दुई उपप्राध्यापक बर्खास्त

उनीहरूले अक्षम्य शैक्षिक अपराध गरेको विश्वविद्यालयको ठहर

उनीहरूले अक्षम्य शैक्षिक अपराध गरेको विश्वविद्यालयको ठहर

मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापनरत इन्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक विश्वनाथ यादव र कानुन संकायका उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरिएको हो । उनीहरूले अक्षम्य शैक्षिक अपराध गरेको ठहर गर्दै बर्खास्त गरिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले बताए ।

यादवले आफूखुसी विद्यार्थीलाई नम्बर दिएको र पन्तले प्रश्नपत्र बाहि¥याएको भेटिएपछि बर्खास्त गरिएको हो । ‘परीक्षा सञ्चालन नै नगरी विद्यार्थी उत्तीर्ण गर्ने, विद्यार्थीसँगको मिलेमतोमा प्रश्नपत्र नै बाहिर ल्याउने जस्ता क्रियाकलाप भएको पाइयो,’ उपकुलपति सिंहले भने । यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्ष विश्वविद्यालयले निकालेको छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर उनले आफूखुसी नम्बर दिएका थिए । स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापकले आफूखुसी नम्बर दिएको पाइएको विश्वविद्यालयद्वारा गठित छानबिन समितिले औंल्याएको छ । बर्खास्तीमा परेका यादव स्थायी हुन् भने पन्त करार सेवामा थिए । पन्तलाई यसअघि नै तीन महिनाका लागि निलम्बन गरिएको थियो । उपकुलपति सिंहका अनुसार उनीहरूलाई सफाइको मौका समेत दिएर बर्खास्त गरिएको हो । उनकाअनुसार मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्ले पहिलोपटक स्थायी उपप्रध्यापकलाई बर्खास्त गर्ने निर्णय गरेको हो । शिक्षाको गुणस्तरलाई खस्किन नदिनका लागि विश्वविद्यालयको प्राज्ञिक मर्यादामा आँच आउने गरि शैक्षिक अपराध गर्ने व्यक्तिलाई सेवाबाटै हटाउनु परेको उपकुलपति सिंहको भनाइ छ ।

प्रकाशित मितिः   २३ असार २०७८, बुधबार ०७:१५