चार प्रतिशतले पाए खोप
सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप चार प्रतिशतले लगाएका छन् । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म जिल्लाको कूल जनसंख्यामध्ये चार प्रतिशतले दुवै डोजको खोप पाएका हुन् । कार्यालय प्रमुख चेतननिधि वाग्लेले अहिलेसम्म १४ हजार दुई सय ७९ जनाले पहिलो र दोस्रो दुवै डोज लगाएको बताए । यहाँ कोभिशिल्ड र भेरोसेल खोप लगाइएको हो ।
भेरोसेल खोपको दोस्रो डोज लगाएर भर्खर सकिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । भेरोसेलको पहिलो डोज ६ हजार एक सय ५३ जनाले लगाएकोमा दोस्रो डोज पाँच हजार ६ सय ३६ जनाले लगाएका छन् । केही सुुरक्षाकर्मी र कर्मचारी सरुवा भएर अन्य जिल्ला गएको र कतिपय सर्वसाधारण समेत दोस्रो मात्रा लगाउनबाट छुटेको कार्यालयले जनाएको छ ।
यस्तै, खोपको पहिलो डोज लगाएको आठ प्रतिशत जनसंख्या दोस्रो डोजको पर्खाइमा छ । कोभिशिल्ड लगाएका ३३ हजार पाँच सय ४९ जनाले दोस्रो डोज पाएका छैनन् । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै खोप लगाउन इच्छुकको संख्या अत्यधिक छ । खोप अभावका कारण सबैले लगाउन पाएका छैनन् । सरकारले जोखिमको प्राथमिकरण र उमेर समूह निर्धारण गरेर खोपका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कर्णालीमा अहिले कोरोना संक्रमणको दरमा कमी आए पनि जोखिम भने कायमै छ । सुर्खेत अन्य जिल्लाको तुलनामा बढी जोखिममा रहेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् । बुधवार कर्णाली प्रदेशभर ५२ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये सुर्खेतका थप नौ जनामा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर सात सय ७० सक्रिय संक्रमित छन् । हालसम्म २९ हजार दुई सय आठ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २४ हजार २९ जना निको भएका छन् भने तीन सय ४३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०५:००
साझा बिसौनी ।