वैकल्पिक सिकाइ प्रभावकारी भएन

कोरोना भाइरस (कोभिड–१९) को महामारीका समयमा शिक्षण सिकाइलाई निरन्तरता दिन अपनाइएको वैकल्पिक सिकाइका कार्यक्रमहरू प्रभावकारी नभएको सरोकारवालाले बताएका छन् । विद्युत र इन्टरनेटको पहुँच नभएका दुर्गम क्षेत्रमा यसको कार्यान्वयन हुन नसकेको हो । विद्यालयहरूमा प्रविधि प्रयोग गर्ने जनशक्तिको अभाव र विद्यार्थी इन्टरनेटको पहुँचमा नहुँदा शिक्षण सिकाइ प्रभावित बनेको छ । वैकल्पिक माध्यम नहुनुका साथै अभिभावकहरूमा यसबारे जानकारी कम भएकाले पनि दुर्गम क्षेत्रमा सिकाइ प्रभावकारी बन्न नसकेको सरोकारवालाले बताएका हुन् ।

शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको शिक्षा संवाद कार्यक्रममा सहभागी सरोकारवालाले वैकल्पिक शिक्षण प्रणाली सबैको पहुँचमा नभएको बताएका छन् । जसले गर्दा विद्यालयहरूले सिकाइ गतिविधि अगाडि बढाउन नसकेको उनीहरूको भनाइ छ । जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले सञ्चारको पहुँच नै नभएकाले वैकल्पिक विधि प्रभावकारी नबनेको जनाए ।
‘कोभिडका बेला हाम्रो पालिकामा पनि विद्यालयको पठनपाठन प्रभावित भयो । अहिले पनि विद्यालयहरू सञ्चालन हुन सकेका छैनन् । हामीले वैकल्पिक रूपमा शिक्षाका लागि गरिएका कतिपय प्रयास सञ्चारको अभावमा सफल बनाउन सकेका छैनौं ।’ ग्रामीण क्षेत्रमा सञ्चारको अभावले वैकल्पिक शिक्षामा चुनौती रहेको उनले बताए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनकबहादुर शाहले गाउँपालिकाभित्रका चार सय घरधुरीमा शिक्षक राखेर वैकल्पिक शिक्षण गराउनुपर्ने बाध्यता रहेको बताए । घरमै पुगेर बालबालिकालाई पढाउन बालविकास कक्षाका शिक्षकहरूलाई अभिमुखीकरण गर्न, स्वःअध्ययन सामग्री निर्माण जस्ता कार्यहरू भइरहेको उनी बताउँछन् । शाहले एफएम रेडियोहरूबाट पनि शिक्षण सिकाइ गर्ने गरिएको शिक्षण सिकाइका वैकल्पिक माध्यमको समस्या भइरहेकाले गाउँपालिकाले आफ्नै रेडियो सञ्चालन गर्ने योजनासमेत बनाएको उनी बताउँछन् ।

प्रकाशित मितिः   १५ श्रावण २०७८, शुक्रबार ०५:००