यू–१९ राष्ट्रिय क्रिकेट टोलीमा सुर्खेतका रविन्द्रजङ्ग शाही छनौट

अर्को हप्ताबाट श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि छनौट गरिएको नेपाली यू–१९ राष्ट्रिय टोलीमा सुर्खेतका रविन्द्रजङ्ग शाही पनि परेका छन् ।  सन्दिप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । जसमा सुर्खेतका क्रिकेट खेलाडी रविन्द्र पनि छनौट हुन सफल भएका छन् ।

रविन्द्र सुर्खेतको स्थानीय एबीसी युवा क्लबबाट क्रिकेट खेल्दै आएका छन् । गत कार्तिकमा सुर्खेतमा आयोजित क्रिकेट प्रतियोगितामा रविन्द्रकै कप्तानीमा रहेको एबीसीले जिल्लाकै सबैभन्दा ठुलो पुरस्कार राशी भएको प्रतियोगिताको उपाधि हात पारेको थियो । उक्त प्रतियोगितामा उनी उत्कृष्ट व्याट्सम्यान समेत घोषित भएका थिए । व्याटिङ मात्र होइन उनी बलिङमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने खेलाडी हुन् ।

क्यानले पाँचै क्षेत्रमा ट्यालेन्ट हन्ट गरेको थियो, जसबाट अन्तिम ५२ जनालाई बन्द प्रशिक्षणमा बोलाएको थियो । टिममा यसअघि नै यु–१९ बाट खेलिसकेका अविनाश कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनारले स्थान बनाएका छन् । यस्तै टिममा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा छन् ।

यु–१९ टिमको अन्तिम छनोट आइसीसी एसियाका क्रिकेट विकास अधिकृत बैंकटपति राजु, नेपाली सिनियर टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का मुख्य प्रशिक्षक विनोद दासले गरेका हुन् । एसिया कप डिसेम्बर १३ देखि श्रीलंकामा हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले नेपालले आफ्नो पहिलो खेल १५ डिसेम्बरमा श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै १६ डिसेम्बरमा भारत र १८ डिसेम्बरमा मलेसियाविरुद्ध खेल्नेछ । समूहको शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछ । पहिलो सेमिफाइनल २० डिसेम्बरमा हुनेछ भने फाइनल २३ डिसेम्बरमा हुनेछ । नेपालको समूहमा भारतसँगै श्रीलंका र मलेसिया पनि छन् । यतै समूह ‘बी’मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् ।

प्रकाशित मितिः   २० मंसिर २०७३, सोमबार १२:३२