपर्नेमा बेवास्ता गरेका छन् । सैयौंको संख्यामा लाग्ने भिडभाड व्यवस्थापन नगरी खोप अभियान सञ्चालन गर्दा केन्द्रमै संक्रमण फैलिने जोखिम उच्च देखिएको हो ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा सबैभन्दा बढी लापरबाही वीरेन्द्रनगरमा गरिएको छ । यहाँका अधिकांश केन्द्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी खोप अभियान सञ्चालन भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले खोप लगाउँदा मात्र नभइ कोभिड परीक्षणका लागि स्वाब संकलन गर्दा पनि स्वास्थ्य सुरक्षाका सावधानीहरू अपनाउने गरेको छैन । जसका कारण खोप र स्वाब संकलन केन्द्रमै संक्रमणको जोखिम हुने गरेको छ । स्वास्थ्य सेवा प्रदायक निकायकै अभियानहरूमा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको नागरिकहरूको गुनासो छ । सरकारले बनाएको मापदण्डअनुसार लक्षित वर्गलाई लगाइनुपर्ने खोपको सुर्खेतमा दुरूपयोगसमेत भएको छ ।

लक्षित समूह तोकेर केन्द्रहरूमा पठाइएको खोप पहुँचवालाहरूका आफन्त तथा नजिकका व्यक्तिहरूलाई लगाउने गरिएको हो । खोप कार्डमा लक्षित समूह, पहिचानको प्रमाण, उमेर जस्ता व्यक्तिगत विवरण अनिवार्य भर्नुपर्ने भए पनि स्वास्थ्यकर्मीहरूले नाम र ठेगाना मात्र लेख्ने गरेका छन् । लक्षित समूह बाहेककालाई खोप लगाउने कार्यमा स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि पनि संलग्न हुने गरेका हुन् । भनसुनका आधारमा खोप लगाइका कारण आवश्यक व्यक्तिगत विवरण पनि नभर्ने गरिएको एक स्वास्थ्यकर्मीले बताए । उनका अनुसार खोप लगाएका कतिपयलाई कार्डसमेत दिने गरिएको छैन । कार्ड लिन पछि आउनुहोला भन्दै खोप लगाएर सेवाग्राहीलाई पठाउने गरिएको उनले बताए ।

‘लक्षित वर्गभन्दा पहुँचको आधारमा खोप लगाउनेहरूको भिड लाग्छ । जनप्रतिनिधिहरूले नै सिफारिस गरेको व्यक्तिलाई नलगाइदिनु पनि भएन,’ नाम नखुलाउने सर्तमा खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरू भन्छन्, ‘केन्द्रमा लाग्ने भिडले एकातिर संक्रमण फैलने जोखिम छ भने अर्कोतिर खोपको पनि चरम दुरूपयोग भइरहेको छ ।’

स्वास्थ्य सेवा विभागले स्वास्थ्य कार्यालयहरूलाई परिपत्र नै गरेर खोपको लक्षित समूह किटान गरी सोही अनुसार गर्न÷गराउन निर्देशन गरेको छ । मातहतका कार्यालयहरूबाट उक्त निर्देशन पालना नहुँदा खोपमा पहुँचवालाको रजाइँ भएको हो । यसरी खोप लगाउनेहरू बढ्दै गएपछि लक्षित समूह वञ्चित हुने अवस्था आएको छ । खोप अभियानमा मापदण्ड विपरीत मनपरी हुन थालेपछि जनस्तरमा समेत व्यापक गुनासो बढेको छ । अनुगमन तथा नियमनकारी निकायहरूले भने त्यसको बेवास्ता गर्दै आएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, जनस्वास्थ्य सेवा कार्यालय र स्थानीय निकायहरूले खोप अभियानको प्रभावकारी अनुगमन र व्यवस्थापन गर्न सकेका छैनन् । खोप केन्द्रहरूमा स्वास्थ्य सुरक्षा र अनुगमन दुवै प्रभावकारी हुन नसकेको हो ।

लक्षित वर्ग बाहेकका ठूलो संख्याले पनि खोप लगाएको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन् । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्ले लक्षित समूह बाहिरका व्यक्तिहरू आउँदा खोप केन्द्रमा भिड बढेको बताउँछन् । तोकिएको समूहभन्दा बाहेककालाई सम्झाएर पठाए पनि केही व्यक्तिहरूले झगडा गरेरै खोप लगाउने गरेको पाइएको बताए । ‘खोपको अत्यधिक माग छ । केन्द्रमा बाक्लो भिड हुन्छ,’ उनले भने, ‘कोरोना जोखिम बढ्दै जाँदा अन्य उमेर समूहका पनि खोप केन्द्रमा आउनुहुन्छ । लक्षित वर्ग नछुट्ने गरी केही अरुले पनि लगाउनु भएको छ ।’ भिडभाड व्यवस्थापन नहुँदा खोप केन्द्रबाटै संक्रमण फैलने जोखिम रहेको उनले बताए । सुर्खेतमा लक्षित समूह भने खोप लाउनबाट नछुटेको वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेको दाबी छ । पछिल्लो विवरणअनुसार सुर्खेतमा लक्षित समूहमध्ये १८ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । हालसम्म सात प्रतिशत जनसंख्याले पूर्ण खोप पाएका छन् ।

कर्णालीका अन्य जिल्लाको तुलनामा सुर्खेतमा कोरोना संक्रमणको जोखिम पनि बढी छ । त्यसमा पनि वीरेन्द्रनगर उच्च जोखिममा रहेको जनस्वास्थ्यकर्मीहरू बताउँछन् । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार अहिले सुर्खेतको संक्रमण दर ३० देखि ४० प्रतिशत हाराहारीमा छ । जिल्लामा आइतवारसम्म कोरोनाका दुई सय २६ जना सक्रिय संक्रमित छन् । तीमध्ये वीरेन्द्रनगरका मात्रै एक सय ८० संक्रमित हुन । सुर्खेतमा कोरोना संक्रमणका कारण हालसम्म दुई सय सात जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा पछिल्ला दिनहरूमा संक्रमण फेरि उकालो लागेको छ । अहिले प्रदेशको कोरोना संक्रमण दर ४० देखि ४५ प्रतिशत हाराहारी छ । निषेधाज्ञा खुकुलो बनाएसँगै संक्रमण दर पुनः बढेको हो । संक्रमणको चेन ब्रेक गर्न नागरिकहरू नै बढी जिम्मेवार हुनुपर्नेमा त्यसो भएको पाइँदैन । सार्वजनिक स्थानहरूमा संक्रमणका जोखिमजन्य गतिविधि र स्वास्थ्य मापदण्ड पालना गरिएको छैन । जनस्तरबाट जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना नगर्दा संक्रमण बढेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् ।


स्थानीय तहले भिड व्यवस्थापन गर्न सकेनन्

डा. रविन खड्का (निर्देशक) प्रदेश स्वास्थ्य सेवा निर्देशनालय

अहिले खोपको माग अत्यधिक छ । खोप केन्द्रहरूमा थामि नसक्नु भिड लाग्छ । त्यहाँ लक्षित समूह बाहेकका व्यक्तिहरू पनि आउने गर्नुभएको छ । जसले गर्दा भिडभाड व्यवस्थापनमा निकै कठिनाइ देखिएको छ । हामीले सबै स्थानीय तहमा खोप पठाएका छौं । खोप खपत पनि भएको छ । तर, स्थानीय तहले भिड व्यवस्थापन गर्न भने सकेनन् । स्वास्थ्यका मापदण्ड पनि अपनाएको पाइँदैन । खोप लक्षित समूहबाहेकले पनि लगाएका छन् । पहुँचको आधारमा पनि खोप लगाएको पाइएको छ । सामाजिक सञ्जालमा लक्षित वर्ग र उमेर समूह उल्लेख नगरेका खोप कार्ड पनि देख्न सकिन्छ । जसले गर्दा कुन उमेर समूहकाले लगाए भनेर रिर्पोटिङ गर्न समस्या भएको छ । भिडभाड बढेको र लक्षित वर्ग बाहेकलाई खोप लगाएको गुनासो आएपछि यसको नियमन गर्न सबै जिल्लामा स्थानीय प्रशासनसँग जुममार्फत मिटिङ पनि ग¥यौं । अनुगमन गर्ने निर्णयअनुसार सबै ठाउँमा अनुगमन पनि भयो । तर, प्रभावकारी भने हुन सकेन । हामीले खोप केन्द्रहरू व्यवस्थित बनाउनेबारे सकेसम्म प्रयास गरेका छौं ।