८७ जनाको परीक्षण गर्दा २९ मा संक्रमण

कर्णाली प्रदेशमा थप २९जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४० पुगेको छ । बिहीवार कालीकोटमा ११, सल्यानमा सात, रुकुुम–पश्चिममा ६, मुगुमा चार र हुम्लामा एक जनामा संक्रमण देखिएको हो ।

बिहीवार नै थप एक जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ५० पुगेको छ । निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार ७२ जना संक्रमणमुक्त भएका छन् । कर्णालीमा अहिलेसम्म २७ हजार पाँच सय ८२ जनाले कोरोना जितेका हुन् । प्रदेशमा पछिल्ला केही दिनयता संक्रमण दर पुनः बढ्न थालेको छ ।

यस्तै, देशभर बिहीवार दुई हजार सात सय १४ जनामा संक्रमण फेला परेको छ । १२ हजार आठ सय २६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार संक्रमण दर २१ दशमलव १५ प्रतिशत देखिएको छ । नेपालमा अहिलेसम्म सात लाख २७ हजार एक सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार तीन सय ७५ रहेको छ । कोरोना संक्रमणका कारण नौ हजार ६ सय ६१ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   ८ श्रावण २०७८, शुक्रबार ०५:००