सडक सुधार

नागरिकलाई सहजताका लागि सडक पूर्वाधारको विकास गर्ने गरिएको छ । सडक निर्माण, मर्मत र सुधारमा सरकारले बर्सेनि बजेट लगानी गर्छ । अहिले मुलुकमा तीन तहका सरकार छन् । तीनै तहका सरकारले आफ्ना वार्षिक योजना र कार्यक्रममा सडक योजनालाई उच्च प्राथमिकतामा राख्ने गरेका छन् । जसमा नयाँ सडक निर्माणदेखि भएका सडकको सुधार र स्तरोन्नतिसम्म पर्दछन् ।

सडक सरकारको प्राथमिकताको योजना भए पनि अपेक्षाकृत रूपमा सुधार र स्तरोन्नति हुन भने सकेको पाइँदैन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकै मुख्य सडकहरूको अवस्था जीर्ण छन् । यस्ता कतिपय सडक वर्षौंदेखि अलपत्र छन् । निर्माण कार्य पूरा हुन सकेका छैनन् । मर्मतको अभावले अस्तव्यस्त भएका छन् । यस्तैमध्येको एक हो, वीरेन्द्रनगरको मंगलगढी चोकदेखि काँक्रेविहार जोड्ने सडक । बजेट सुनिश्चित नहुँदै हचुवाको भरमा योजना छनोट गर्दा तीन वर्षदेखि सडक लथालिङ्ग बनेको हो । यतिका लामो समयसम्म नाला निर्माणको कामसमेत अधुरो छ । आर्थिक वर्ष २०७५÷०७६ मा कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा उक्त सडक निर्माणको काम अघि बढाइएको थियो । सडक समयमै नबन्दा यात्रुलाई बाह्रै महिना सास्ती हुने गरेको छ । यो सडक खण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्य हुन्छ । प्रदेश राजधानीको सडक भएकाले नगरको मात्र नभइ प्रदेशकै महŒवको हो । वीरेन्द्रनगर बजारदेखि काँक्रेविहार संरक्षित क्षेत्र जोड्ने यहीँ सडक भएर उपत्यकाका दक्षिणी क्षेत्रका हजारौं बासिन्दाहरूको दैनिक आउजाउ हुन्छ । प्रदेश र नगर दुवैको गौरवको आयोजना भए पनि स्तरोन्नतिमा भने चरम लापरबाही गरिएको छ । सुरूमा वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माण गर्ने र बाँकी काम प्रदेश सरकारले गर्ने सहमति भएको थियो । त्यसबेला प्रदेशले पाँच करोड र नगरपालिकाले एक करोड रूपैयाँ बजेट छुट्याएका पनि थिए । नाला निर्माण सम्पन्न नभइ सडकको अन्य काम प्रदेशले सुरू गरेन । नाला निर्माण नहुँदै सडक निर्माणका काम अघि नबढाइएपछि प्रदेशको बजेट फ्रिज गयो । नगरपालिकाले तीन वर्ष लगाएर एकतर्फ एक हजार दुई सय मिटर नाला मात्र निर्माण गरेको छ । नगरपालिकासँग बजेट अभाव भएपछि बाँकी नाला निर्माणको काम पनि रोकिएको छ ।

मंगलगढी–काँक्रेविहार सडक त एक उदाहरण मात्रै हो । नगरभित्रका अन्य प्रमुख सडकहरूको अवस्था पनि यस्तै अस्तव्यस्त छ । सडक नागरिक सुविधाका लागि हो । तर समयमै निर्माण नगरी अलपत्र छोड्दा त्यसलाई नागरिकलाई नै सास्ती हुने गरेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । एक पटक सडक निर्माण गरिसकेपछि त्यसको सुधार र मर्मत नियमित गर्नुपर्ने हुन्छ । अर्कोतर्फ हाँका अधिकांश सडक साँघुरा छन् । जसको सुधार अपरिहार्य छ । अब राजधानीका सडक जतिसक्यो फराकिला हुनु अपरिहार्य छ । नत्र भविष्यमा समस्या निम्तिन सक्दछ । त्यसैले सडक सुधार, स्तरोन्नति र व्यवस्थित गर्न तीनै तहका सरकारले विशेष ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   १५ श्रावण २०७८, शुक्रबार ०५:००