तेस्रो लहरसँग जुध्न पूर्वतयारी

उपचारका लागि भाइरस लक्षणको वर्गीकरण

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरबाट बच्न भाइरस लक्षणको वर्गीकरण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले यसका लागि निश्चित मापदण्ड तयार गरेको हो । कोरोनाको तेस्रो लहरले बालबालिकाहरूलाई बढी प्रभावित पार्न सक्ने विज्ञहरूले आँकलन गरेका छन् । विश्व स्वास्थ्य संगठन तथा विज्ञहरूको सुझाव अनुसार कोरोना भाइरसको तेस्रो लहर नियन्त्रणको तयारी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पनि गरेको हो । यसका लागि तीन वटा अवस्थामा भाइरस संक्रमणको वर्गीकरण गरिएको छ । सोही अनुसार उपचार गर्ने व्यवस्थाका लागि मापदण्ड तयार पारिएको निर्देशनालयले जनाएको छ ।

भाइरसको सामान्य अवस्था, मध्यम अवस्था र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तहका अस्पताल र प्रदेश अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी तयारी थालिएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार कोरोना भाइरसको तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित पार्न सक्ने संकेत देखिएपछि यस्तो तयारी गरिएको छ । यसरी पूर्वतयारी गर्दा उपचारमा सहज हुने उनले बताए । सामान्य रुघाखोकी र ज्वरो आएको अवस्थामा होम आइसोलेसन तथा समुदायस्तरमै उपचार गर्ने गरी मापदण्ड तयार पारिएको छ । डा. खड्काले यसलाई सामान्य अवस्था भनी वर्गीकरण गरिएको जनाए । समुदायमा अन्य रोग नियन्त्रणका लागि खटिने स्वास्थ्य स्वयम्सेविका तथा अन्य स्वास्थ्यकर्मीहरूले नै सामान्य अवस्थाका कोरोना संक्रमितलाई उपचार गर्नुपर्ने गरी मापदण्ड तयारी गरिएको हो ।

त्यस्तै, कडा खालको ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको खण्डमा जिल्ला तहका अस्पतालमा उपचारको व्यवस्था मिलाइने छ । यसलाई मध्यम खालको कोरोना भाइरस भनी वर्गीकरण गरिएको छ । जटिल खालको कोरोना भाइरसको लक्षण देखिएका संक्रमितहरूलाई प्रदेश अस्पतालमा उपचारको व्यवस्था मिलाउने तयारी भएको निर्देशक खड्काले बताए । बच्चाको हकमा आमाको दुध नचुस्ने, कडा ज्वरोको कारण मुर्छा पर्ने, अक्सिजन लगाउँदा पनि श्वासप्रश्वासमा समस्या देखिने खालका संक्रमितलाई जटिल लक्षणका संक्रमित भनि वर्गीकरण गरिएको छ । पहिलो र दोस्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मापदण्ड तयार नगर्दा उपचारमा समस्या देखिएको भन्दै तेस्रो लहरमा यस्तो अवस्था आउन नदिनका लागि मापदण्ड तयार गरिएको निर्देशक खड्काले बताए ।

संक्रमणको दोस्रो लहर जसरी कर्णालीमा मेडिकल अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभाव नहुने उनी बताउँछन् । ‘हामीले जिल्ला तहमा मिनि अक्सिजन प्लाण्टको तयारी गरिसकेका छौं,’ उनले भने, ‘जिल्ला स्टक भएका बाहेक प्रदेशमा मात्रै सात सय अक्सिजन सिलिण्डर स्टक छन् ।’ उनका अनुसार तीन सय हाराहारीमा अक्सिजन कन्सन्ट्रेटरसमेत निर्देशनालयले स्टक राखेको छ । अस्पतालमा अनावश्यक भिड हुन नदिनका लागि पनि मापदण्ड तयार गरी तेस्रो लहरको भाइरस नियन्त्रणमा जुट्ने उनको भनाइ छ । कर्णालीमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएको समयमा अस्पतालहरूमा संक्रमितको अत्यधिक भिड र स्वास्थ्य सामग्री तथा अक्सिजनको समेत अत्यधिक अभाव देखिएको थियो ।

प्रकाशित मितिः   १२ श्रावण २०७८, मंगलवार ११:२८