खेलाडीको नेतृत्वमा सरसफाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ फागुन । 
तेक्वान्दो खेलाडीहरूको नेतृत्वमा शनिवार वीरेन्द्रनगरमा सरसफाइ गरिएको छ । ‘वीरेन्द्रनगर हाम्रो, स्वच्छ सफा राम्रो’ भन्ने मूलनाराका साथ हरेक शनिवार नगर सरसफाइ अभियान अन्तर्गत शनिवार नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सुर्खेतले सरसफाइको नेतृत्व गरेको थियो ।
करिब दुई सय जना तेक्वान्दो खेलाडीको सहभागितामा मंगलगढीबाट सुरु भएको सरसफाइ अभियान मुख्य बजारबाट वीरेन्द्रचौक, गणेशचौक, पिपलचौतारी हुँदै पुनः वीरेन्द्रचौकमा पुगी समापन भएको हो । 
समापनका अवसरमा संघका अध्यक्ष एवम् प्रशिक्षक भुवन थापाले खेलाडीहरू आफ्नो शारीरिक स्वस्थताका साथै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुपर्ने बताए । हरेक शनिवार हुने सरसफाइ अभियानको संयोजन सुर्खेत उद्योग वाणिज्य संघले गर्दै आएको छ ।
प्रकाशित मितिः   ३० फाल्गुन २०७२, आईतवार ११:३४