यसरी छानिन्छन् प्रतिनिधि

नेपाली कांग्रेसको १४औं महाधिवेशन आगमी भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ । अहिले देशभर कांग्रेस महाधिवेशनको माहोल छ । नेताहरू अधिवेशन केन्द्रीत गतिविधिमा सक्रिय भएका छन् ।

कांग्रेसको महाधिवेशनका लागि तल्लो तहदेखि नै प्रतिनिधि छनौट गर्नुपर्ने हुन्छ । यसका लागि क्रियाशील सदस्यहरूको भूमिका निर्णायक हुन्छ । वर्ष साउनमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यको संख्या करिब १० लाख पु¥याउने निर्णय गरेको थियो । तर क्रियाशील सदस्यताको विवाद समाधान भने भइसकेको छैन ।

विधानअनुसार वडा अधिवेशनले प्रदेशसभा क्षेत्रको अधिवेशनका लागि प्रतिनिधि छान्ने व्यवस्था छ । क्रियाशील सदस्यबाट क्षेत्रीय प्रतिनिधि चयन गर्दा समावेशी प्रणालीलाई अबलम्बन गर्नुपर्छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन गर्ने कार्यतालिका छ । वडाबाट प्रत्यक्ष चुनिएका हरेक नौ जनामा कम्तीमा तीन जना महिला हुनुपर्छ । एक सय ५० जनाभन्दा बढी क्रियाशील सदस्यता रहेको वडाबाट प्रति एक सय क्रियाशील सदस्य बराबर ६ जना थप्न सकिने व्यवस्था छ । त्यसअनुसार क्रियाशील सदस्यता एक सय ५० भन्दा बढी भएको वडाबाट क्षेत्रीय प्रतिनिधिका लागि १६ जना चुनिनेछन् ।

वडा सभापति प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि पदेन प्रतिनिधि हुने हुँदा १६ जना प्रतिनिधि कायम हुन्छन् । यसमध्ये जनसंख्याको बनोटको आधारमा दुईतिहाइ संख्या समानुपातिक आधारमा छनौट हुनुपर्छ । २० साउनमा क्षेत्रीय अधिवेशन हुने भएको छ । प्रदेशसभा क्षेत्रबाट छानिएका प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिन्छन् । प्रदेशसभा क्षेत्रबाट प्रतिनिधि छनौट गर्दा खुलाबाट १० जनामध्ये तीन जना महिला अनिवार्य छ । ६ जना समानुपातिक आधारमा छनौट हुने व्यवस्था छ । प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति पदेन प्रतिनिधि हुने व्यवस्था छ ।

प्रदेशसभा क्षेत्रबाट छानिएका प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिन्छन् । प्रदेशसभा क्षेत्रबाट प्रतिनिधि छनौट गर्दा खुलाबाट १० जनामध्ये तीन जना महिला अनिवार्य छ । ६ जना समानुपातिक आधारमा छनोट हुने व्यवस्था छ । प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति पदेन प्रतिनिधि हुने व्यवस्था छ । यसरी प्रदेशसभा निर्वाचन क्षेत्रबाट १७ जनाले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा भाग लिन पाउँछन् । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा २३ साउनमा तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा २६ साउनमा अधिवेशन गर्ने निर्णय गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले नै केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छान्छ ।

प्रत्येक प्रतिनिधिसभा क्षेत्र बराबर केन्द्रीय महाधिवेशनमा २५ जना प्रतिनिधि छानिने व्यवस्था छ । १४ जना खुला प्रतिस्पर्धीबाट आउँछन् । जसमध्ये चार जना महिला अनिवार्य हुनुपर्छ । १० जना भने समानुपातिक प्रतिनिधित्वको आधारमा छनौट हुनेछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सभापति केन्द्रीय महाधिवेशनका लागि पदेन सदस्य हुने व्यवस्था छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेको व्यक्ति प्रादेशिक अधिवेशनको पनि प्रतिनिधि हुने प्रावधान छ । प्रादेशिक अधिवेशनका लागि चयन भएको प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधिको पदमा उम्मेदवार बने प्रदेश प्रतिनिधि स्वतः रद्द हुने व्यवस्था छ । संघीयता पश्चात् प्रादेशिक संरचनाको अभ्यास कांग्रेसमा यसपटकदेखि सुरु हुँदैछ । प्रदेश अधिवेशन १ र २ भदौमा हुने गरी समय निर्धारण गरिएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष हुनुपर्ने विधानको व्यवस्था छ । साथै, प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था छ । यी दुवै प्रावधानलाई कार्यान्वयन भने गरिएको छैन ।

प्रदेशभित्रका जिल्ला सभापति प्रादेशिक अधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउने छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू प्रादेशिक अधिवेशनमा प्रतिनिधि बने पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ । विधानअनुसार केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुनुभन्दा एक वर्ष अघि नै स्थानीय तहका अधिवेशन सकिसक्नुपर्छ । प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिले गरिसक्नुपर्छ । विधानको उक्त व्यवस्था विधानमै सीमित छ । केन्द्रीय महाधिवेशन हुनु एक महिना अघि मात्रै स्थानीय तहको अधिवेशन सुरु गरिँदैछ ।

विदेशस्थित जनसम्पर्क समितिको हकमा क्रियाशील सदस्यताको संख्याका आधारमा महाधिवेशन प्रतिनिधि तय हुने व्यवस्था छ । एक सय क्रियाशील सदस्यता रहेको देशबाट जनसम्पर्क समितिको अध्यक्ष मात्रै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । पाँच सयभन्दा बढी क्रियाशील सदस्यता भएका देशबाट अध्यक्षसहित सात जनाले प्रतिनिधित्व गर्ने पाउँछन् । दुई हजारभन्दा बढी क्रियाशील सदस्य भएको देशबाट १४ जनाले केन्द्रीय महाधिवेशनमा भाग लिन पाउँछन् । क्रियाशील सदस्यता दुई हजारभन्दा बढी भएको अवस्थामा भने १४ जनाभन्दा बढी प्रतिनिधि छान्न पाइँदैन । क्रियाशील सदस्यबाट पार्टी सभापतिले बढीमा ४० जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोनित गर्न पाउँछन् । मनोनित संख्या समावेशी आधारमा हुनुपर्छ ।

भ्रातृ तथा शुभेच्छुक संस्थाले आफ्नो संगठनबाट पनि प्रतिनिधि चयन गर्ने व्यवस्था छ । ती संगठनबाट समान प्रतिनिधित्व भने हुँदैन । महिला संघ, तरुण दल, नेविसंघ, प्रजातान्त्रिक सेनानी संघ, किसान संघ, दलित संघ, नेपाल तामाङ संघ, नेपाल मगर संघबाट अध्यक्षसहित पाँच जनाले महाधिवेशनमा प्रतिनिधि बन्न पाउँछन् । नेपाल शिक्षक संघबाट सात जना प्रतिनिधि हुने व्यवस्था छ । प्रेस युनियनबाट पाँच जना र ट्रेड युनियन कांग्रेसबाट ११ जना प्रतिनिधि हुने व्यवस्था छ ।

पेशागत शुभेच्छुक संस्था प्रत्येकबाट पाँच जना प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुनेछन् । आदिवासी जनजातिसँग सम्बन्धित संगठनले ११/११ जना प्रतिनिधि पठाउन पाउँछन् । यसरी कांग्रेसको आगामी महाधिवेशन प्रतिनिधि चार हजार ५०० हाराहारी पुग्नेछन् ।

प्रकाशित मितिः   २३ असार २०७८, बुधबार ०७:२२