गोजु–रियो कराँते संघमा खड्का

नेपाल गोजु–रियो कराँते संघ जिल्ला प्रमुखमा प्रकाश खड्का चयन भएका छन् । बुधवार एक कार्यक्रमका बीच खड्कालाई जिल्ला प्रमुखमा चयन गरिएको हो । त्यस्तै, संघको सहायक प्रशिक्षकमा भेषजङ्ग शाहीलाई चयन गरिएको छ । जिल्ला कार्यसमिति अध्यक्षमा लोकेन्द्रराज शाही, उपाध्यक्षमा दिवश भण्डारी, सचिवमा जगतप्रसाद रिजाल, सहसचिवमा मानबहादुर शाही र कोषाध्यक्षमा भेषजङ्ग शाही रहेका छन् । प्रमुख खड्काका अनुसार संघको सदस्यहरूमा खड्कबहादुर घर्ती, खड्कबहादुर थापा, निरूता कोइराला, टंकप्रसाद ढकाल र चन्द्र लामिछाने चयन भएका छन् ।

नेपाल गोजु–रियो कराँतेका महासचिव सिहान बि.आर. को उपस्थितिमा उक्त जिल्लास्तरीय कार्यसमिति बनाइएको हो । उनकै अध्यक्षतामा तीनदिने तालिम समेत सञ्चालन हुने र संघका कर्णाली प्रदेश प्रमुख डम्बरबहादुर शाहीले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रमुख खड्काले जानकारी दिए । खेल क्षेत्रको समग्र विकासका लागि आफूहरूले जिल्लामा रहेर काम गर्ने नवगठित कार्यसमितिका पदाधिकारीहरूले जनाएका छन् ।