नेपालकी ननिताले जितिन अन्तर्राष्ट्रिय बडी-बिल्डरमा कास्य पदक

nanitaनेपाली महिला बडी-बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी-बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक जितेकी छन्। ३१ वर्षीय ननिता महिला ‘एथलेटिक फिजिक’ को १ सय ६५ सेन्टीमिटर उचाइमा सहभागी थिइन्।

उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन्। आफ्ना परिवारसहित थाइल्यान्डको पटायास्थित अम्बास्डर सिटी होटलको कन्भेन्सनल हलमा आयोजना भइरहेको यो प्रतियोगिता खेल्न यसै साता नेपालबाट गएकी ननिताले आफ्नो सफलता प्रति खुसी व्यक्त गरिन्। उनले आफ्नो सफलता घर परिवारको सहयोग र प्रशिक्षकको मेहनतले सम्भव भएको बताइन्।

उनले भनिन्– ‘यो सफलताको खुसियाली म देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्छु।’

सात वर्षको छोराकी आमासमेत रहेकी ननिताले दुई महिनाअघि काठमाडौंमा अयोजना भएको महिला बडी(बिल्डिङको उपाधि जितेकी थिइन्। यो प्रतियोगिताका लागि उनले कडा मेहनत गरेकी थिइन्।

ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का गरेकी हुन्। पाँच महिला बडी-बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन्। रजत पदक भने उज्वेक बडिबिल्डर नुरायेभा येलेनाले जितिन्। सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे।

प्रकाशित मितिः   २० मंसिर २०७३, सोमबार १२:०५