कांग्रेस महाधिवेशन : महिला प्रतिनिधित्व मात्र कि नेतृत्व पनि ?
नेपाली कांग्रेस १४औैं महाधिवेशनको संघारमा छ । पार्टीको आन्तरिक निर्वाचन नजिकिँदै गर्दा नेतृत्वका आंकाक्षीहरूको दौडधुप सुरू भएको छ । कांग्रेसीजनलाई वडा तहदेखि केन्द्रसम्म चुनावी सरगर्मीले छोएको छ । सबै तहमा नेतृत्वका लागि उम्मेदवारहरूको चर्चा हुन थालेको हो । कतिपयले नेतृत्वको दाबी गर्दै इच्छाएको पदमा उम्मेदवारी दिने घोषणा नै गरिसकेका छन् ।
हरेक तहका कार्यसमितिको मुल नेतृत्वदेखि पदाधिकारीसम्म जसको चर्चा चलेको छ, उनीहरू सबैजसो पुरुष छन् । वडा समितिदेखि केन्द्रसम्म यही अवस्था देखिन्छ । नेतृत्वमा जाने महिलाहरूको आकांक्षा नभएको होइन, तर चर्चा भने पुरुषहरुको बढी हुने गरेको छ । कुनै पदमा खुुलेर दाबी गर्ने महिलाहरूको संख्या निकै न्यून हुने गरेको छ । न त उनीहरूको कतै चर्चा नै सुनिन्छ । आम निर्वाचन वा पार्टीका आन्तरिक नेतृत्वको अधिवेशन टिकट हत्याउन जहाँ पनि पुरुषकै बोलवाला चल्छ । महिला आरक्षित र समानुपातिक सिटमा मात्र सीमित छन् । प्रत्यक्ष कोटामा महिलाहरूले प्रतिस्पर्धा गर्ने अवसर पाएका छैनन् । मुल नेतृत्वका लागि उनीहरूका नाम सिफारिसमा नपर्ने गरेका हुन् ।
कांग्रेस सात दशक पुरानो पार्टी हो । आफूलाई प्रजातन्त्र र लोकतन्त्रको हिमायती दाबी गर्ने उसले पनि पार्टी कार्यसमितिमा समावेशिताको मर्मअनुसार महिलाको प्रतिनिधित्व गराउन सकेको छैन । महिलालाई नेतृत्वका लागि अविश्वास गरिँदै आएको हो । हाल यो पार्टीको केन्द्रीय कार्यसमितिमा २० प्रतिशत महिलाको प्रतिनिधित्व देखिन्छ भने जिल्ला तहमा २४ प्रतिशतसम्म महिला सहभागिता छ । यो संख्या पनि बाध्यात्मक परिस्थितिका कारण नेतृत्व तहमा पुगेको हो ।
राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर संविधानको मूल मर्मअनुरूप राजनीतिक दलहरू चलेका छैनन् । कांग्रेस पनि त्यसमा चुकेको छ । संविधानमा लैङ्गिक विभेदको अन्त्य गर्दै राज्यका सबै निकायमा महिलाको समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने व्यवस्था भए पनि व्यवहारतः लागू हुन सकेको छैन । विशेष गरी राजनीतिक दलहरू त्यसको कार्यान्वयनमा उदासिन देखिन्छन् ।
सुर्खेत कांग्रेसमा पनि यतिबेला वडादेखि जिल्ला तहको नेतृत्वको चर्चा चलिरहेको छ । जिल्ला अधिवेशन यही साउन २६ गते तोकिएको छ । अधिवेशन नजिकिँदै गर्दा जिल्ला नेतृत्वका लागि महिला नेतृहरूको नाम भने सुनिदैन । अहिलेको जिल्ला कार्यसमितिमा पाँच जना महिलाहरू छन् । त्यसमध्ये एक जना मात्र पदाधिकारी (सह–सचिव) छन् । चार जना सदस्य हुन् । संविधानमा बाध्यात्मक परिस्थिति भएकाले दलहरूले महिलालाई सदस्यमा राखेको पाइन्छ । हरेक कमिटीमा एकतिहाई महिला राख्ने गरिए पनि पदाधिकारीमा महिला सहभागितालाई बाध्यात्मक बनाइएको छैन । पदाधिकारीमा आरक्षणको व्यवस्था नगरिएको हो । त्यसैले पनि नेतृत्व तहमा महिलाको उपस्थिति कम हुँदै आएकोे छ ।
सुर्खेतको सभापतिमा पुरुष आकांक्षीको नाम मात्र चर्चामा छन् । हालका सभापति कमलराज रेग्मी, यज्ञबहादुर बुढाक्षेत्री, उपेन्द्र थापा र टोेपबहादुर रावत जिल्लाको आगामी नेतृत्वका लागि दौडमा छन् । जिल्ला सभापति मात्र होइन गाउँ÷नगर र क्षेत्रीय कमिटीमा समेत महिला नेतृत्वको चर्चा छैन । यसले गर्दा महिलाहरूले यसपटक पनि सदस्य र केही मनोनित पदमा नै चित्त बुझाउनुपर्ने देखिन्छ ।
यद्यपि, कांग्रेस सुर्खेतका नेतृहरू भने पार्टीमा आरक्षण मात्र नभएर कार्यकारी पदमै पुग्नेगरी तयारी गरिरहेको दाबी गर्छन् । कांग्रेस सुर्खेतकी नेतृ पार्वती गिरी पार्टीको विधानले नै हरेक कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सूनिश्चित गरेकाले सोहीअनुसार जिम्मेवारी लिइने बताउँछिन् । नेतृत्व तहमा महिलालाई लिन नेताहरूले पनि भूमिका खेल्नुपर्ने उनले बताइन् । ‘महिला सहभागिताका लागि विधानले पनि जोड गरेको विषय हो,’ उनले भनिन्, ‘तर महिलालाई सदस्यमा मात्रै सीमित राख्ने जस्तो देखिएको छ ।’ गिरीले यसपटक जिल्ला उपसभापतिमा उम्मेदवारी दिने सोच बनाएकी छन् । त्यसका लागि नेताहरूसँग छलफल भइरहेको उनले जनाइन् । हाल उनी महिला संघ सुर्खेतको अध्यक्षका साथै कांग्रेस महाधिवेशन समिति सदस्य छन् ।
कांग्रेस सुर्खेतमा चाँदनी ढकाल, चन्द्रा खड्का, जानकी सिंह, शोभा शर्मालगायतका नेतृहरू पनि छन् । अहिले नै सभापतिको दाबी नगरे पनि पदाधिकारीमा बलियो उपस्थिति बनाउने गरी आफूहरू छलफलमा रहेको उनीहरू बताउँछन् । जिल्लामा क्रियाशील नेतृहरूले आउँदो अधिवेशनमा यहीँ पदका लागि भनेर दाबी गर्न सकेका छैनन् । कतिपय महिलाहरू नेतृत्वमा जाने इच्छा भए पनि सार्वजनिक रूपमा व्यक्त गर्न सकिरहेका छैनन् । सुर्खेतमा कांग्रेसका करिब १२ हजार क्रियाशील सदस्यमध्ये १५ देखि २० प्रतिशत हाराहारीमा महिलाहरू छन् ।
आसन्न अधिवेशनमा गाउँपालिका तथा नगरपालिकामा कांग्रेसबाट विजयी उपप्रमुखहरूले स्थानीय तहका कमिटीको नेतृत्वमा जाने इच्छा देखाएका छन् । तर खुलेर आकांक्षा व्यक्त गर्न सकिरहेका छैनन् । यसबारे महिला नेतृ र तल्लो तहका नेताहरूबीच छलफल भए पनि पार्टीको मुख्य नेतृत्वसँग आकांक्षा राखिएको छैन । कांग्रेस नेतृ शान्ति सिंहले अहिले पदाधिकारीमा महिलाहरूको सहभागिता कसरी बढाउन सकिन्छ भनेर छलफल थालिएको बताइन् । उनी भन्छिन्, ‘हरेक कार्यसमितिका पदाधिकारी तहमा महिलाहरूले उम्मेदवारी दिने गरी तयारी भइरहेको छ ।’ सिंह अहिले महिला संघको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि हुन् । नेतृत्वमा आउन महिलाहरू अग्रसर देखिए पनि सोही अनुकूलको वातावरण बनाउन भने निकै चुनौती छ । आफूहरूलाई पार्टीमा जिम्मेवारी दिन नेताहरूले आनाकानी गर्ने गरेको गुनासो नेतृहरूको छ । अबको अधिवेशनमा महिलाले प्रतिनिधित्व मात्रै नभइ नेतृत्वको पनि दाबी गर्नुपर्ने उनीहरू बताउँछन् ।
जिल्ला सभापति कलमराज रेग्मी यो महाधिवेशनबाट पार्टीमा महिला सहभागितामा निकै सुधार हुने बताउँछन् । ‘विधानले नै ३३ प्रतिशत महिला सहभागिता पुु¥याउने बाध्यतात्मक व्यवस्था गरेको छ,’ उनले भने, ‘अब पहिलेको जस्तो अवस्था रहँदैन । महिलाहरूले सबै तहका कार्यसमितिमा उचित जिम्मेवारी पाउनुहुन्छ ।’
राष्ट्रिय महाधिवेशन हुनुअघि वडा, गाउँ तथा नगर, क्षेत्र, जिल्ला र प्रदेशस्तरमा अधिवेशन हुँदै छ । यी सबै तहको देशैभर एकै पटक अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ । सबैभन्दा पहिले वडाको नेतृत्व चयन गर्न निर्वाचन हुने भएको छ । साउन १२ गते वडास्तरमा नेतृत्वका लागि निर्वाचन हुनेछ । गाउँ तथा नगर अधिवेशन १६ गते, प्रदेश क्षेत्रीय अधिवेशन २० गते, प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन २३ गते र जिल्लाको अधिवेशन साउन २६ गते हुनेछ । प्रदेशको अधिवेशन भदौ १ र २ गते गर्ने कार्यतालिका छ । कांग्रेसले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन तोकेको छ । त्यसअघि वडादेखि प्रदेशसम्मका कमिटीको अधिवेशन सम्पन्न गरिसक्नु पर्छ ।
प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार ११:४४
साझा बिसौनी ।