लैङ्गिक अल्पसंख्यकप्रति अनुदार समाज

अञ्जली बिसी सल्यानकी हुन् । उनी छोराको रूपमा जन्मिइन् । तर, हुर्कंदै र बढ्दै गर्दा छोरीको अनुभूति गर्न थालिन् । छोरीले जस्तै सारी र चोलो लगाएर हिँड्न मन लाग्थ्यो । केटी साथीसँगै संगत गर्न रुचाउँथिन् । घरायसी काममा बढी चासो रहन्थ्यो । उनलाई पुरुषसँगै बिहे गर्ने रहर थियो । परिवारबाट उनलाई यी सबै गर्न छुट भने थिएन । अञ्जलीको रहरमा परिवारले रोक लगाउँथ्यो । किन कि उनी त पुरुष भएर जन्मेकी थिइन् ।

आफ्नो समुदायको पहिचानलाई अझै पनि घरपरिवार, समाज र नीति निर्माण तहमा सहजै नस्वीकारिँदा राज्यका सेवा सुविधा र संविधानले दिएको मौलिक अधिकारबाट वञ्चित हुनुपरेको उनीहरू बताउँछन् ।

जब उनले यस्ता गतिविधि गर्न थालिन् समाजले मानसिक रोगीको संज्ञा दिन थाल्यो । परिवार र समाजले अपहेलित ग¥योे । अञ्जलीले चाहेर पनि बाल्यअवस्थामा आफ्नो रहर पूरा गर्न सकिनन् । मानसिक रूपमा अञ्जली जे सोच्थिन् र अनुभूति गर्थिन्, त्यो परिवार र समाजले गर्न सकेन । अञ्जली यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्र पर्थिन् । त्यो कुरा समाजले सहजै बुझ्थेन । समाजले ठान्थ्यो, पुरुष र महिलाबाहेक अरू लिङ्ग नै हुँदैन । महिला र पुरुषबाहेकका यौनिक तथा लैंगिक विशिष्टता स्वभाविक र प्राकृतिक हुन् भन्नेमा समाजको ठूलो हिंसा अहिले पनि स्वीकार्दैन ।

उसो त उतिबेला अञ्जलीलाई पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकबारे थाहा थिएन । उनको नाम बाल्यकालमा आमाबुवाले राखिदिएको छोराकै थियो । जुन नाम उनलाई पटक्कै मन पर्थेन । आफ्नो यौनिकताबारे परिवार र समाजलाई खुलेर भन्न नसकेपछि उनले जिल्ला नै छोडेर हिँड्नु प¥यो । अहिले उनी सुर्खेतमा बसेर आफूजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार पैरवी गरिरहेकी छन् ।

सोमवार कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले यौनिक तथा लैङ्गिक समुदायका सवालमा आयोजना गरेको अन्तरक्रियामा अञ्जलीले आफ्नो यौनिकताबारे खुलेरै बोलिन् । ‘हामीहरू बाटोमा शिर ठाँडो पारेर हिँड्न सक्ने अवस्था छैन । कोही चाहेर यौनिक अल्पसंख्यक भएको होइन,’ उनले भनिन्, ‘हामीले पनि अरू नागरिक सरह सम्मानपूर्वक बाँच्न पाउनु पर्छ ।’ प्राकृतिक रूपमा नै आफूहरू यौनिक अल्पसंख्यक भएर जन्मिएको भन्दै अञ्जलीले भोली जसका सन्तान पनि यो समुदायभित्र पर्न सक्ने बताइन् । राज्यले महिला र पुरुषका लागि कानुन निर्माण गरेर संरक्षण गरेपनि आफूहरूलाई बेवास्ता गर्दै आएको उनको गुनासो छ । राज्यका सेवा सुविधा र संविधानले दिएको मौलिक अधिकारबाट आफूहरू वञ्चित हुनुपरेको उनी बताउँछिन् ।

अञ्जलीका अनुसार कर्णाली प्रदेशभर यौनिक अल्पसंख्यको संख्या ठूलो भए पनि अहिले सात जनाले मात्र खुलेर आफ्नो पहिचान दिएका छन् । समाजको डरले यौनिकता लुकाउनेहको संख्या धेरै रहेको उनले बताइन् । कर्णाली प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि कानुन निर्माण गर्नुपर्ने उनले बताइन् । राज्यले यो समुदायको संरक्षणका लागि उचित कानुन बनाउन नसक्दा यौनिक अल्पसंख्यकहरू नखुलेको उनको भनाइ छ ।

मितिनी नेपालकी सरिता केसीले आफूहरू कुनै पापको फल नभइ प्राकृतिक प्रक्रियाबाटै जन्मिएकोले राज्यले महिला र पुरुष सरह बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताइन् । उनले यौनिक अल्पसंख्यकहरू थुप्रै भए पनि समाजको चिन्तनका कारण खुल्न नसकिरहेको जनाइन् ।

त्यस्तै, मितीनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले समलिङ्गी विवाह समाजले स्वीकृति नदिने गरेको बताउँदै यस्ता जोडिहरूले नागरिकता र विवाह दर्ताको प्रमाण–पत्र नपाउने गरेको सुनाइन् । ‘विवाह भनेको पुरुष र महिलाबीच मात्रै हुन्छ र नागरिकता तथा जागिर उनीहरूलाई मात्र चाहिन्छ भन्ने सोच राज्यको छ,’ लक्ष्मीले भनिन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि समेत आवश्यक कानुन निर्माण गरी महिला र पुरुष सरह समाजमा बस्ने वातावरण बनाउनु जरुरी रहेको उनले औंल्याइन् ।

यो समुदायको पहिचानलाई अझै पनि घरपरिवार, समाज र नीति निर्माण तहमा सहजै स्वीकारेको पाइँदैन । सामाजिक विकास समितकी अध्यक्ष देवि ओलीले पहिलो चरणमा यौनिक अल्पसंख्यकहरूलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । त्यसका लागि राज्यले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले कानुन निर्माण गरी संरक्षण गर्ने सवालमा समितिले आवश्यक पहलकदमी चाल्ने जनाइन् ।

प्रकाशित मितिः   ५ श्रावण २०७८, मंगलवार ११:३५