भेरोसेलको दोस्रो डोज बिहीवारदेखि लगाइने
सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिइने भएको छ । उक्त खोपको दोस्रो मात्रा असार २४ गतेदेखि लगाइने भएको हो । पहिलो डोज लगाएकालाई दोस्रो मात्रा लगाउने तयारी गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयले खोप कार्ड लिएर पहिलो डोज लगाएको केन्द्रमा गइ सेवा लिन सूचना जारी गरेको छ ।
जनस्वास्थ्य कार्यालयकाअनुसार जिल्ला कारागारका कैदीबन्दीलाई असार २५ गते, सबै स्थानीय तहमा असार २६ गते र प्रदेश अस्पतालमा २६ गतेदेखि २८ गतेसम्म खोप लगाइने छ । यस्तै, सशस्त्र र नेपाल प्रहरीका लागि प्रदेश प्रहरी कार्यालय तथा नेपाली सेनाका लागि उत्तरपश्चिम पृतनामा असार २४ गते खोप दिइने छ । बिहान १० बजेदेखि चार बजेसम्म खोप सेवा लिन सकिने कार्यालयले जनाएको छ । सुर्खेतमा भेरोसेलको पहिलो मात्रा ६ हजार एक सय ५३ जनालाई लगाइएको थियो । कर्णालीका सबै जिल्लामा भेरोसेल खोपको दोस्रो डोज लगाउने तयारी गरिएको छ । प्रदेशभर भेरोसेलको पहिलो डोज २२ हजार एक सय ९१ जनाले लगाएका छन् ।
कर्णालीमा अहिलेसम्म कोभिसिल्ड र भेरोसेल गरि एक लाख ३० हजार ६ सय ७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसमध्ये एक लाख आठ हजार चार सय ८६ जनालाई कोभिसिल्डको पहिलो डोज दिइएको थियो । कोभिसिल्डको दोस्रो डोज भने २१ हजार सात सय ४२ जनाले मात्र लगाउन पाएका छन् । कोभिसिल्ड लगाएका एक लाख बढी दोस्रो डोजको पर्खाइमा छन् ।
प्रकाशित मितिः २३ असार २०७८, बुधबार ०७:१३
साझा बिसौनी ।