पहिलो प्राथमिकता खोप

कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहर जारी छ । पहिलो र दोस्रो दुवै लहरमा कर्णाली प्रदेशले पनि ठूलो क्षति व्यहोर्नुप¥यो । कोरोना कहरले यहाँको अर्थतन्त्र धरासायी बन्यो । विकास निर्माणका आयोजनाहरू अलपत्र परे । झण्डै दुई वर्षदेखि मानिसहरूको जनजीवन कष्टकर छ । यो बीचमा सबै क्षेत्र अस्तव्यस्त रहे । व्यापार व्यवसाय चौपट छन् । कोरोनाकै कारण मानिसहरूको रोजगारी गुमेको छ । खासगरी स्वास्थ्य क्षेत्रमा निकै ठूलो संकट आयो । महामारीले सयौं नागरिकहरूको ज्यान लियो । स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा कोरोना संक्रमितमध्ये तीन सय ५० जनाको मृत्यु भइसकेको छ । संक्रमणको जोखिम अहिले पनि उस्तै छ । केही दिनयता संक्रमणदरको ग्राफ फेरि उकालो लागेको छ । कोरोना त्रास र यसबाट भइरहेको क्षति रोकिएको छैन ।

यतिबेला सबैको आशाको नजर कोरोनाविरुद्धको खोपतिरै छ । भाइरस प्रतिरोधक खोप पहिलो प्राथमिकता बनेको हो । कोरोनाबाट जोगिन महŒवपूर्ण मानिएको खोप सहजै पाइएको छैन । तर, महामारीसँग लड्न खोपको विकल्प पनि छैन । सबैले लगाउन चाहे पनि खोपको अपर्याप्तता छ । आफ्नो देशमा बन्दैन । खोप अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ । खोपको माग विश्वभर छ । विश्व अहिले कोरोनाविरुद्धको खोपकै खोजी छ । उत्पादन गरिरहेका कतिपय देशहरूले प्रतिबद्धताअनुसार नेपाललाई अनुदानको खोप दिएका छैनन् । अनुदानमा मात्र नभइ आफैं किन्छुभन्दा पनि खोप पाइने अवस्था छैन । यस्तो बेला पनि सरकारले खोप अभियानलाई निरन्तर दिएको छ । खोप खरिद वा अनुदान सहयोगका लागि कुटनीतिक पहल भइरहेका छन् । पहलस्वरूप थोरै भए पनि विभिन्न देशबाट खोपसँगै अन्य स्वास्थ्य सामग्रीहरू सहयोग आएका छन् । उपलब्ध सीमित खोप अहिले देशभर जोखिमको प्राथमिकताको आधारमा केही पेसा र उमेर समूहलाई दिने गरिएको छ । सबै नेपालीलाई सहज र सरल किसिमले खोप उपलब्ध गराउने अझै केही समय लाग्ने देखिन्छ ।

खोप कहिले आउला भन्ने व्यग्र प्रतिक्षा नागरिकहरू छन् । पछिल्लो समय मानिसमा खोपप्रति जागरुकता बढेको छ । पहिले एक किसिमको अन्योल देखिन्थ्यो । यसको औचित्य र प्रभावकारितामा शंका व्यक्त गर्ने गरिएको थियो । मानिसमा त्यस्तो अन्योलता हटेको छ । सरकारले पनि सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जसले गर्दा धेरै नागरिकहरूमा आशाको सञ्चार गराएको छ । कर्णालीमा खोप लगाउनुपर्ने ९५ प्रतिशत लक्षित वर्ग पर्खाइमा छन् । पाँच प्रतिशत जनसंख्याले खोप पाएका हुन् । १८ वर्ष माथिको उमेर समूहलाई मात्र लगाइने हुँदा यहाँ खोप दिनुपर्ने जनसंख्या करिब साढे नौ लाख छ । अहिलेसम्म खोपको दुवै मात्रा ४७ हजार हाराहारीले मात्र लगाएका छन् । झण्डै डेढ लाख कोभिसिल्ड र २२ हजार जनसंख्या भेरोसेलको दोस्रो डोजकोे पर्खाइमा छन् । प्रदेशमा खोप अभियानको पाँचौँ चरण केही दिनमा सुरू हुँदैछ । त्यसका लागि भेरोसेल र जोन्सन खोप ६० हजार डोज कर्णाली ल्याइएको छ । उपलब्ध उक्त खोपले थोरै भए पनि राहत अवश्य दिनेछ ।

प्रकाशित मितिः   १० श्रावण २०७८, आईतवार ०५:००