तेस्रो लहरविरुद्ध पूर्वतयारी

कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण हुन सकेको छैन । अहिले पनि दैनिक संक्रमितको संख्या थपिएको छ । संख्यामा भने थपघट भइरहेको छ । कहिले बढी त कहिले कम । असार पहिलो सातातिर एक हजार बढी सक्रिय संक्रमित रहेको सुर्खेतमा अहिले पाँच सयभन्दा कम संख्या रहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । पछिल्लो समय सुर्खेतमा संक्रमणदर ३० देखि ४० प्रतिशतको हाराहारीमा छ । अघिल्ला महिनाहरूको तुलनामा कोरोना संक्रमणको दरमा कमी आएको छ । तर जोखिम भने कायमै रहेको छ । जसका कारण स्थानीय प्रशासनले खुकुलो बनाएको भए पनि निषेधाज्ञालाई पूर्ण रूपमा हटाएको छैन ।

त्यसो त पछिल्लो समय परीक्षण नै न्यून छ । कम संख्यामा मात्र परीक्षण भइरहेको छ । जसका कारण पनि संक्रमितको संख्या कम देखिएको छ । कर्णाली प्रदेशमै कोराना परीक्षण गर्नेको संख्या घटेको छ । केही दिनयता प्रदेशमा दैनिक दुई सयको हाराहारीमा मात्र कोरोना परीक्षण हुने गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय प्रदेशको संक्रमणदर २५ प्रतिशत रहेको छ । अहिले स्थानीय तहसँगै स्वास्थ्य कार्यालयहरूले एन्टिजेनमार्फत परीक्षण र आरटी–पीसीआरका लागि स्वाब संकलन गरिरहेका छन् । अधिकांश लक्षण देखिएकाहरूको मात्र परीक्षण हुने गरको छ । सुर्खेतमा सबैभन्दा बढी वीरेन्द्रनगर संक्रमणको जोखिममा छ । वीरेन्द्रनगर नगरपालिकाका अनुसार यहाँ परीक्षण गरिएकामध्ये ५० प्रतिशतसम्ममा संक्रमण देखिने गरेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा मानिसहरूको चापसमेत बढी छ । प्रदेशकै ठूलो बजारसमेत यही भएकाले सोहीअनुसार चहलपहल छ । यसकारण पनि वीरेन्द्रनगरमा संक्रमणदर बढी भएको छ । त्यस्तै, दैलेखमा अहिले कोरोना संक्रमणदर ५० प्रतिशत छ । दैलेख कर्णालीमा कोरोनाको पहिलो संक्रमित पुष्टि भएको जिल्ला हो । यहाँ केही महिना पहिलेसम्म संक्रमण अत्यधिक थियो ।

संक्रमण दर घटेसँगै कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । कर्णालीका सबै जिल्लामा संक्रमणको ‘चेक ब्रेक’ गर्न स्थानीय प्रशासनहरू निषेधाज्ञा लगाएका थिए । तर निषेधाज्ञा खुकुलो पारिएसँगै बढेको चहलपहलले फेरि संक्रमणको जोखिम बढाएको छ । सार्वजनिक स्थानहरूमा भिडभाड बढेकाले संक्रमण बढ्न सक्ने देखिएको जनस्वास्थ्यकर्मीहरू बताउँछन् ।

उच्च विन्दुमा पुगेको संक्रमण दर असारयता भने स्थिर छ । सँगसँगै जोखिम के छ भने निषेधाज्ञा खुकुलो पारिएपछि स्वास्थ्य सुरक्षाका मापदण्डसमेत पालना गरेको पाइँदैन । जसले गर्दा संक्रमण अपेक्षाकृत रूपमा घट्न सकेको छैन । अर्कोतर्फ अब कोरोना संक्रमणको तेस्रो लहर आउने सम्भावनातर्फ पनि विशेषज्ञहरूले सचेत बनाएका छन् । त्यसकारण अहिलेदेखि नै आवश्यक सावधानी र सतर्कता अपनाउन जरुरी छ । सम्भावित जोखिमबाट जोगिनका लागि तेस्रो लहरको पूर्वतयारीका काम अहिलेदेखि नै गर्नुपर्ने हुन्छ । समयमै कार्ययोजना बनाएर प्रदेशभर कोरोना प्रतिकार्यका गतिविधि सञ्चालन हुन सकेको खण्डमा मात्र अवस्था भयावह हुनबाट बचाउन सकिन्छ ।

प्रकाशित मितिः   ५ श्रावण २०७८, मंगलवार ११:३३