संवाद गर

विश्वविद्यालय शैक्षिक थलो हो, प्राज्ञिक निकाय हो । विद्यार्थीहरूलाई शिक्षा दिने र उज्वल भविष्यको बाटो देखाउने दायित्व बोकेको विश्वविद्यालय शैक्षिक र प्राज्ञिक कर्ममै केन्द्रीत हुनुपर्ने हो । तर मध्यपश्चिम विश्वविद्यालय (एमयू) भने यतिबेला तनावग्रस्त छ । विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनसँग विभिन्न माग राखेर केही दिनयता आन्दोलन चर्काएका छन् । उसो त एमयूमा यसरी आन्दोलन हुनु न नौलो हो न त अन्तिम पटक नै । कहिले प्राध्यापक र कहिले विद्यार्थी आन्दोलनमा उत्रिन्छन् । स्थापनाकालदेखि नै चल्दै आएका यस्ता गतिविधि यो प्राज्ञिक थलोेमा स्वाभाविक जस्तै बनेका छन् । विश्वविद्यालयमा जे हुनुपर्ने हो त्योभन्दा बढी जे नहुनुपर्ने हो त्यो भइरहेको छ ।

नागरिक आन्दोलनको बलमा स्थापित विश्वविद्यालय हो, मध्यपश्चिम । विश्वविद्यालय स्थापनार्थ यहाँका नागरिकले मुठिदानदेखि जग्गादानसम्म गरेका छन् । लामै समय संघर्ष गरेका छन् । योसँगै यहाँका नागरिकहरूको सुदूर भविष्य जोडिएको छ । सपना र अपेक्षा जोडिएको छ । तर जब विश्वविद्यालय स्थापना भयो, सुरुवातदेखि नै विवादमा फस्यो । बदनाम हुनपुग्यो । संस्थापक पदाधिकारीहरू नै अनियमितता र भ्रष्टाचारको आरोपमा पदमुक्त भए । उक्त घटनाले विश्वविद्यालयको छवि धुमिल बनायो । त्यसयता पनि यसकिसिमका गतिविधि हुन भने छोडेका छैनन् । अनेक बेथिति सार्वजनिक भइरहेका छन् । पछिल्लो पटक गैरकानुनी काम गर्ने प्राध्यापक नै पदमुक्त भए । कतिसम्म भने एक प्राध्यापक विश्वविद्यालयबाट अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति खाइरहेको समाचारसमेत सार्वजनिक भएको छ । यस्ता अनेक विकृतिले विश्वविद्यालय बदनाम भइरहेको छ । अर्कोतर्फ निरन्तरको विवाद र आन्दोलनको श्रृंखलाले शैक्षिक थलोलाई राजनीतिक केन्द्रजस्तो बनाइदिएको छ ।

हुर्कंदै गरेको विश्वविद्यालय स्वार्थ समूहको चंगुलमा फसेको छ । गएका ११ वर्षमा हप्तैपिच्छे भइरहेका आन्दोलन, तोडफोड, झडप र मुद्दामामिलाले उनीहरूको भनाइलाई थप बल पुग्छ पनि । अनेक खाले अभावका बीच भर्खरै बामे सर्न थालेको शैक्षिक थलो आन्दोलनको भूमरीमा परेको छ । कर्णालीका विपन्न विद्यार्थीको शैक्षिक सपना पूरा गर्ने उद्देश्यले अभिभावकले मुठी दान गरेर खडा गरेको विश्वविद्यालय बेथिति र राजनीतिको दलदलमा भासिएको हो । विश्वविद्यालयमा अहिले विद्यार्थी र प्राध्यापकहरू चरणबद्ध आन्दोलनमा छन् । विश्वविद्यालय प्रशासनलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिन उनीहरू कडा आन्दोलनमा होमिएका हुन् । हात–हातमा आगोको राँको लिएर आन्दोलित उनीहरू अभिव्यक्तिमा पनि आगो ओकलिरहेका छन् । विद्यार्थी संगठनहरूको विश्वविद्यालय प्रशासनलाई चेतावनी छ, ‘आगोसँग नखेल्नु ।’ विश्वविद्यालयको मूल गेटदेखि पदाधिकारीका कार्यालय अगाडि जुलुश लिएर विद्यार्थीले यस्तो चेतावनी दिँदै आएका हुन् ।

विद्यार्थीका माग अनेक छन् । जसलाई पूरा हुनुपर्ने दबाब उनीहरूको छ । विश्वविद्यालय प्रशासन भने कतिपय माग पूरा गर्नै नसकिने भएको बताउँछ । जे होस् दुवै पक्षबीच छलफल र संवादमार्फत समस्या समाधान गर्नु आजको आवश्यकता हो । शैक्षिक थलोलाई कसैको स्वार्थपूर्ति गर्ने राजनीतिक स्थान बनाइनु हुँदैन । विद्यार्थीको जायज माग पूरा गराउने विश्वविद्यालय तयार हुनुपर्दछ भने विद्यार्थीहरूले पनि संवेदनशीलताका साथ आफ्ना माग राख्ने र पूरा गराउनेतर्फ ध्यान दिनुजरुरी छ ।

प्रकाशित मितिः   ८ श्रावण २०७८, शुक्रबार ०५:००