सञ्चारसँग जोडिदै विकट बस्ती

जुम्ला: कर्णालीका विकट बस्तीहरूमा सञ्चारको पहुँच विस्तार भएको छ । कुनैबेला सूचना आदान–प्रदान गर्न चिठी–पत्रबाहेकको विकल्प नभएका बस्तीहरूमा अहिले मोबाइल फोन सेवा पुगेको हो । पछिल्लो समय दुर्गमका गाउँहरू विस्तारै सञ्चारका माध्यमसँग जोडिदै गएका हुन् । सञ्चार सुविधा पुगेपछि त्यहाँका नागरिकहरूलाई खबर आदान–प्रदानमा सहज भएको छ ।

मुगुसँग सीमाना जोडिएको जुम्लाको कनकासुन्दरी गाउँपालिकामा मोबाइल फोन सेवा पुगेको छ । मोबाइलबाट आफन्तसँग खबर साटासाट गर्न पाएपछि स्थानीयहरू खुसी भएका छन् । जुम्लाको खलंगा पुग्न झन्डै एक दिन लाग्ने कनकासुन्दरीका मालिकाबोला, लेकपुर, नेटा, चौथा, न्याउरीगाड लगायतका विकट बस्ती सञ्चारको पहुँचमा पुगेका हुन् । मालिकाबोला र मर्फान्नामा नेपाल टेलिकमको टावर बनेपछि डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता हटेको स्थानीय रूपा बुढाले बताइन् । ‘पहिला आफन्तसँग कुराकानी गर्न घण्टौं हिँडेर डाँडाकाँडा चढ्नु पथ्र्यो, अहिले घरदैलोमै टावर आउँछ,’ उनले भनिन् ।

अध्ययन र जागिरका लागि सहरमा रहेका आफन्त, रोजगारीका लागि कालापहाड हानिएका र अन्य शिलशिलामा घरबाहिर रहेकाहरूसँग अहिले संवाद गर्न सहज भएको स्थानीय गोबिन्द बुढाले बताए । उनी भन्छन्, ‘विगतमा गाउँमा पढेलेखेका कमै हुुन्थे । कसैलाई सूचना र खबर गर्न गाउँबाट मौखिक जानकारी लिएर रैवारे पठाउनु पथ्र्यो । पछि विस्तारै चिठीको प्रयोग हुन थाल्यो, अहिले सबैका हातहातमा मोबाइल छन्, आवश्यक परेको बेला सहजै कुराकानी गर्न सकिन्छ ।’ परदेशको खबर पाउन महिनौ कुर्नुपर्ने दिन अब नरहेको उनको भनाइ छ ।

केही वर्ष पहिलेसम्म कर्णालीमा परदेश गएकाहरू चैतमा फर्किसक्नु पथ्र्यो । चैत महिना मार्सी धान खेती आरम्भ गर्ने समय भएकोले चैतमा घर नपुगे मृत्यु भयो भनेर अड्कल काटिन्थ्यो । घरखर्च जुटाउन कालापहाड पुग्नेहरू अहिले दिनहुँजसो फोनबाटै गाउँघरको खबर सोधपुछ गरिरहन्छन् ।

कर्णालीका विकट जिल्लाका बस्तीहरूमा अहिले सडक, सञ्चारजस्ता सुविधा पुगेका छन् । एक पछि अर्को बस्ती सञ्चारको सुविधा लिने क्रममा रहेको कनकासुन्दरी गाउँपालिका–२ का अध्यक्ष शेरबहादुर रावतले बताए । उनका अनुसार कनकासुन्दरी गाउँपालिकाका दर्जनौं गाउँ चालु आर्थिक वर्षमा सञ्चारको पहुँचमा जोडिएका छन् । वि.सं. २०६४ सालमा कनकासुन्दरीको चौथामा टावर निर्माणका लागि सर्भे भयो, तर एक दशकसम्म पनि निर्माण भएको थिएन । कनकासुन्दीका स्थानीयले निरन्तर खबरदारी गरेपछि गत वर्षको कार्तिकदेखि स्थानीयले फोन सुविधा प्रयोग गर्न पाएका हुन् ।

अझैं पनि जुम्लाको तातोपानी, तीला, पातारासी, हिमा गाउँपालिका लगायतका स्थानीय तहका बस्तीहरू मोबाइल फोनको सुविधााट वञ्चित छन् । ‘अहिलेको विकास र प्रविधिको युगमा पनि सञ्चारविहीन हुनु विडम्बना हो,’ तातोपानी गाउँपालिका–७ का स्थानीय गोरखबहादुर रावतले भने, ‘हाम्रो क्षेत्रका झन्डै एक दर्जन गाउँमा फोन सुविधा पनि छैन ।’

प्रकाशित मितिः   १८ असार २०७८, शुक्रबार ०५:०२