बस्ती नै पहिरोको जोखिममा

जुम्ला : हिमा गाउँपालिका ६ खलढुङ्गाका कि ८० वर्षीया वृद्धा रूपकला बुढाको घर असार ४ गतेको पहिरोले भत्कियो । आंशिक रूपमा भत्किएको घर थप जोखिममा परेपछि उनको परिवार लेकमा बसिरहेको छ । उनी हरेक दिन घरको रेखदेख गर्न गाउँ आउँछिन् । दिनभर घर कुरेर साँझपख तीन घण्टा उकालो चढ्दै लेकमा फर्कनु पर्छ । ‘सबै अन्नपात, भाँडाकुँडा घरभित्रै छन्, कसैले चोरेर लैजालान भनेर कुर्नुपर्छ,’ उनले भनिन्, ‘यहीँ घरमा बसौं फेरि पहिरोको आउने डर छ ।’ ज्यान बचाउन लेकको बास गर्नुपरेको रूपकला बताउँछिन् ।

यहाँको सिङ्गो बस्ती पहिरोको जोखिममा छ । सुरक्षित घर नभएपछि लेकमा बस्नुको विकल्प नभएको स्थानीयहरूले बताएका छन् । स्थानीय धर्मेन्द्र अधिकारीका अनुसार असार ४ गतेको पहिरोले खलढुङ्गाका १० घर भत्किएका थिए । निरन्तरको वर्षाले जमिन भाँसिदै गएको छ । गाउँमाथि भएका ढुङ्गाहरू खस्ने डर पनि उत्तिकै छ । पाँच वर्ष पहिले पाखाबाट उक्त बस्तीमा सयौं टनको ढुङ्गा खसेको थियो । वर्षायाममा गाउँले गाइभैंसीका लिएर लेकमा पुगेकोले मानवीय क्षति भएन, तर घर भत्कियो । त्यतिबेला खस्नलागेका अरु ढुङ्गाहरू स्थानीयले साना–साना पर्खाल लगाएर रोकेका थिए ।

‘भिरालो पाखोबाट सैयौं ढुङ्गा गाउँमा खस्ने जोखिम छ, हामी हरेक क्षण मृत्युसँग लडिरहेका छौं तर सरकार बेखबर छ,’ सोही बस्तीका तीर्थ अधिकारी भन्छन् । असार पहिलो साताको पहिरोले विस्थापित भएकाहरूले छिमेकीको सहारामा दिन काटिरहेका छन् । घर भत्काएपछि तीन सातादेखि छिमेकिको घरमा बस्दै आएका मुनराज अधिकारी भने, ‘हाम्रो समस्यालाई नजरअन्दाज गरियो । अहिले त घर मात्रै भत्किएका छन् । बस्तिमा ढुङ्गा खसेपछि मानविय क्षति हुने खतरा छ ।’ विपद्ले क्षति गरिसकेपछि सहानुभूति देखाउनुको अर्थ नहुने उनले बताए । बस्तीमा पहिरो आउने र ढुङ्गा खस्ने जोखिम नौलो होइन । एक दशक अघि नै यहाँका बासिन्दाले साविकको गाउँ विकास समितिमार्फत सरकारलाई बस्ती स्थानान्तरण गरिदिन आग्रह गरेका थिए । ‘बारम्बार बस्ती स्थानान्तरण गर्न निवेदन दियौं, तर हाम्रो अनुरोधको अपमान भयो । पटक–पटक दिइएका निवेदन डस्बिनमा फ्याँकियो,’ स्थानीयहरू भन्छन् ।

बस्तीमा पहिरोको उच्च जोखिम भएकाले पानी पर्न थालेपछि त्रास हुन्छ । आकाशमा बादल मडारिना साथ बस्ती छोड्नु पर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । बस्ती स्थानान्तरण गर्नका लागि गरिएका प्रयासले सार्थकता पाउन नसकेको हिमा गाउँपालिका–६ का वडा अध्यक्ष बलबहादुर रावतले बताए । यो बस्तीलाई कर्णाली प्रदेश सरकारले जोखिमयुक्त स्थानको सूचीमा राखे पनि स्थानान्तर गर्न कुनै तदारुकता देखाएको छैन । ‘हामी जनप्रतिनिधि पनि निकै चिन्तित छौं । पालिकाबाट बस्ती सार्न सम्भव छैन । प्रदेश सरकारले चासो नै दिएको छैन,’ उनले भने ।

गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कार्यपालिका बैठकले गएको आर्थिक वर्ष २०७६/०७७ मै बस्तीलाई सुरक्षित ठाउँमा सार्ने निर्णय गरेको थियो । कोरोना महामारीका कारण उक्त काम प्रभावित बनेको उनको जिकिर छ । ‘संघीय सरकारले हिमा ६ का दुई सय ६० घरलाई स्थानान्तरण गर्ने तयारी गरेको थयो । स्थानीयले भने आश्वासन मात्रै दिएर नागरिकको जीवनमाथि खेलबाड गरिएको आरोप लगाएका छन् ।

प्रकाशित मितिः   २९ असार २०७८, मंगलवार ०५:०३