प्रदेश अस्पतालमै जटिल शल्यक्रिया

गुराँस गाउँपालिका ५ गोगनपानी दैलेखका दलबहादुर सुनारको सवारी दुर्घटनामा परी गर्धन भाँचिएको थियो । सुनारको गर्धन र खुट्टामा गम्भीर चोट थियो । उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा ल्याइयो । चिकित्सकहरूले ५३ वर्षीय दलबहादुरको गर्धन भाँचिएको र अप्रेशन गर्नुपर्ने बताए । परिवारले उनको उपचारका लागि काठमाडौं लैजाने तयारी ग¥यो । जटिल खालको अप्रेशन भएकाले उपचार यतै सम्भव हुँदैन होला भन्ने उनीहरूलाई लागेको थियो ।

पछिल्लो समय जनशक्ति र स्वास्थ्य उपकरणको उपलब्धताले अधिकांश रोगको उपचार प्रदेश अस्पतालमै सम्भव भए पनि सेवाग्राहीलाई भने यसबारे जानकारी हुन सकेको छैन।

चिकित्सकहरूले जटिल खालको अप्रेशन समेत प्रदेश अस्पतालमै हुने जानकारी गराएपछि उनका परिवार दंग परे । चिकित्सकको कुरा सुनेर बुवालाई उपचार गर्न काठमाडौं लैजाने तयारी गरेका दलबहादुरका छोरा बिर्खबहादुर खुसी भए । उनलाई प्रदेश अस्पतालले यस्ता सेवा दिइरहेको यसअघि जानकारी थिएन । बुवाको अप्रेशन प्रदेश अस्पतालमै गर्न बिर्खबहादुर राजी भए । यही असार २४ गते न्युरो सर्जन विशेषज्ञ डा. निलम खड्कासहितको टोलीले लगातार सात घण्टा समय लगाएर दलबहादुरको अप्रेशन ग¥यो । अप्रेशन सफल भयो ।

दुर्घटनापछि नचलेको हात चल्न थालेको र बुवाको अवस्था सामान्य हुँदै गएको छोरा बिर्खले बताए । ‘पहिले त प्रदेश अस्पतालमा सफल अप्रेशन होला भन्ने लागेको पनि थिएन,’ उनले भने, ‘चिकित्सकहरूले विश्वास दिलाएपछि अप्रेशनका लागि राजी भएको हुँ । सफल पनि भयो ।’

वीरेन्द्रनगर–१ धारापानी सुर्खेतकी आशिका पुलामीका पाँच वर्षीय छोरा घरको छतबाट खसे । उनको टाउकोमा गम्भीर चोट थियो । गत असार १५ गते छतबाट खसेका उनलाई तत्काल प्रदेश अस्पतालमा उपचारको लागि लगियो । चिकित्सकहरूले सुरूमा सिटिस्क्यान गर्नुपर्ने बताए । टाउकोको सिटिस्क्यान गरेपछि बाहिर लैजानु नपर्ने र प्रदेश अस्पतालमा नै उपचार गर्न सकिने बताइयो । सुरूमा त आशिकालाई चिकित्सकहरूको कुरामा विश्वास लागेको थिएन । उनले ठानेकी थिइन्, यहाँ यस्तो सेवा के पाइएला । असार १६ गते आशिकाका छोराको अप्रेशन सफल भयो । आगनमै रहेको अस्पतालले छोराको सफल अप्रेशन गरिदिएपछि आशिकाले आर्थिक रूपमा पनि निकै राहत भएको सुनाइन् ।

कर्णालीका बासिन्दाले जटिल खालका स्वास्थ्य समस्या आउँदा बाहिरै गएर उपचार गर्नुपर्ने बाध्यता अहिले हट्दै गएको छ । काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा दिइने सेवा प्रदेश अस्पतालमै पाउन थालिएको हो । यसबारे अधिकांशलाई जानकारीको अभाव रहेको स्वास्थयकर्मीहरू बताउँछन् । पछिल्लो समय प्रदेश अस्पतालले अत्याधुनिक स्वास्थ्य उपकरण र विशेषज्ञ चिकित्सकहरूको व्यवस्थापन मिलाएको छ । यहाँ हाल लगभग सबै खाले रोगको उपचार सम्भव बनेको छ ।

यसअघि अस्पतालमा आउनेहरू चिकित्सकको अभावमा सेवा लिनबाट वञ्चित हुन्थे । उपचारका लागि बाहिर जानुको विकल्प थिएन । न्युरो सर्जन डा. निलम आएपछि करिब डेढ महिनाको अवधिमा प्रदेश अस्पतालले १५ जना बिरामीको जटिल अप्रेशन गरेको छ । डा. निलम केही महिना अगाडिमात्रै प्रदेश अस्पतालमा विशेषज्ञ सेवा दिन आएका हुन् । कर्णालीमा उनी एक मात्र न्युरो सर्जन छन् ।

न्युरो सर्जन अन्तर्गत स्नायु (ब्रेन ट्युमर, ब्रेन हेम्ब्रेज) र मेरुदण्डको शल्यक्रिया गरिने डा. निलमले जानकारी दिए । उनका अनुसार टाउकोमा रगत जमेको, ढाड भाँचिएको, नशाका समस्या, छारेरोग, टाउको फुटेको तथा घाँटीको शल्यक्रिया जस्ता सेवा प्रदेश अस्पतालबाटै लिन सकिन्छ ।

प्रदेश अस्पताल निर्देशक डा. डम्बर खड्काले जटिल समस्या भएका बिरामी बाहिर रेफर गर्नुपर्ने बाध्यता हट्दै गएको बताए । उनकाअनुसार अस्पतालमा दक्ष जनशक्ति र अत्याधुनिक सामग्री ल्याएसँगै जटिल उपचार पनि सम्भव भइरहेको हो । ‘नागरिकहरूमा सरकारी अस्पतलाप्रति विश्वास बढाउनुपर्ने चुनौति भने रहेको उनी बताउँछन् । ‘अधिकांश बिरामी निजी अस्पतालमा नै जान्छन्,’ उनले भने, ‘निजीभन्दा सरकारी अस्पतालको सेवा विश्वसनीय र सुलभ हुन्छ । यो कुरा बुझाउन जरुरी छ ।’ उनले निजी अस्पतालमा भन्दा सरकारी अस्पतालमा कयौं गुणा सस्तोमा उपचार हुने बताए । उपचारमा सहज र आर्थिक संकटसमेत नहुने हुँदा सरकारी अस्पतालको सेवा लिनु नै उपयुक्त हुने निर्देशक डा. खड्काले सुझाए । आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको खड्काले जानकारी दिए ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णालीकै ठूलो उक्त सरकारी अस्पताललाई वि.सं. २०३० सालमा जिल्ला अस्पताल, २०६२ मा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल र २०७५ देखि प्रदेश अस्पतालका रूपमा स्तरोन्नती गरिएको थियो ।

प्रकाशित मितिः   २९ असार २०७८, मंगलवार ०५:०१