पानी परीक्षण प्रयोगशाला स्थापना
कर्णाली प्रदेश सरकारले पानी परीक्षण गर्ने प्रयोगशाला स्थापना गरेको छ । पूर्वाधार विकास निर्देशनालयले पानीको गुणस्तरीयता मापन गर्ने उद्देश्यले प्रयोगशाला बनाएको हो । एक करोड ७३ लाख ३० हजारको लगानीमा बनेको प्रदेशस्तरीय प्रयोगशालामा पानीको गुणस्तर र शुद्धता मापन हुनेछ ।
सोमवार भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापाले प्रयोगशालाको उद्घाटन गर्दै पानीको गुणस्तर परीक्षणका लागि अब सहज हुने बताए । उनले नागरिकलाई स्वच्छ खानेपानी सुनिश्चितका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘अब उच्चस्तरीय प्रविधिबाट पानी खान लायक छ कि छैन भनेर जाँच हुनेछ,’ मन्त्री थापाले भने, ‘अहिलेसम्म सामान्य रूपमा जाँच गर्ने गरिएको थियो ।’
प्रयोगशाला वीरेन्द्रनगरस्थित पूर्वाधार विकास निर्देशनालयको परिसरमा स्थापना गरिएको छ । प्रदेशमा आफ्नै प्रयोगशाला बनेपछि पानीको परीक्षण गर्नमा छिटो र सहज हुने सरकारी अधिकारीहरूले जनाएका छन् । यसअघि पानी परीक्षणका लागि अन्य प्रदेशमा जानुपर्ने बाध्यता थियो । अहिले स्थापना गरिएको प्रयोगशाला व्यवस्थित रूपमा सञ्चालन गर्दै प्रदेशका दश वटै जिल्लामा विस्तार गर्ने सरकारको तयारी छ । दक्ष जनशक्ति र उच्च प्रविधिबाट पानीको परीक्षण गर्न प्रयोगशाला बनाइएको बताइएको छ ।
प्रकाशित मितिः २९ असार २०७८, मंगलवार ०५:००
साझा बिसौनी ।