विपद्मा फितलो पूर्वतयारी
वीरेन्द्रनगर नगरपालिकाका सबैजसो वडा कुनै न कुनै प्राकृतिक विपद्को जोखिममा छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर खासगरी बाढी–पहिरो र कटानको जोखिममा छ । यहाँ बर्सेनि प्राकृतिक विपद्ले जनधनको क्षति हुने गरेको हो । नगरका वडा नं. २, ३, ९ र १० नं. डुबानको खतरामा छन् भने १, ४, ५, ६, ७, ८, ११ र १२ वडा बाढी र कटानबाट प्रभावित छन् ।
त्यस्तै, नगरका १३, १४, १५ र १६ नं. वडा पहिरोको उच्च जोखिममा रहेको नगरपालिकाका विपद् उपशाखा प्रमुख यामलाल गिरी बताउँछन् । हरेक वर्षजसो वर्षायाममा नगरका नागरिक विपद्को त्रासमा हुन्छन् । विपद् व्यवस्थापन गरि जिउज्यान र धनमालको क्षति न्यूनीकरण गर्न नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न लागेको जनाएको छ ।
नगरपालिकाले कर्णाली प्रदेश सरकारसँग समन्वय गरि सबैभन्दा बढी समस्या रहेको डुबान तथा कटानलाई रोकथाम गरिने बताएको छ । जसका लागि तटबन्धको काम भइरहेको गिरीले बताए । उनकाअनुसार विपद्को दीर्र्घकालीन समस्या समाधानका लागि प्रत्येक वडाहरूमा तटबन्ध गर्न तारजाली दिइएको छ । वडा नं. १ देखि ७ सम्म प्रतिवडा २० थान जाली, वडा नं. ८ देखि ११ सम्म प्रतिवडा १५ वटा जाली र वडा नं. १२ देखि १६ सम्म प्रतिवडा २५ वटा जाली मौज्दातमा राखेको छ । नगरपालिकाले प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेटसमेत तटबन्धमा खर्च गरेको छ । वीरेन्द्रनगर उपत्यकाको निकास खोलादेखि नै तटबन्धको काम सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
छैनन् ठोस कार्ययोजना
आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि वीरेन्द्रनगर नगरपालिकाले बजेट तथा कार्यक्रम ल्याइसकेको छ । आगामी वर्षका लागि नगरले विनियोजन गरेको एक अर्ब ५६ करोडको बजेट तथा कार्यक्रममा विपद् व्यवस्थापनका लागि ठोस कार्यक्रम भने ल्याएको पाइँदैन । आगामी बजेटमा विपद् व्यवस्थापनमा प्रत्येक वडा र नगरमा रहेको विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै सोको परिचालन गर्ने, नगरभित्र हुने विपद्का घटनाका लागि तत्काल राहतको प्रबन्ध गर्ने, नगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा कोभिड लगायतका महामारी समेट्ने उल्लेख छ । विपद् प्रतिकार्य टोली गठन गरि उनीहरूको क्षमता विकास गर्न तालिम दिने तथा गैरसरकारी निकाय तथा संघ–संस्थाहरूसँग समन्वय गर्ने गरि नगरले कार्यक्रम ल्याएको छ ।
त्यस्तै, सम्भावित विपद्सँग आवश्यक औजारसहितको संयन्त्र निर्माण गर्नुका साथै विभिन्न पूर्वसूचना प्रणाली स्थापनाका लागि प्रदेश सरकार तथा सरोकारवाला संस्थाहरूसँग हातेमालो गरिने, आपत्कालीन केन्द्र सञ्चालन र राहत सामग्री भण्डारण केन्द्र स्थापना गर्ने बताइएको छ । विपद्का लागि उत्थानशील नगर निर्माणका लागि आवश्यक नीति तथा योजना निर्माण, विद्यालय, टोल, वडा तथा नगरतहका विपद्सँग सम्बन्धित संरचनाहरूको क्रियाशीलता बढाइने आगामी नीतिमा उल्लेख छ ।
वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले विपद्मा नागरिकहरूलाई सुरक्षित राख्नुको साथै दीर्घकालीन समस्या समाधानको खोजीमा लागेको बताए । उनले हाल वडा नं. ९ मा रहेको निकास खोलामा करिब पाँच सय मिटर तटबन्ध भइसकेको जानकारी दिए । निकास खोला, खोर्के खोला तथा इत्राम खोलामा तटबन्धको काम गर्ने योजना नगरपालिकाको रहेको उनी बताउँछन् । वडास्तरबाट समेत विपद्मा परेकाहरूलाई उद्धार, राहत लगायतका कार्यक्रम सञ्चालन गरिने गरिएको उनले सुनाए ।
विपद् प्रतिकार्य योजना निर्माण गरेरै काम अगाडी बढाएको नगर उपप्रमुख मोहनमाया ढकाल बताउँछिन् । नगरपालिकाले हरेक वर्ष विपद्का लागि आवश्यक पूर्वतयारी गरेको दाबी गर्दै आएपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको भने देखिदैन । वीरेन्द्रनगर उपत्यकाको दक्षिणी भू–भाग थोरै वर्षा हुँदा पनि डुबानमा पर्छ भने उत्तर, पूर्व र पश्चिममा बाढी तथा पहिरोले क्षति गर्दै आएको छ । उपत्यकाको दक्षिणी भागमा सालैपिच्छे डुबानको त्रास हुन्छ । बर्खाको समयमा उपत्यका र आसपासका साना खोलाहरूमा पानीको सतह बढेपछि निकास थुनिने गरेको छ । साँघुरो निकासका कारण पानी सहज रूपमा बग्न नपाउँदा तल्लो तटीयक्षेत्र डुबानमा पर्ने गरेको छ ।
प्रकाशित मितिः १९ असार २०७८, शनिबार ०५:०५
साझा बिसौनी ।