९६ जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ९६ जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शुक्रवार चार सय एक जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण फेला परेको हो । पछिल्ला दिनमा संक्रमण दरमा केही कमी आएपनि दैनिक ८० देखि एक सय जना हाराहारीमा संक्रमण पुष्टि हुँदै आएको छ ।

शुक्रवार सुर्खेतमा २८, रुकुम–पश्चिममा २०, जाजरकोटमा १३, मुगुमा १०, कालीकोटमा सात, सल्यानमा ६, हुम्लामा चार र कर्णालीमा रहेका तर अन्य प्रदेशका एक जनामा संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २८ हजार तीन सय ८७ पुगेको छ । त्यसमध्ये २५ हजार आठ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । शुक्रवार एक सय जना संक्रमणमुक्त भएका हुन् । कर्णालीमा कोरोना संक्रमणका कारण तीन सय २९ जनाको ज्यान गएको छ । पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यद्यपि, कोरोना संक्रमणको जोखिम कायम रहिरहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकहरूले सुझाएका छन् ।

यस्तै, नेपालमा शुक्रवार दुई हजार दुई सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० हजारभन्दा तल झरेको छ । शुक्रवार थप तीन हजार चार सय ५१ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार दुई सय ७४ मा झरेको हो । अहिलेसम्म ६ लाख तीन हजार ६ सय जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै थप ३४ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान जानेको संख्या नौ हजार एक सय ७९ पुगेको छ ।

प्रकाशित मितिः   १९ असार २०७८, शनिबार ०५:०१