केन्द्रीय सदस्यमा बस्याल पराजित

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ फागुन ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि दलित आरक्षणतर्फको नतिजा आएको छ । दलित पुरुषतर्फ तीन र दलित महिला आरक्षणतर्फ दुईजना विजयी भएका हुन् । 
दलित पुरुषतर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका सुर्खेतका कांग्रेस नेता खड्गबहादुर बस्याल पराजित भएका छन् । तीन जनाको कोटा रहेको यो पदमा बस्याल पराजित भएका हुन् । सांसदसमेत रहेका बस्याल यसअघि कांग्रेस निकट दलित संघको केन्द्रीय सभापति थिए । पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका बस्यालले केन्द्रीय सदस्यमा दलित कोटाबाट उम्मेदवारी दिएका थिए । सुर्खेतबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बस्याल पराजित भए पनि नेता पूर्णबहादुर खड्का र हृदयराम थानी विजयी हुने सम्भावना बलियो रहेको छ । यो समाचार तयार पार्ने बेलासम्म खड्का र थानीको अन्तिम नतिजा आइसकेको थिएन । 
दलित पुरुषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा विजयी भएका हुन् ।  दलित पुरुषतर्फ विजयी हुने क्रममा जीवन परियारले सर्वाधिक १४ सय ८१ मत ल्याएका छन् । त्यसैगरी  मानबहादुर विश्वकर्माले १४ सय दुई र मीन विश्वकर्माले १३ सय १३ मत ल्याउँदै विजयी भएका हुन् । त्यसैगरी दलित महिलातर्फ लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन्  । 
प्रकाशित मितिः   ३० फाल्गुन २०७२, आईतवार ११:४०