‘योगदानको मूल्याङ्कन भएन’

िs

राज्यको उपस्थिति न्यून हुने ग्रामीण क्षेत्रका प्रत्येक घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनमा महिला स्वयम्सेविकाहरूले महत्वपूर्ण योगदान रहँदै आएको छ । तर आफूहरूले गरेको काम र योगदानको मूल्याङ्कन नभएको गुनासो उनीहरूले गरेका छन् । सरकारले कुनै निश्चित तलब सुविधा नदिए पनि निरन्तर जिम्मेवारी निभाउँदै आएका स्वयम्सेविकाहरू आफूहरू हेपिएको बताउँछन् ।

सरकारले स्वास्थ्य स्वयम्सेविकाहरूका सामान्य माग पनि पूरा नगरिदिएको बताएका छन् । वीरेन्द्रनगरकी महिला स्वास्थ्य स्वयम्सेविका चन्द्राकुमारी धामीले स्वास्थ्य स्वयम्सेविकालाई हेपिएको दुखेसो पोखिन् । ‘गाउँमा हुने सम्पूर्ण निःशुल्क स्वास्थ्य सम्बन्धी सेवा तथा परामर्श सेवामा हामी खटिरहेका हुन्छौं, तर हामी आफैं अपहेलनामा परेका छौं ।’ स्वयम्सेविकाहरूलाई निःशुल्क उपचारको माग पूरा नभएको धामी बताउँछिन् । धामी भन्छिन्, ‘हामी दिन भर भोकै काम गरेर भोकै घर जान्छौं, मासिक रूपमा खाजा खर्च समेत छैन हामीलाई, उल्टो निःशुल्क काम गरेको भन्दै अपहेलना सहनुपर्छ ।’ स्वास्थ्य स्वयम्सेविकालाई समाजले हेर्ने दृष्टिकोणमा समेत फरक रहेको उनले बताइन् । उनले थपिन्, ‘समाजमा आफूले जानेको कुरा सिकाउन जाँदा सरकारको तलब र भत्ता खाएर समय बिताउन आएकी हो भन्छन् तर, सरकारले हामीलाई सेवा सुविधा भने केही दिएको छैन ।’

वीरेन्द्रनगर–१० की स्वास्थ्य स्वयम्सेविका दुर्गा धमलाले घरको काम सबै छाडेर समाजको सेवामा दिनरात लागे पनि आफूहरूमाथि अपहेलना भएको अनुभव सुनाइन् । स्वास्थ्य संस्थाले दिएको काम बाहेक स्वास्थ्य सम्बन्धी सम्पूर्ण परामर्श दिने गरेको उनले बताइन् । ‘गर्भवती महिलाको जाँच, बच्चालाई खोप लगाउनेदेखि सबै कुराको परामर्श दिन्छौं, तर तालिम भत्ता बाहेक सरकारले केही सेवा सुविधा दिएको छैन ।’ कुनै पनि निकाय तथा सरकारले स्वास्थ्य स्वयम्सेविकाहरूका लागि छुट्टै बजेट नछुट्याएको उनले गुनासो पोखिन् ।

आठ वर्षदेखि महिला स्वयम्सेविकाहरूले आफ्ना केही सेवासुविधा सम्बन्धी माग राख्दै आए पनि पूरा नगरेको उनीहरूको गुनासो छ । स्वास्थ्यस्वयम्सेवी यशोदा अधिकारीले महिला स्वास्थ्य स्वयम्सेविकाले राखेको माग सरकारले पूरा नगरेको बताइन् । उनले महिला स्वास्थ्य स्वयम्सेविकाले नौ बुँदे माग राख्दै आए पनि अहिलेसम्म पूरा नभएको बताइन् । उनले भनिन्, ‘हामीले पटक–पटक हाम्रा माग राखेका छौं, तर सरकारले हाम्रा माग पूरा भने गरेको छैन, हामीले यी माग यसअघि पनि राख्दै आएका थियौं, सुनुवाइ भएको छैन ।’

सरकारले अहिले वार्षिक रूपमा सात हजार पाँचसय पोशाक भत्ता, तालिम भत्ता चारसय रूपैयाँ उनीहरूलाई दिँदै आएको छ । स्वास्थ्य स्वयम्सेविकाहरूले ६० वर्षको उमेरसम्म स्वयम्सेवी भएर काम गरेका महिलाले अवकाश लिँदा ५० हजार देखि १ लाख बिदाइ शुल्क दिने व्यवस्था हुनुपर्ने, परिचयपत्रबाटै निःशुल्क उपचार पाउनुपर्ने, वार्षिक भत्ता, स्वास्थ्य बीमा, चाडपर्व खर्च लगायतका माग राख्दै आएका छन् ।

महिला स्वास्थ्य स्वयम्सेविकाले पोलियो थोपा, मातृ सुरक्षा चक्की, गर्भवती महिलालाई परामर्श, भिटामिन ए क्याप्सुल, जुकाको औषधि, आइरन चक्की, परिवार नियोजनका साधन वितरण लगायतका काम गर्दै आएका छन् । नेपालमा मातृमृत्यु र शिशुमृत्यु दर घटाउन महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिका महत्वपूर्ण रहेको पाइन्छ ।

प्रकाशित मितिः   २१ मंसिर २०७३, मंगलवार १०:५६