शिशुमा बढ्दो स्वास्थ्य समस्या

महिना नपुग्दै जन्मिन्छन् अधिकांश बच्चा, एनआइसीयु खचाखच

महिना नपुग्दै जन्मिन्छन् अधिकांश बच्चा, एनआइसीयु खचाखच

वीरेन्द्रनगर–११ कि राधा वलीको बच्चा जन्मिने मिति साउन १९ गतेको थियो । तर, उनी एक महिना अघि असार १९ गतेनै सुत्केरी भइन् । महिना नपुग्दै जन्मिएको उनको छोरा दुई केजी तीन सय ग्रामका छन् । सामान्यतः नवजात शिशु जन्मँदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ । बच्चालाई सास फेर्न अप्ठ्यारो भएपछि चिकित्सकहरूको सल्लाहमा अहिले शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसीयू) मा राखिएको छ । एक सातादेखि बच्चालाई नियमित अक्सिजन दिएर एनआइसीयूमा राखिएको हो । चिकित्सकहरूका अनुसार उनको बच्चा जन्मँदा सामान्य भए पनि केही समयपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । राधा भन्छिन्, ‘गर्भावस्थामा नियमित जाँच र खानपाना ध्यान दिएकै थिएँ । बच्चामा यस्तो समस्या कसरी आयो खै ?’

कर्णालीमा जन्मिने १५ देखि २० प्रतिशत शिशु कम तौलका, करिब ४० प्रतिशत आमाहरू कुपोषित

भेरीगंगा नगरपालिका–४ हर्रेकी २६ वर्षीय सम्झना मगरको बच्चा असार २३ गते जन्मियो । जन्मिदा बच्चाको तौल चार केजी थियो । उनको बच्चालाई पनि श्वासप्रश्वासमा समस्या देखियो । चिकित्सकहरूको सल्लाह बमोजिम भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सम्झना महिना पुगेरै सुत्केरी भएकी थिइन् । ‘डाक्टरले दिएको दिनभन्दा एकदिन पहिले मात्रै बच्चा जन्मिएको हो,’ उनले भनिन्, ‘तर, बच्चामा स्वास्थ्य समस्या देखियो ।’

यी केही प्रतिनिधि उदाहरण हुन् । पछिल्लो समय कर्णाली प्रदेश अस्पतालमा जन्मिएका अधिकांश बच्चाहरूमा यस्तो खालको समस्या देखिने गरेको छ । धेरै बच्चाहरूमा स्वास्थ्य समस्या देखिएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का बताउँछन् । उनले पहिले भर्खर जन्मिएका बच्चाहरूलाई एनआइसीयूमा राख्नका लागि समस्या भए पनि अहिले उपकरणको संख्या बढी भएकाले उपचारमा सहज भएको जनाए । नवजात शिशुहरूमा श्वासप्रश्वासको समस्या देखिनुका थुप्रै कारण भएको निर्देशक खड्काले बताए ।

कर्णालीका सबैजसो जिल्लामा विगतमा पनि गर्भवती, सुत्केरी र नवजात शिशुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिँदै आएको पाइँन्छ । पछिल्लो समय महिना नपुग्दै बच्चा जन्मने, कम तौलका जन्मने लगायतका समस्या बढेको चिकित्सकहरू बताउँछन् । प्रदेश अस्पतालका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा त्यहाँ जन्मिएका चार हजार आठ सय ५० जना शिशुमध्ये ६ सय ९६ जनालाई एनआइसीयूमा राखिएको थियो । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले यो संख्या बर्सेनि बढिरहेको जनाए । आर्थिक वर्ष २०७७/०७८ मा समेत अस्पतालमा जन्मिएका चार हजार दुई सय ९० मध्ये आठ सय ३५ नवजात शिशुलाई एनआइसीयूमा राखेर उपचार गरिएको थियो ।

प्रदेश अस्पताल सुर्खेतका बाल रोग विशेषज्ञ डा. नवराज केसीले कर्णाली प्रदेशमा करिब ४० प्रतिशत आमाहरू कुपोषित भएका कारण बच्चामा त्यसको असर देखिने गरेको बताए । उमेर नपुग्दै विवाह, गर्भावस्थामा पोषिलो खानेकुरा नखानु तथा गर्भवती भएपछि नियमित जाँच नगर्दा पनि यस्ता समस्याहरू आउने गरेको उनी बताउँछन् । उनकाअनुसार कर्णालीमा महिना नपुगेर जन्मिने शिशुका संख्या १५ देखि २० प्रतिशतको हाराहारीमा छ । यो नयाँ नभइ पहिलेदेखिकै समस्या भएको उनले बताए ।

बालविवाह गर्ने, महिलाहरूलाई गर्भाअवस्थामा गरिने स्याहारको कमी, मानसिक तनाव र खानपानको समस्याका कारण बच्चामा असर देखिने गरेको डा. केसीको भनाइ छ । यसरी एनआइसीयूमा राखेर बच्चाहरूलाई अक्सिजन दिने, भेन्टिलेटरमा राखेर उपचार गर्ने, पाइपको माध्यमबाट दुध खुवाउने र तौल बढाउने गरिन्छ ।

प्रकाशित मितिः   २५ असार २०७८, शुक्रबार ०७:१६