असुरक्षित समाज
समाजमा दैनिकजसो कुनै न कुनै अपराधजन्य घटनाहरू भइरहेका छन् । यस्तै अपराधजन्य घटनाहरूमध्ये एक हो, बलात्कार र यौनहिंसा । विशेष गरेर महिला तथा बालिकाहरूमाथि यौन हिंसा, जबरजस्तीकरणी हुने गरेका छन् । बालिका तथा किशोरीहरू परिवार, भरोसा गरेका आफन्त र चिनेजानेका व्यक्तिबाटै असुरक्षित बनेका घटना दैनिकजसो सार्वजनिक भइरहेका छन् । यौन दुव्र्यवहार, मानव बेचबिखन तथा ओसार–पसार लगायतका हिंसामा बालिका र किशोरीहरू पर्ने गरेका हुन् ।
अधिकांश बालिकाहरूमाथि आफन्तबाटै जघन्य अपराधका घटना भइरहेका छन् । न्यायका लागि संघसंस्था, प्रहरी र अदालतसम्म आउनेहरूको संख्या हेर्दा पनि समाजमा बलात्कार र अन्य यौनजन्य हिंसा पीडितहरूको संख्या ठूलो रहेको प्रष्ट हुन्छ । यसले समग्रमा महिलामाथि भइरहेका हिंसाको अवस्था देखाउँछ । पछिल्लो समय जघन्य अपराधको सिकार हुने महिला र बालिकाहरूको संख्या झन् बढ्दो छ । गएको आर्थिक वर्ष २०७७÷०७८ मा सुर्खेतमा मात्र यौन हिंसाका ६८ वटा घटना प्रहरीकोमा दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयमा गएको वर्ष जबरजस्ती करणीका ४७ र जबरजस्ती उद्योगमा २१ वटा उजुरी परेका हुन् । अघिल्ला वर्षहरूमा यही संख्या हाराहारीमा महिलाहरू बलात्कार र यौन दुव्र्यवहारमा पर्ने गरेका थिए । प्रहरीका अनुसार बलात्कार तथा अन्य खालका यौनजन्य हिंसामा पर्ने किशोरीहरूको संख्या अन्य उमेर समूहभन्दा बढी छ ।
समाजमा बलात्कारका घटना डरलाग्दो रूपमा देखिएका छन् । यस्ता बहुसंख्यक घटनामा पीडित पक्ष अर्थात् महिलालाई नै दोष दिइन्छ । समाजको यही डरले उनीहरू खुलेर आफूमाथि भइरहेको अपराध लुकाएर बस्न बाध्य छन् । कानुनी उपचार पनि सहज नभएकाले कतिपय घटना प्रहरी र अदालतसम्म पनि आइपुग्दैनन् । आफन्तबाटै बलात्कारजस्ता आपराधिक घटना हुने र त्यसपछि घटना लुकाउन पीडितलाई नै हत्या गर्ने गरेकोसम्म पाइन्छ । यस्ता घटनामा पीडित भएकालाई परिवार र समाजको पनि असहयोग रहदै आएको छ । हिंसाजन्य घटना नियन्त्रण हुन सकेको छैन । यस्ता घटनाले समाजलाई असुरक्षित बनाउँछ । महिला तथा बालिकाहरूले आफ्नै समाज सुरक्षित महसुस गर्न नसक्ने परिस्थितिको निर्माण हुँदैछ ।
महिलामाथि हुने हिंसाका प्रकृतिहरू फेरिँदै गएका छन् तर हिंसाको श्रृंखलामा भने कमी आउन सकेको छैन । हिंसाको रूप झन्झन् विकराल बन्दै गइरहेको छ । घरेलु हिंसाको चरम यातना खेप्दै आएका महिलाहरू पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्न थालेका छन् । दिन दहाडै बलात्कारको सिकार हुनु परिरहेको छ, त्यो पनि आफ्नै अभिभावक र साथीभाइबाट । अपराधजन्य घटना बढिरहेका छन् तर अपराधमा संलग्नहरू कारबाहीको भागिदार भएका घटना न्यून छन् । श्रृंखलाबद्ध भइरहेका यस्ता घटनामा संलग्न अपराधीसम्म भने अनुसन्धान पुग्न सकेको छैन । वर्षौंसम्म अपराधीलाई कानुनी दायरामा नल्याइँदा यस्ता घटनामा झनै बढोत्तरी हुने गरेको छ । उसो त बलात्कारका घटना बढ्दै जानु कमजोर कानुन र फितलो अनुसन्धान मात्र पनि होइन । नैतिक शिक्षाको कमी र सामाजिक संरक्षणजस्ता कारणले पनि घटना बढ्ने गरेका हुन् ।
प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०५:००
साझा बिसौनी ।