एमयू कलह: अप्ठ्यारोमा विश्वविद्यालय, एक्लिदै उपकुलपति

 

मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा केही दिनयता विश्वविद्यालय प्रशासनविरुद्ध दिनहुँजसो आन्दोलन भइरहेका छन् । प्राध्यापक र विद्यार्थीहरू आ–आफ्ना माग राखेर चरणवद्ध रूपमा आन्दोलित भएका हुन् । आन्दोलन चर्किदैं जाँदा विश्वविद्यालयका शैक्षिक कार्यतालिका प्रभावित बनेका छन् । परीक्षाहरू स्थगित गरिएको छ । पदाधिकारीका कार्यालय र क्याम्पसहरूमा तालाबन्दी छ । आन्दोलन खासगरी उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहप्रति लक्षित देखिन्छ । सरोकारवाला पक्षको बेवास्ता गर्दै उपकुलपतिले विश्वविद्यालयलाई आफूखुसी सञ्चालन गरेको आन्दोलनरत पक्षले आरोप लगाएका छन् । दर्जनौैं माग राखेर आन्दोलित भएका विद्यार्थी र प्राध्यापकहरू उपकुलपतिकै कार्यशैलीले यस्तो अवस्था आइलागेको दाबी गर्छन् ।

विश्वविद्यालयका बेथिति सुधार गर्दै एउटा उचाइमा पु¥याउने प्रतिबद्धतासहित उपकुलपतिको कार्यभार सम्हालेका सिंह पछिल्लो समय एक्लिदै गएका छन् । प्राध्यापक र विद्यार्थीहरू मात्र होइन उनको कार्यशैलीप्रति कतिपय पदाधिकारीसमेत सन्तुष्ट छैनन् । आफैले अघि सारेका विश्वविद्यालय सुधारका योजना कार्यान्वयनमा चुकेको, प्राध्यापक तथा कर्मचारीलाई प्रोत्साहनभन्दा हतोत्साहित पार्न सक्रिय रहेको, सामान्य त्रुटि भएका विषयलाई अतिरञ्जित गरेर सफाइको मौका नै नदिइ कार्यरत प्राध्यापकहरूलाई जागिरबाटै बर्खास्त गरेको लगायतका थुप्रै आरोप उपकुलपति सिंहमाथि लगाइएको छ ।

आफूविरुद्ध भइरहेका सबै आलोचना र टिकाटिप्पणी भने उनी स्वीकार्न तयार छैनन् । उनले विद्यार्थी र प्राध्यापकका माग विश्वविद्यालयको हित र आवश्यकभन्दा राजनीतिक स्वार्थबाट बढी प्रेरित भएको बताउने गरेका हुन् । सरोकारवाला पक्षले उठाएका सवाल सुन्नै तयार नभएकै कारण उनी थप अप्ठ्यारोमा पर्दै गएको प्राध्यापकहरू बताउँछन् । सिंहले आफू पदवहाली भएर आउने बेलामा विश्वविद्यालय भित्र रहेका बेथिति अन्त्य गर्ने बताएका थिए । त्यसयता उनले विश्वविद्यालयमा गलत कार्य गर्ने जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउने बताइरहे । केही प्राध्यापकहरूलाई कारवाही समेत गरे । तर, पछिल्ला दिनमा आफ्नै कार्यशैलीले उनी सकसमा परेका छन् । प्राध्यापक र विद्यार्थीहरू उनीविरुद्ध खरो रूपमा उत्रिएका छन् । विश्वविद्यालय सुधारको प्रयास गरिरहेको दाबी गर्ने उनले पदाधिकारी, प्राध्यापक र विद्यार्थीलाई साथमा लिन नसक्दा विवाद झनै चुलिएको जानकारहरू बताउँछन् ।

यद्यपि उनले अहिले देखिएको समस्या संवादबाट समाधान गर्न आफू तयार रहेको बताएका छन् । उपकुलपति सिंह भन्छन्, ‘विद्यार्थी र प्राध्यापकका कतिपय माग संवाद र छलफलबाट सम्बोधन गर्न सकिन्छ । त्यसका लागि विश्वविद्यालय तयार छ ।’ उनले समाधान खोज्ने भन्दैमा गलत माग भने पूरा नगरिने बताए । ‘प्राध्यापकको कारवाही फिर्ता हुँदैन । बरु उहाँहरू न्यायलयमा जान सक्नुहुन्छ,’ उनले भने । उनले अनलाइनबाटै परीक्षा दिन पाउनुपर्ने विद्यार्थीको माग पनि जायज नभएको बताए । शैक्षिक गुणस्तर खस्किने गतिविधिमा सम्झौता गर्न नसकिने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठन र स्ववियुलगायत विभिन्न विद्यार्थी संगठनहरूले विश्वविद्यालयमा अन्दोलनल जारी राखेका छन् । प्राध्यापक र विद्यार्थीहरूको आन्दोलनले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि दिनदिनै प्रभावित बन्दै गएको छ । प्राध्यापकहरूको इन्जिनियरिङ्ग संकाय अन्तर्गत एम.ई. कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथप्रसाद यादव माथि गरिएको कारवाही तत्काल फिर्ता लिनुपर्ने मुख्य माग छ । यादवलाई मनलाग्दी नम्बर दिएर विद्यार्थीहरूलाई पास गराएको आरोपमा स्थायी सेवाबाट बर्खास्त गरेको थियो । विभागीय कारवाही गर्ने ठाउँ हुुँदाहुुँदै पनि विश्वविद्यालयको ऐन÷नियम विपरीत हुकुमी शैलीमा स्थायी सेवाबाट हटाइएको प्राध्यापकहरूको आरोप छ । उपकुलपतिले एम.ई. कार्यक्रमको निर्देशकमा आफू निकटका व्यक्तिलाई पठाउन नियतवश नै यस्तो कारबाही गरेको उनीहरूले जिकिर गरेका छन् ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरूङ्गले विश्वविद्यालयमा कार्यरत प्राध्यापक, कर्मचारीहरूलाई पदाधिकारीबाट त्रासपूर्ण वातावरण सृजना गरिँदै आएको बताए । निलम्बन, ग्रेड रोक्का, सरुवा तथा बर्खास्त गरेका निर्णय खारेज गर्नुपर्ने उनी बताउँछन् । ‘छानविन समितिले विभागीय कारवाही गर्न सकिने भनेर सिफारिस गरे पनि समितिको प्रतिवेदन विपरीत पदबाट नै बर्खास्त गर्नु न्यायोचित छैन’ उनले भने, ‘यस्तो शैलीले विश्वविद्यालय सुधारमा सहयोग पुग्दैन ।’ राजनीतिक पूूर्वाग्रह राखेर एकपक्षीय ढङ्गले गरिएका पदाधिकारी नियुक्तिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, उपप्राध्यापक तथा कर्मचारीको विज्ञापन र छनोट प्रक्रिया अपनाउनु पर्ने, लामो समयदेखि पढाउँदै आएका प्राध्यापकहरूलाई करार बनाइनुुपर्ने र करारमा सेवामा कार्यरतलाई विशेष आन्तरिक प्रक्रियाबाट स्थायी बनाइनुपर्ने माग प्राध्यापकहरूका छन् ।

एमयूका प्राध्यापकहरूले सोमवार पत्रकार सम्मेलन गरेर विश्वविद्यालयले आफूहरूका मागप्रति बेवास्ता गरेको जनाए । विश्वविद्यालयले माग सम्बोधन नगरे आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गरिने उनीहरूको चेतावनी छ । विश्वविद्यालयका सम्पूर्ण कार्यक्रमहरू बहिस्कार गर्ने, आज (मंगलवार) देखि प्रत्येक दिन दुुई घण्टा केन्द्रीय क्याम्पसको गेटमा भण्डाफोर गर्ने, रिले अनशन, तथा आमरण अनशनलगायतका आन्दोलनका कार्यक्रमहरू गरिने प्राध्यापकहरूले बताएका छन् । सेवाबाट बर्खास्त गरिएका यादवले आफूलाई नियतवश फसाइएको ठोकुवा गरेका छन् । प्राविधिक हिसाबले गल्ती भएको स्वीकार गर्दागर्दै र छानविन समितिले विभागीय कारवाहीको सिफारिस गरे पनि उपकुलपतिले बर्खास्त गरेको उनको गुनासो छ । उनले यसविरुद्ध कानुनी उपचार समेत खोज्ने बताए ।

यस्तै, विद्यार्थीहरूले पनि पछिल्लो सातादेखि विश्वविद्यालमा विभिन्न माग राखेर आन्दोलन चर्काएका छन् । कोरोनाको जोखिम कायमै रहिरहेकाले अनलाइनमार्फत परीक्षा सञ्चालन गरिनुपर्ने उनीहरूको माग छ । कोरोना अवधिसम्मको शुल्क पूर्ण रूपमा मिनाहा गर्नुपर्ने, विद्यार्थीहरूलाई २० प्रतिशत छात्रवृत्ति कायम गरिनुुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्ग, नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा दर्ता गर्नुपर्ने लगायतका माग विद्यार्थीले राखेका हुन् । यी मागबारे विश्वविद्यालय र विद्यार्थीबीच पनि सहमति हुन सकेको छैन । संवाद र छलफलका लागि उपकुलपति तयार नभएको उनीहरूको भनाइ छ । प्राध्यापक र विद्यार्थीहरूले उपकुलपति तथा अन्य पदाधिकारीहरूले विश्वविद्यालयको गरिमा र साख गिराउने गतिविधि गरिरहेको आरोप लगाउँदै आएका छन् ।

विश्वविद्यालयले प्राध्यापक र विद्यार्थीका मागबारे छलफल गर्न उच्चस्तरीय समस्या समाधान समिति पनि गठन गरेको छ । समितिले आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल गरे पनि औपचारिक संवाद हुन सकेको छैन । वार्ता समितिसँग पटक–पटक अनौपचारिक छलफल भए पनि समाधान हुने छाँट नदेखिएको भन्दै यस्तो समितिको औचित्य नभएको आन्दोलनरत पक्षले जनाएको छ ।

प्रकाशित मितिः   १२ श्रावण २०७८, मंगलवार ११:३२