‘पूरा नहुने’ मागमा अल्झिएको विवाद

विद्यार्थीको माग–अनलाइनबाट परीक्षा, कारबाहीमा परेकालाई पुनर्वहाली गर्न प्राध्यापकहरूको जोड, दुवै माग पूरा गर्न नसकिने विश्वविद्यालयको अडान

विद्यार्थीको माग छ, ‘अनलाइन माध्यमबाट परीक्षा हुनुप¥यो ।’ तर उपकुलपति नन्दबहादुर सिंह भन्छन्, ‘कुनै हालतमा हुँदैन ।’ आन्दोलित प्राध्यापकहरू कारबाहीमा परेका प्राध्यापकलाई पुनर्वहाली गर्नुपर्ने अडानमा छन्, तर उपकुलपति उक्त मागलाई सिधै नकार्छन्, ‘अपराध गर्नेलाई कारबाही हुन्छ, पुनर्वहाली गर्न सकिदैन ।’

यीनै दुई मागमा अहिले मध्यपश्चिम विश्वविद्यालयको विवाद अल्झिएको छ । विद्यार्थी र प्राध्यापकहरू विश्वविद्यालय प्रशासनविरुद्ध केही दिनयता आन्दोलित भएका छन् । जारी असझमदारी चुलिँदै गएपछि आन्दोलनरत पक्ष तोडफोडमा उत्रिएको छ । विद्यार्थी, प्राध्यापक र पदाधिकारीबीच विवाद थप बढ्दै गएको छ । आन्दोलनकै कारण विश्वविद्यालयका सबैजसो शैक्षिक कार्यतालिका प्रभावित बनेका छन् ।

विभिन्न माग राखेर विश्वविद्यालय प्रशासनविरुद्ध आन्दोलित बनेका विद्यार्थी संगठनहरूले विश्वविद्यालयको भौतिक सम्पत्तिमा समेत क्षति पु¥याएका छन् । बुधवार अपरान्ह विद्यार्थीहरूको समूहले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको निवासमा तोडफोड गरे । उपकुलपति निवास, परीक्षा व्यवस्थापन कार्यालय र सवारी साधनहरूमा ढुङ्गा प्रहार गरेर झ्यालका सिसा फुटाइदिएको विश्वविद्यालयले जनाएको छ । विद्यार्थीहरूको आन्दोलन दिन प्रतिदिन उग्र बन्दै गएको हो । आन्दोलनरत पक्ष तोडफोडमा उत्रिएपछि विश्वविद्यालयका कार्यालयहरूमा प्रहरीले पहरा दिइरहेको छ । बिहीवार विश्वविद्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति सिंहले विद्यार्थीहरूले अराजक गतिविधि गरिरहेको बताए । तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले संलग्न व्यक्तिहरूलाई मुद्दा चलाइने जनाए ।

‘३०÷४० जनाको समूहले तोडफोड गरेका छन् । वार्ताबाट समाधान खोज्ने प्रयास भइरहेका बेला छापामार शैलीमा आक्रमण गर्नु निन्दनीय छ,’ उपकुलपति सिंहले भने, ‘हामी इमान्दार विद्यार्थीलाई कारबाही गर्दैनौं । तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौं ।’ विद्यार्थीहरूको अराजक आन्दोलन निजी क्याम्पस सञ्चालन गरिरहेका प्राध्यापकहरूद्वारा प्रायोजित भएको समेत उनले आरोप लगाए ।

विद्यार्थीको माग–अनलाइनबाट परीक्षा, कारबाहीमा परेकालाई पुनर्वहाली गर्न प्राध्यापकहरूको जोड, दुवै माग पूरा गर्न नसकिने विश्वविद्यालयको अडान

झन्डै दुई सातादेखि विश्वविद्यालय तनावग्रत हुँदा पनि समाधानउन्मुख संवाद हुन सकेको छैन । विद्यार्थी, प्राध्यापक र पदाधिकारहरू आ–आफ्ना अडानबाट पछि नहटेपछि विवाद समाधान नभएको हो । उपकुलपति सिंह प्राध्यापक र विद्यार्थीहरूले राखेका कतिपय मागहरू जायज नभएको बताउँछन् । ‘विश्वविद्यालयको हितका लागि उठाइएका माग संवादका माध्यमबाट हल गर्न तयार छौं,’ उनी भन्छन्, ‘तर शैक्षिक गुणस्तर खस्कने खालका मागसँग सम्झौता हुँदैन ।’

विवादको जड, यी दुई माग

विद्यार्थी र प्राध्यापकहरुले राखेका पहिलो माग नै पूरा गर्न नसकिने अडानमा विश्वविद्यालय छ । शैक्षिक अपराध गरेर कारबाहीमा परेका प्राध्यापकहरूको पुनर्वहाली र अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने विद्यार्थीहरूको माग कुनै हालतमा सम्बोधन गर्न नसकिने उपकुलपति सिंहले जनाए । आन्दोलनरत पक्षले भने यीनै दुई माग सम्बोधन हुनैपर्ने अडान लिएको छ । दुवै माग शैक्षिक उन्नयनका लागि जायज नभएको विश्वविद्यालय प्रशासनको ठहर छ । अन्य मागहरूका सन्दर्भमा वार्ता र संवादबाट सहमति खोज्न आफूहरू तयार रहेको र त्यसकै लागि उच्चस्तरीय वार्ता टोलि गठन गरिएकोे उपकुलपति सिंह बताउँछन् ।

उपकुलपति सिंहले गत वर्ष अनलाइनबाट परीक्षा लिँदा थुप्रै कमजोरी भएको बताए । उनका अनुसार अनलाइन परीक्षामा बढी दुरूपयोग भएको पाइएकाले यस वर्ष भौतिक रूपमै उपस्थिति भएर परीक्षा लिने निर्णय गरिएको हो । ‘त्यसरी लिइएको परीक्षामा १०÷१२ जना विद्यार्थीहरूले एकै ठाउँमा बसेर परीक्षा दिएको भेटियो । हामीले कल्पना नगरेको रिजल्ट आयो,’ उनले भने, ‘यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्कने देखियो ।’ यो वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भौतिक रूपमै उपस्थित गराएर परीक्षा सञ्चालन गर्न लागिएको उनले बताए । ‘अनलाइनमार्फत परीक्षा सञ्चालन गर्दा गुणस्तर खस्किने भएकाले नै विगतको त्रुटि सच्चाइएको हो,’ उनले भने । विश्वविद्यालयमा अनलाइन परीक्षाको मनिटरिङ गर्ने प्रविधि विकास नगरुञ्जेल यसरी परीक्षा लिनु उपयुक्त नदेखिएको उपकुलपति सिंहको भनाइ छ ।

विवादको अन्तर्यमा राजनीति

विश्वविद्यालयका सबै प्राध्यापक र विद्यार्थीहरू भने आन्दोलनमा छैनन् । केही समूह मात्र आन्दोलित बनेको हो । नेपाल राष्ट्रिय प्राध्यापक संगठन, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अनेरास्ववियूू क्रान्तिकारी, अखिल छैठौं, अनेरास्ववियू (माधव नेपाल निकट विद्यार्थी) लगायतका संगठनहरू संयुक्त रूपमा आन्दोलित भएका छन् । अखिल क्रान्तिकारीको (विप्लव निकट) अनेरास्ववियुको (केपी शर्मा ओली निकट) विद्यार्थीहरू अहिले आन्दोलनमा सहभागि छैनन् । उनीहरूले राखेका मागसँग विश्वविद्यालयद्वारा गठित वार्ता टोलिले सहमति गरिसकेको छ । विश्वविद्यालयमा भइरहेका पछिल्ला गतिविधि नियालिरहेका जानकारहरूका अनुसार यहाँ शैक्षिक सुधारका लागि भन्दा पनि राजनीतिक स्वार्थबाट प्रेरितहरू बढी सक्रिय छन् । जसले गर्दा संवाद र छलफलभन्दा एक अर्को पक्षबीच असमझदारी बढ्दै गएको छ ।

राष्ट्रिय राजनीतिमा जे भइरहेको छ, विश्वविद्यालयमा पनि सोहीअनुसारको राजनीति चलिरहेको कतिपयको बुझाइ छ । आन्दोलनमा सबै विद्यार्थी र प्राध्यापकहरू सहभागि नहुनुले पनि यसमा शंकाको सुविधा छ नै । आन्दोलनमा नेपाली कांग्रेस र माओवादी निकट प्राध्यापक संगठनहरू मात्र सक्रिय देखिन्छन् । आन्दोलनरत पक्षको भनाइ सुन्दा उनीहरू उपकुलपतिको कार्यशैलीप्रति असन्तुष्ट देखिन्छन् । आन्दोलन पनि उनी लक्षित नै गरिएको छ ।

विश्वविद्यालयमा भइरहेको तोडफोडको केही विद्यार्थी र प्राध्यापकहरूले नै विरोध जनाएका छन् । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ र नेपाल प्रगतिशिल प्राध्यापक संगठनले बिहीवार संयुुक्त रूपमा प्रेस विज्ञप्तिमार्फत विश्वविद्यालयको भौतिक सम्पत्तिमा क्षति पु¥याउने खालका गतिविधिको विरोध गरेका हुन् । अनेरास्ववियूलगायतका अन्य संगठन तथा विद्यार्थीहरूले उक्त घटनाको विरोध गरेका छन् । कतिपय माग विश्वविद्यालय र विद्यार्थी दुवैका लागि जायज भए पनि आन्दोलनको शैलीका कारण उनीहरू आलोचित हुँदै आएका हुन् ।

आन्दोलनकारीले राँके जुलुस, तोडफोड र पदाधिकारीमाथि अभद्र व्यवहार गर्न थालेपछि विश्वविद्यालयमा उत्पन्न परिस्थिति थप जटिल बनेको छ । पूर्व विद्यार्थी नेता घनश्याम पाण्डे विश्वविद्यालयमा अहिले भइरहेका गतिविधि उचित नभएको बताउँछन् । ‘एमयूमा यो अति भयो,’ उनले विद्यार्थी आन्दोलनलाई लक्षित गर्दै भने, ‘उ बेलाका विद्यार्थी आन्दोलन गुणस्तरीय शिक्षाका लागि हुन्थे । अहिले घरबाटै परीक्षा दिन पाउनुपर्छ भन्ने माग छन् ।’ अनलाइन परीक्षा गराउनैपर्ने माग राखेर आन्दोलन गर्नु शैक्षिक गुणस्तरको हितमा नभएको उनको भनाइ छ ।

विश्वविद्यालयमा दिनहुँ आन्दोलन भइरँदा त्यस आसपासका बासिन्दासमेत आजित भएका छन् । उनीहरू सामाजिक सञ्जालहरूमा यस्ता गतिविधि रोक्नुपर्ने भन्दै विरोध जनाइरहेका छन् । वीरेन्द्रनगर–७ का गोविन्द आचार्यले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पढाइ र गराइमा अन्तर । द्वन्द्व व्यवस्थापन पढाइ हुने विश्वविद्यालय आफै द्वन्द्वबाट बर्बाद ।’

प्रकाशित मितिः   १५ श्रावण २०७८, शुक्रबार ०५:००