सुर्खेतमा चुनावी सरगर्मी
१४औैं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र चुनावी सरगर्मी बढेकोे छ । आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्म पार्टीको केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ । त्यसअघि वडादेखि प्रदेशसम्म सबै तहको अधिवेशन गरिसक्नुपर्ने हुन्छ । केन्द्रमा पार्टीको क्रियाशील सदस्यता टुंग्याउने विषयमै विवाद भइरहेको बेला सुर्खेतमा भने वडादेखि जिल्ला तहससम्म महाधिवेशनको माहोल तातिएको हो ।
पछिल्ला दिनहरूमा महाधिवेशन केन्द्रीत गतिविधि बढेका छन् भने नेतृत्वका लागि आकांक्षीहरू पनि खुल्न थालेका छन् । नेताहरूको दौडधुप निकै देखिन्छ । उनीहरू कार्यकर्ता भेटघाट र समूहगत आन्तरिक तयारीमा जुटेका हुन् ।
केन्द्रमाजस्तै प्रदेश, जिल्ला, गाउँ र वडासम्म दुई समूहमा विभाजित छ, कांग्रेस । सुर्खेतमा पनि सोहीअनुसारका दुई वटा समूह सक्रिय छन् । केन्द्रीय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा विभाजित नेता तथा कार्यकर्ताहरू आफ्नो समूह बलियो बनाउने अभियानमा जुटिसकेका छन् ।
महाधिवेशन नजिकै आएपछि जिल्लामा पनि नेतृत्वको चर्चा सुरू भएको हो । विशेष गरेर जिल्ला सभापतिका आकांक्षीहरूले आफ्नो दाबी सार्वजनिक गर्न थालेका हुन् । सुर्खेतमा देउवा समूहको नेतृत्व कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्छन् । थानी समूहबाट अहिले पनि जिल्ला सभापतिमा कमलराज रेग्मीले दोहो¥याउने सम्भावना बढी छ । अहिलेसम्म रेग्मी उक्त समूहबाट निर्विकल्प उम्मेदवारजस्तै बनेका छन् । उनीबाहेक अरुलाई अघि बढाउँदा अर्को पक्षलाई पराजीत गर्न गाह्रा हुने यो समूहको आँकलन् छ । पौडेल समूहका रेग्मी नै बलिया उम्मेदवार भएको उनी निकट नेताहरू बताउँछन् ।
यस्तै, खड्का समूहबाट जिल्ला सभापतिमा विशेष गरेर तीन जनाको नाम चर्चामा छ । यज्ञबहादुर बुढाक्षेत्री, उपेन्द्र थापा र टोेपबहादुर रावत देउवा समूहका जिल्ला सभापतिका आकांक्षी हुन् । बुढाक्षेत्री अघिल्लो अधिवेशनमा जिल्ला सभापतिमा रेग्मीसँग झिनो मतले पराजित भएका थिए । त्यसैले पनि उनी अहिले फेरिजिल्ला सभापतिको उम्मेदवार बन्ने गरि तयारीमा जुटेका छन् । बुढाक्षेत्री कर्णाली सरकारका सामाजिक विकास मन्त्री छन् ।
सोही समूहबाट उपेन्द्र थापाको पनि जिल्ला सभापतिमा चर्चा उत्तिकै छ । थापा अहिले पञ्चपुरी नगरपालिकाका प्रमुख हुन् । उनी यसअघि जिल्ला उपसभापति र लामो समय कार्यबाहक सभापति भइसकेका व्यक्ति हुन् । खड्का समूहकै रावतको पनि सभापतिमा चर्चा गर्ने गरिएको छ । उनी अघिल्लो अधिवेशनबाट निर्वाचित जिल्ला सचिव हुन् ।
नेपाली कांग्रेसले अहिले क्रियाशील सदस्यता छानबिन गरिरहेको छ । सभापति रेग्मीकाअनुसार सदस्यता छानबिनका लागि गठित समितिको बैठक तीन दिनदेखि जारी छ । अबको दुई–तीन दिनमै क्रियाशील सदस्यको टुङ्गो लाग्ने छ । सदस्यताको काम सकिएपछि अधिवेशनका अरू गतिविधि अघि बढ्ने उनले बताए । कांग्रेसले जिल्लाबाट १२ हजार क्रियाशील सदस्यका लागि सिफारिस गरेको छ । साउन १२ गते वडास्तरमा, १६ गते गाउँ तथा नगर अधिवेशन, २० गते प्रदेश क्षेत्रीय अधिवेशन, २३ मा प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन र २६ गते जिल्लाको अधिवेशन हुने छन् । प्रदेशको अधिवेशन भदौ १ र २ गते गर्ने कांग्रेसको कार्यतालिका छ ।
प्रकाशित मितिः २८ असार २०७८, सोमबार ०५:००
साझा बिसौनी ।