खेल पूर्वाधारमा लगानी
कर्णालीमा अहिलेसम्म खेलकुदका ठूला प्रतियोगिता हुन सकेका छैनन् । तर प्रदेश सरकारले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने लक्ष्य लिएको छ । यसका लागि पहल र प्रयास भइरहेका छन् । तर पर्याप्त पूर्वाधारको अभाव छ । राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि आवश्यक संरचना नहँुँदा चाहेर पनि त्यस्ता खेल गतिविधि सञ्चालन गर्नबाट कर्णाली पछि पर्दै आएको छ । यद्यपि यतिबेला प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताजस्तो देशकै सबैभन्दा ठूलो खेलकुद मेला आयोजना गर्ने आँट गरेको छ । योजना बनाएको छ । सपना देखेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको योजना अघि सारेपछि खेलसरोकारवालाहरू हर्षित भएका छन् । खेलाडीहरूमा उत्साह भरिएको छ । सँगसँगै प्रतियोगिता कर्णालीमै हुन्छ कि हुँदैन भन्ने चिन्ताले भने छोडेको छैन । यसको मूख्य कारण हो, पूर्वाधार । आवश्यक खेल संरचना । पर्याप्त पूर्वाधार निर्माण गर्न सकेको खण्डमा कर्णालीमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न समस्या छैन । सरकारले नै चासो देखाएपछि यो असम्भव हुने कुरै होइन । तर त्यसका लागि के प्रदेश तयार छ ? योजना मात्रै बनाएर भने पुग्दैन । त्यसलाई कार्यान्वयनका लागि तप्परता आवश्यक पर्दछ । सबैभन्दा पहिलो संरचनाहरूको विकासमा लाग्नुपर्ने हुन्छ । अहिले प्रदेशमा एउटा गतिलो रंगशालासमेत छैन । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि थुप्रै खेल सञ्चालनका लागि सोहीअनुसारका पूर्वाधारहरूको विकास गर्नुपर्ने हुन्छ । ‘इन्डोर’ तथा ‘आउडोर’ खेलहरू सञ्चालन गर्नुपर्ने हुन्छ । प्रदेश राजधानीमै त्यस्ता पूर्वाधारको अभाव छ । फूटबलका लागि बनाइएको रंगशाला नै सुविधायुक्त छैन । अन्य प्रतियोगिताका लागि बनाउनुपर्ने संरचनाहरू पनि छैनन् । अन्य जिल्लाहरूको अवस्था अझ कमजोर छ । यस्तो अवस्थामा कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सहज छैन । चुनौतीपूर्ण छ ।
प्रदेश सरकारले चुनौती स्वीकार गर्ने बताएको छ । आवश्यक पूर्वाधार निर्माण गरिने दाबी गरेको छ । यसका लागि केही प्रयास पनि भएका होइनन् । भएका छन् । जस्तो सुर्खेतमा सुविधासम्पन्न रंगशाला निर्माणका लागि सरकारले चासो दिएको छ । बजेट छुट्याएको छ । प्रतियोगिताका लागि महŒवपूर्ण मानिएको प्रादेशिक रंगशाला निर्माणको लागि साउनभित्रै टेन्डर हुनेछ । २०७५ सालमा संघीय सरकारले घोषणा गरेको यो आयोजनालाई असार १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश गौरवको आयोजनाको रूपमा घोषणा गरिसकेको छ । प्रतियोगिता गर्न अबको तीन वर्षभित्र अर्थात् २०८० भित्रै रंगशाला तयार भइसक्नुपर्छ । जसका लागि पर्याप्त बजेट र काममा तदारुकता देखाउन आवश्यक छ । तर कर्णाली प्रदेश सरकारले भने आयोजनाका लागि बजेट बिनियोजनमा कन्जुस्याइँ गरेको छ । पूर्वाधार निर्माणमा पर्याप्त बजेट छैन । योजनामा खेलकुदलाई प्राथमिकता दिएको बताइएपनि बजेट विनियोजन गर्दा निकै न्यून मात्र छुट्याइएको छ । यसले सरकारको योजना र व्यवहारमा तालमेल मिल्न सकेको देखिदैन । रंगशाला मात्रै नभएर अन्य पूर्वाधारको निर्माण, सुधार र विकासमा समेत सरकारले अहिलेदेखि नै योजनावद्ध काम गर्न नसक्ने हो भने राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको सपना अधुरै रहेनछ ।
प्रकाशित मितिः २३ असार २०७८, बुधबार ०७:११
साझा बिसौनी ।