एक सय २४ जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप एक सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनायलयका अनुसार तीन सय १३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् ।

संक्रमित हुनेमा सुर्खेतका ४१, सल्यानका २१, रुकुम–पश्चिमका १५, जाजरकोटका १३, जुम्लाका १२, दैलेखका ११, मुगुका आठ, कालीकोेटका पाँच र कर्णाली प्रदेशमा रहेका अन्य प्रदेशका पाँच जना छन् । योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार आठ सय ४९ पुगेको छ । त्यसमध्ये २६ हजार तीन सय ९९ जना संक्रमणमुक्त भएका छन् । बिहीवार ८४ जनाले कोरोना जितेको निर्देशनालयले जनाएको छ । कर्णालीमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या तीन सय ३६ पुगेको छ ।

यस्तै, बिहीवार देशभर एक हजार आठ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीवार नै २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोना संक्रमित नौ हजार तीन सय २० जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   २५ असार २०७८, शुक्रबार ०७:१८