२३ हजारलाई जेनसेन खोप लगाइँदै
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको जेनसेन खोप लगाइने भएको छ । सुर्खेतमा २३ हजारलाई उक्त खोप दिइने भएको हो । ५० देखि ५४ वर्ष उमेर समूह, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा विदेश जाने नागरिकहरूलाई खोप लगाउने तयारी गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार जिल्लामा दुई चरणमा खोप लगाइँदै छ । साउन १५ र १६ गते पाँच वटा स्थानीय तह र साउन २१ र २२ गते चार वटा स्थानीय तहमा खोप लगाइने छ । जेनसेन खोप दुई चरणमा लगाउन लागिएको हो । यो खोप एक डोज लगाए पुग्छ । कोभिसिल्ड र भेरोसेल जस्तो जेनसेन खोप दुई मात्रा लगाउनु नपर्ने जनस्वास्थ्यकर्मीहरूले बताएका छन् ।
जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले १५ र १६ गते भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकामा खोप दिइने बताए । यस्तै, साउन २१ र २२ गते सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा खोप लगाइने कार्यक्रम छ ।
यसअघि साउन ११, १२ र १३ गते पनि सुर्खेतमा कोरोना भाइरसविरुद्धको खोप अभियान चलाइएको थियो । यतिबेला २५ हजार पाँच सय ४८ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । साउन १५ र १६ गते भेरोसेलको पहिलो मात्रा छुटेकालाई पनि वीरेन्द्रनगरमा खोप लगाइने व्यवस्था गरिएको छ ।
प्रकाशित मितिः १४ श्रावण २०७८, बिहीबार ०५:०३
साझा बिसौनी ।