एमाले–माओवादीको समान प्रस्ताव : प्रदेश ६ को नाम ‘कर्णाली’, राजधानी ‘सुर्खेत’

raj

देशमा प्रादेशिक सीमाङ्कनको असन्तुष्टी सडकमा आइरहेको बेला प्रदेश नम्बर ६ को भने नाम र राजधानी प्रस्ताव गरिएको छ । जनताको आन्दोलनको बलमा स्थापित यो प्रदेशको नाम र राजधानीबारे करिब सबै दलको एउटै धारणा बन्दै गएको छ । प्रमुख दलहरूबाटै प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत बनाउने प्रस्ताव आएको छ । यसले पनि अब प्रदेश ६ को नाम र राजधानीको विषयमा कुनै विवाद नहुने देखिन्छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर ६ को नाम र राजधानी प्रस्ताव गरेको छ । एमालेले प्रदेश ६ को नाम कर्णाली र राजधानी सुर्खेत प्रस्ताव गरेको छ । दुई दिनसम्म सञ्चालन भएर वीरेन्द्रनगरमा सम्पन्न भएको प्रादेशिक भेलाबाट एमालेले यो प्रस्ताव पारित गरेको हो । प्रदेश नम्बर ६ जनताको आन्दोलनबाट स्थापित भएको भन्दै एमालेले यसको नाम कर्णाली प्रदेश राख्ने प्रस्ताव गरेको छ । यस्तै भौगोलिक अवस्था र पूर्वाधारको उपलब्धताको आधारमा प्रदेशको राजधानी सुर्खेत बनाउने एमालेले निर्णय गरेको छ । नाम कर्णाली राख्दा समग्र कर्णालीको प्रतिनिधित्व हुने र राजधानी सुर्खेत बनाउँदा जनतालाई सेवा प्रवाहमा सहज हुने ठहर एमालेको छ ।

यही प्रस्तावलाई पार्टीले अगाडि बढाउने र संविधानअनुसार प्रस्ताव कार्यान्वयन गराउन भूमिका खेल्ने निर्णयसमेत एमालेले गरेको छ । यो प्रस्तावले यो प्रदेशका जनताको भावनाको कदर हुने र सर्वसम्मत् हुने एमाले उपाध्यक्षसमेत रहेका प्रदेश कमिटी संयोजक युवराज ज्ञवालीले दावी गरे ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत बनाउने निर्णय गरेको थियो । अघिल्लो वर्ष वीरेन्द्रनगरमा सम्पन्न माओवादीको प्रादेशिक कमिटीको भेलाले यो प्रस्ताव सार्वजनिक गरेको थियो ।

यो प्रदेशको नाम र राजधानीको विषयमा प्रमुख दलको धारणा समान बन्दै गएको छ । नेपाली कांग्रेसले औपचारिक निर्णय नगरे पनि उसले पनि यही प्रस्तावमा सहमति जनाउने देखिन्छ । यो प्रदेशका कांग्रेस नेताहरू पनि नाम कर्णाली राख्दा कर्णालीको समर्थन जुट्ने र राजधानी सुर्खेतमा नै उपयुक्त हुने बताउँछन् । शीर्ष तीन दल मात्र होइन अन्य दलहरु पनि प्रदेशको नाम कर्णाली राख्ने र सुर्खेतलाई राजधानी बनाउन सकारात्मक देखिन्छन् ।

प्रकाशित मितिः   २० मंसिर २०७३, सोमबार १३:३७