५५ वर्ष माथिकालाई खोप दिइँदै

साउन ११ र १२ गते जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने छ। वीरेन्द्रनगरमा थप एक दिन १३ गते पनि खोप दिइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्लाभर तीन दिन कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । सुर्खेतमा भोलि (सोमवार) देखि भेरोसेल खोप दिइने भएको हो । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार ५५ वर्ष माथिकालाई भेरोसेल खोपको पहिलो डोज लगाउन लागिएको छ । साथै, विश्वविद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, जिल्ला प्रशासन कार्यालयबाट तोकिएका अत्यावश्यक सेवा र विदेश जाने नागरिकलाई खोप लगाइने छ ।

भेरोसेल खोप साउन ११ र १२ गते सबै स्थानीय तहमा लगाइने छ । वीरेन्द्रनगरमा थप एक दिन १३ गते पनि खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुुख चेतननिधि वाग्लेले वीरेन्द्रनगरका सबै वडामा खोप केन्द्रमार्फत र अन्य पालिकाहरूमा स्वास्थ्य संस्था वा पालिकाले तोकेको केन्द्रमा खोप लगाउने व्यवस्था गरिएको छ ।

भेरोसेल खोप लगाएलगत्तै जोन्सन खोप पनि लगाइने कार्यालयले जनाएको छ । सुर्खेतमा जोन्सन खोप २३ हजारलाई लगाइने लक्ष्य लिएको छ । ५० वर्षदेखि ५४ वर्ष उमेर समूह, क र ख वर्गका अपाङ्गता भएका नागरिक र स्वास्थ्यकर्मीहरूलाई उक्त खोप लगाइने वाग्लेले जानकारी दिए । एक साताभित्र सुर्खेतमा ५१ हजार बढीलाई खोप लगाउने लक्ष्य रहेको उनको बताए । हालसम्म सुर्खेतमा चार प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सुर्खेतलगायत कर्णालीका अन्य जिल्लामा पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ । खोप अभियानको पाँचौँ चरणमा कर्णालीका ४६ हजार बढीलाई खोप लगाउने भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार भेरोसेल र जोन्सन गरी ६० हजार डोज खोप कर्णालीमा आइपुुगेको छ । भेरोसेलको ४३ हजार डोज र एक पटक मात्र लगाए पुग्ने जोन्सन खोप १७ हजार डोज ल्याइएको हो । उक्त खोप लक्षित वर्गलाई लगाउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   १० श्रावण २०७८, आईतवार ०५:००