हात्तीपाइलेको औषधि सत्तरी प्रतिशतले खाए

साझा बिसौनी संवाददाता

सुर्खेत, २९ फागुन ।
सुर्खेतमा हात्तीपाइलेविरुद्धको अभियान अन्तर्गत शनिवार जिल्लाका ७० प्रतिशत नागरिकहरूले औषधि खाएका छन् । जिल्लाका तीन वटा नगरपालिका र ४१ वटा गाविसमा एकैपटक यो औषधि खुवाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले पहिलो दिन शनिवार करिब ७० प्रतिशत जनताले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेको जनाएको छ ।
कार्यालयले जिल्लाका साढे तीन लाख व्यक्तिलाई यो औषधि खुवाउने लक्ष्य राखेको छ । तर, शनिवार नजिक रहेका विभिन्न बुथहरूमा सर्वसाधारणहरूलाई स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूले यो औषधि प्रत्यक्ष निगरानीमा खुवाएका थिए । पहिलो दिन ७० प्रतिशत नागरिकले मात्र औषधि खाएको भन्दै कार्यालयले छुटेका नागरिकहरूलाई आज (आइतवार) र सोमवार पनि घर–घरमा नै पुगेर खुवाइने जनाएको छ । कार्यालयका प्रमुख बसन्त अधिकारीले पहिलो दिन लक्ष्य अनुसार नै औषधि खुवाउने काम सफल भएको र सर्वसाधारणहरूको उत्साहपूर्ण सहभागिता रहेको बताए । साथै उनले आइतवार र सोमवार पनि घरघरमा नै पुगेर छुटेकाहरूलाई औषधि खुवाइने जानकारी दिए ।
हात्तीपाइलेविरुद्ध खुवाइने औषधिको बारेमा गलत भ्रम फैलाएका कारण सर्वसाधारणहरूको सहभागिता न्यून हुने आशंका गरिएको थियो । तर, जिल्लामा सर्वसाधारणहरूले निर्धक्क भएर यो औषधि सेवन गरेका छन् । सर्वसाधारणहरूमा रहेको भ्रम हटाउन भन्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले शनिवार संयुक्त रूपमा औषधि सेवन गरेर अभियानको सुरुवात गरेका थिए । त्यसपछि स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूले सर्वसाधारणलाई औषधि वितरण गरेका थिए । विगत वर्षमा औषधि वितरण गर्दा सर्वसाधारणहरूले नखाएर फाल्ने गरेका कारण यसपाली भने स्वास्थ्यकर्मीहरूले प्रत्यक्ष निगरानीमा राखेर खुवाएका थिए । अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरे । हात्तीपाइले रोग सरुवा रोग भएकाले सबैले यसविरुद्धको औषधि सेवन गर्नुपर्ने उनको भनाइ छ । साथै उनले औषधिको बारेमा फैलाइएका हल्लाहरू गलत भएको बताए ।
स्वास्थ्य कार्यालयका अनुसार शनिवार जिल्लाका बाढीपीडित र नेपाली सेनालाई पनि यो औषधि खुवाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, ‘विस्थापित शिविर र सेनाको ब्यारेकमा समेत औषधि खुवाएका छौं, अब नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई खुवाउन बाँकी छ । उनीहरूलाई हामी आइतवार खुवाउने छौं, यो औषधि सबैले खानु अनिवार्य छ ।’ औषधि खुवाउने कार्य सफल रूपमा अगाडि बढिरहेको भन्दै उनले शनिवार छुटेकाहरूलाई पनि निर्धक्क भएर औषधि खान आग्रह गरे । औषधि खुवाउनका लागि जिल्लामा पाँच सय स्वास्थ्यकर्मी र दुई हजार भन्दा बढी स्वयम्सेवकहरू परिचालन गरिएको छ । हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्दा कुनै समस्या नहुने भन्दै स्वास्थ्यकर्मीहरूले दुई वर्षमुनीका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी महिला, सिकिस्त बिरामी र दीर्घ रोगीहरू बाहेक अरु सबैले यो औषधि खाँदा कुनै समस्या नहुने बताएका छन् । सरकारले २०६८ सालदेखि हरेक वर्ष निःशुल्क यो औषधि खुवाउँदै आएको छ ।