राजधानीको मुख्य सडक तीन वर्षदेखि अलपत्र

बजेटको सुनिश्चित नहुँदै हचुवाको भरमा योजना छनोट गर्दा निर्माणले गति लिएन

बजेटको सुनिश्चित नहुँदै हचुवाको भरमा योजना छनोट गर्दा निर्माणले गति लिएन

वीरेन्द्रनगरको मंगलगढी चोकदेखि काँक्रेविहार जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र परेको छ । बजेट सुनिश्चित नहुँदै हचुवाको भरमा योजना छनोट गर्दा तीन वर्षदेखि सडक लथालिङ बनेको हो । यतिका लामो समयसम्म नाला निर्माणको काम समेत अधुरो छ । आर्थिक वर्ष २०७५÷०७६ मा कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा उक्त सडक निर्माणको काम अघि बढाइएको थियो । सडक समयमै नबन्दा यात्रुलाई बाह्रै महिना सास्ती हुने गरेको छ । यो सडक खण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्य हुन्छ ।

प्रदेश राजधानीको सडक भएकाले नगरको मात्र नभइ प्रदेशकै महŒवको हो । वीरेन्द्रनगर बजारदेखि काँक्रेविहार संरक्षित क्षेत्र जोड्ने यहीँ सडक भएर उपत्यकाका दक्षिणी क्षेत्रका हजारौं बासिन्दाहरूको दैनिक आउजाउ हुन्छ । प्रदेश र नगर दुवैको गौरवको आयोजना भए पनि स्तरोन्नतिमा भने चरम लापरवाही गरिएको छ ।

सुरूमा वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माण गर्ने र बाँकी काम प्रदेश सरकारले गर्ने सहमति भएको थियो । त्यसबेला प्रदेशले पाँच करोड र नगरपालिकाले एक करोड रूपैयाँ बजेट छुट्याएका पनि थिए । नाला निर्माण सम्पन्न नभइ सडकको अन्य काम प्रदेशले सुरू गरेन । नाला निर्माण नहुँदै सडक निर्माणका काम अघि नबढाइएपछि प्रदेशको बजेट फ्रिज गयो । नगरपालिकाले तीन वर्ष लगाएर एकतर्फ एक हजार दुई सय मिटर नाला मात्र निर्माण गरेको छ । नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार सो कामका लागि नगरपालिकाको दुई करोड ५० लाख बजेट खर्च भएको छ । नगरपालिकासँग बजेट अभाव भएपछि बाँकी नाला निर्माणको काम पनि रोकिएको उनले जनाए ।

प्रदेश सरकारले बाँकी रहेको नाला र सडक निर्माणको काम अघि बढाउने गरी पुनः प्रक्रिया थालिएको जनाएको छ । निर्माणाधीन सडकको बाँकी काम गर्न १८ करोडको लागत अनुमान प्रदेश सरकारले गरेको छ । पूर्वाधार विकास निर्देशनालयका अधिकृत हरि शर्मा धितालले गएको फागुनमा नै प्रदेशले लागत अनुमान गरेर योजनालाई बहुवर्षीय रूपमा अघि बढाएको बताए । बजेट एकिन र ठोस योजना नबन्दै काम सुरू गरिँदा निर्माणमा ढिलाइ भएको उनी बताउँछन् । ‘योजना छनोट गर्दा नगर र प्रदेशले संयुक्त रूपमा लगानी गर्ने भन्ने भयो । तर, कति खर्च लाग्छ भन्ने अनुमान र त्यसको सुनिश्चितता भएन,’ उनले भने, ‘नगरपालिकाले नाला निर्माण थाल्यो । बजेट थोरै हुँदा एकै पटक गर्न सकेन । अहिले फेरि प्रदेशले गर्ने गरि प्रक्रिया अघि बढाइएको हो ।’

गएको फागुनमा बल्ल सडकको विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) तयार भएको छ । क्रमागत योजनामा हालेपछि झनै निर्माणको काम अनिश्चित बनेको छ । आगामी भदौदेखि निर्माणको थप काम अघि बढाइने पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । नगरपालिकाको बजेटले चार÷पाँच वर्षमा पनि सम्पन्न नहुने भएकाले प्रदेश सरकारले निर्माण गर्ने गरी प्रक्रिया अघि बढाएको सरकारी अधिकारीहरू बताउँछन् । दुई किलोमिटर तीन सय मिटर लम्बाई भएको उक्त सडक २५ मिटर चौडा छ । दुवैतर्फ डेढ÷डेढ मिटर चौडा नाला बनाइने, सडक छेउमा ढाई÷ढाई मिटरमा खानेपानीका पाइप तथा बिजुलीका पोल राख्ने, दुई मिटर बीचमा सडक लाइट तथा फूलहरू लगाउने र बाँकी १५ मिटरमा कालोपत्रे गर्ने योजना छ । १८ करोड लागत अनुमान रहेको सडकमा हालसम्म प्रदेश सरकारले ४२ लाख र वीरेन्द्रनगर नगरपालिकाले दुई करोड ५० लाख खर्च गरेका छन् ।

निर्माण कार्यले गति नलिँदा आवागमनमा समेत अवरोध हुने गरेको छ । डोजरले खनेर खराब अवस्थामा रहेको सडकमा ठूल्ठूला खाल्डाखुल्डी छन् । सामान्य वर्षमा पनि हिलाम्य बन्ने हुँदा यायायातका साधन र पैदलयात्रुहरूलाई समेत सास्ती हुन्छ । सडकको बिजोग अवस्था भएकाले यात्रुलाई सास्ती हुनुका साथै यातायातका साधनहरू चलाउन पनि अप्ठेरो हुने गरेको हो । अस्तव्यस्त सडकले किनारका व्यापार व्यवसाय पनि चौपट भएका छन् । निर्माण कार्य छिटो सक्न वडा कार्यालय र नगरपालिकालाई आग्रह गर्दा–गर्दा आजित भइसक्दा पनि सुनुवाइ नभएको लाटीकोइलीबासीको गुनासो छ । प्रदेश राजधानीको मुहार फेर्ने ठानिएका महŒवपूर्ण सडकहरूको निर्माणमा लापरवाही हुँदा स्थानीयले झनै सास्ती भोगिरहेका हुन् ।

प्रकाशित मितिः   १४ श्रावण २०७८, बिहीबार ०५:००