आदेशमै सीमित निषेधाज्ञा
अनुमति नदिइएका व्यवसाय तथा भिडभाड हुने गतिविधिहरू सञ्चालन भइरहँदा स्थानीय प्रशासन भने बेखबर जस्तै छ । निषेधाज्ञा खुकुलो पारेसँगै सार्वजनिक स्थानमा भइरहेका जोखिम निम्त्याउने गतिविधिप्रति नजरअन्दाज गर्न थालिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सुर्खेतमा जारी निषेधाज्ञा लम्ब्याउँदै लगिएको छ । झन्डै ढाई महिनादेखि जिल्लाभर निषेधाज्ञालाई निरन्तरता दिइएको छ । पछिल्लो समय लगभग सबै क्षेत्र खुला गरिसकिएको छ । तर, स्थानीय प्रशासनले निषेधाज्ञा भने कायमै राखेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार निषेधाज्ञा थप गर्दै असार ३१ सम्म लम्ब्याएको हो । प्रशासनले जारी गरेको निषेधाज्ञाको प्रभाव भने शून्यप्रायः छ । अनुगमन तथा नियमन गर्ने निकायको बेवास्ताका कारण निषेधाज्ञा कागजमा मात्र सीमित देखिन्छ । स्थानीय प्रशासनले खुला रहन पाउने आदेश गरेकाबाहेका क्षेत्र पनि सञ्चालन भइरहेका छन् । प्रहरी–प्रशासन यसको पालना गराउनुको साटो मूकदर्शक बनिरहेका छन् ।
सबै क्षेत्र खुला गरिसकेको अवस्थामा निषेधाज्ञा कायमै राख्नुको अर्थ नरहने जनस्वाथ्यका जानकारहरू बताउँछन् । प्रशासनद्वारा जारी निषेधाज्ञाको पूर्णरूपमा उल्लंघन भइरहेकाले यसरी संक्रमणको ‘चेन बे्रक’ सम्भव नहुने उनीहरूको तर्क छ । सार्वजनिक स्थानमा भिडभाडजन्य गतिविधि बढ्दो छ । सयौं भेला भएर आन्दोलनका कार्यक्रम गरिरहँदा पनि प्रशासनले नजरअन्दाज गर्दै आएको छ । यस्तो अवस्थामा निषेधाज्ञा निरन्तरताको औचित्य नभएको स्थानीयहरू बताउँछन् । ‘निषेधाज्ञा जारी गरिरहने तर त्यसको पालना गर्ने÷गराउनेमा कसैको वास्ता नगर्ने भए यसको औचित्य छैन,’ वीरेन्द्रनगर–६ का शेखर पौडेल भन्छन्, ‘न नागरिकहरू आफ्नो स्वास्थ्यप्रति सचेत देखिन्छन् न त प्रशासनले आदेश कार्यान्वयन गर्न सकेको छ ।’ बजार, वित्तीय संस्था, सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा देखिने भिडभाडका दृश्यले निषेधाज्ञालाई नै गिज्याइरहेको भान हुने उनले बताए ।
सर्वसाधारण व्यक्ति, व्यवसायी र सरकारी कार्यालय तथा संघ–संस्थाहरूले निषेधाज्ञाको पालना गरेका छैनन् । आदेश पालना गराउने निकाय चुकेका कारण संक्रमण पुनः बढ्न थाले पनि ‘चेन बे्रक’ गर्न गरिएको निषेधाज्ञा प्रभावकारी नभएको आलोचना हुने गरेको हो । अनुमति नदिइएका व्यवसाय तथा भिडभाड हुने गविधिहरू खुला भइरहँदा स्थानीय प्रशासन भने बेखबर छ । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सार्वजनिक स्थलमा भइरहेका जोखिम निम्त्याउने गतिविधिलाई अनुगमन तथा नियमन गर्न सकेको छैन ।
निषेधाज्ञाकै समयमा सार्वजनिक सेवा प्रवाह गर्दा स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न आदेश गरिएको छ । तर, सरकारी निकायको नै त्यसमा बढी उदासीनता देखिन्छ । जोखिमको आंकलन तथा सेवा प्रवाहको प्राथमिकीकरण समेत नगरेर सरकारी कार्यालयहरू सञ्चालन भइरहेका हुन् । यस्तै अस्तव्यस्त व्यवस्थापनका कारण निषेधाज्ञा झन् व्यर्थ जस्तै भएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असारमसान्त चलिरहेकाले सबैको सहजताका लागि निषेधाज्ञा खुकुलो बनाएर निरन्तरता दिइएको जनाए । संक्रमण नियन्त्रण उन्मुख देखिएकाले फितलो बनाउँदै लगिएको उनको दाबी छ । उनले आदेशको अवज्ञा भइरहेको सन्दर्भमा सुतेकाहरूलाई ब्युझाउँन सकिने तर सुतेको अभिनय गर्नेहरूलाई ब्युझाउँन नसकिने बताए । ‘सधैँ नागरिकको पछि लागेर प्रहरीले ड्युटी गर्न सक्दैन,’ प्रजिअ रिजालले भने, ‘महामारीमा जोगिन सबैले आफ्नो र अरुको स्वास्थ्यको समेत ख्याल गर्नुपर्छ ।’ निषेधाज्ञा पालना गर्न हरेक व्यक्ति जिम्मेवार बन्नुपर्ने उनको भनाइ ।
संक्रमण फेरि उकालो
सार्वजनिक स्थानमा देखिने भिडभाड र हेलचक्य्राइँले कोरोना संक्रमण फेरि बढ्ने जोखिम रहेको जनस्वास्थ्यकर्मीहरूले औंल्याएका छन् । पछिल्ला केही दिनयता सुर्खेतलगायत प्रदेशका अन्य जिल्लामा पनि संक्रमण दर पुनः उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अन्य ६ प्रदेशका तुलनामा कर्णालीमा संक्रमण सबैभन्दा धेरै छ । निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही गरिँदा संक्रमितको संख्या पुनः बढ्न थालेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
असार पहिलो सातासम्म १० प्रतिशतमा झरेको कर्णालीको संक्रमण दर अहिले फेरि ४२ प्रतिशत नाघेको हो । दोस्रो संक्रमणको सुरुवातीमा यहाँ संक्रमण दर ९० प्रतिशतभन्दा माथि पुगेको थियो । सबै क्षेत्र बन्द गरिँदा जेठ अन्तिम सातादेखि संक्रमण दरमा कमी आयो । तर, एक सातायता संक्रमण फेरि बढ्न थालेको छ । अन्य जिल्लाभन्दा सुर्खेत संक्रमणको बढी जोखिममा छ ।
कोरोनाको पहिलो र दोस्रो दुवै लहरमा सुर्खेत बढी, प्रभावित भएको हो । चिकित्सकहरूले समेत कर्णालीमा केही दिनयता कोरोना संक्रमण बढेको बताइरहँदा मानिसहरूले भने स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । अधिकांश व्यक्तिहरू मास्क, सेनिटाइजर तथा दूरी कायम जस्ता जनस्वास्थ्यका मापदण्ड नअपनाइ निस्फिक्रि भिडभाडमा सामेल हुन थालेका छन् ।
प्रकाशित मितिः २७ असार २०७८, आईतवार ०५:०२
साझा बिसौनी ।