तेस्रो लहर नियन्त्रणको कार्ययोजना

कोरोना भाइरस ‐कोभिड–१९) को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार पारिएको छ । सुर्खेतमा कोभिडको सम्भावित तेस्रो लहर नियन्त्रण गर्न कार्ययोजना बनाइएको हो । पहिलो र दोस्रो दुवै लहरबाट बढी प्रभावित भएको सुर्खेतमा जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य सेवा कार्यालयले तेस्रो लहरबाट जोगिन कार्ययोजना तयार पारेका हुन् । कार्ययोजनामा कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट उल्लेख गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठित समितिले तयार पारेको कार्ययोजना बिहीवार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको हो ।

तेस्रो लहरबाट बालबालिका उच्च जोखिम हुने भनिएकोले प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा आइसीयू बेडलगायत औषधि तथा उपकरणहरू तयारी अवस्थामा राख्नुपर्ने, त्यसको व्यवस्था प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने भनिएको छ । चार जना चिकित्सक, चार जना नर्स र चार जना पारामेडिक्सको टोली खटिनुपर्ने र त्यसको व्यवस्थापन स्वास्थ्य सेवा निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने कार्ययोजनामा तोकिएको छ ।

यस्तै, अबको एक महिनाभित्रमा आवश्यक औषधि खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधिको कमी देखिएकाले एकैपटक कम्तीमा तीन सय जनालाई पुग्ने गरि व्यवस्था गर्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्था सुर्खेतमै गर्नुपर्ने, कम्तीमा ६ सय अक्सिजन सिलिण्डर व्यवस्था हुनुपर्ने लगायतका कार्ययोजना बनाइएको छ ।

त्यसैगरी, घर तथा टोलमै स्वाब संकलन गर्ने व्यवस्था मिलाइनुपर्ने, एम्बुलेन्स तथा शव वाहनहरू तयारी अवस्थामा राख्ने र नियन्त्रण तथा रोकथामबारे प्रचार–प्रसारमा पनि जोड दिइनुपर्ने कार्ययोजनामा समेटिएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले कोभिडको तेस्रो लहर आउनुअघि नै कार्ययोजना तयार भएकाले यसैकै आधारमा रोकथाम तथा नियन्त्रणका काम गर्न सहज हुने बताए ।

प्रकाशित मितिः   २५ असार २०७८, शुक्रबार ०७:१७