९१ प्रतिशतले जिते कोरोना

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस ‐कोभिड–१९) संक्रमण भएकामध्ये ९१ प्रतिशत निको भएका छन् । प्रदेशमा अहिलेसम्म २७ हजार नौ सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २५ हजार चार सय ४३ जना संक्रमणमुक्त भएका हुन् । कूल संक्रमितमा ९१ प्रतिशतले कोरोना जितेको निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

कर्णालीमा पछिल्लोे दुई सातायता कोरोना संक्रमण दर ओरालो लागेको छ । अहिले दैनिक पुष्टि हुने संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको हो । निर्देशक डा. खड्का भन्छन्, ‘नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ ।’ उनले संक्रमणमुक्त हुनेहरूको संख्या धेरै हुँदा संक्रमितहरूको आत्मबल पनि बढेको पाइएको जनाए । केही दिनयता मृत्यु दरमा समेत कमी आएको छ । प्रदेशमा आइतवारसम्म तीन सय आठ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट प्रदेशमा सबैभन्दा ठूलो मानवीय क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा एक सय ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमित भएका सल्यानका ५०, रुकुम–पश्चिमका २९, दैलेखका २२ र जुम्लाका आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै, डोल्पामा पाँच, कालीकोटमा चार, मुगु र जाजरकोटमा तीन–तीन जनाको मृत्यु भएको छ । हुम्लाका दुई र कर्णालीमै रहेका अन्य प्रदेशका चार जनाको पनि कोरोनाबाट ज्यान गएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा आइतवार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक सय ८४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा एक हजार एक सय १७ सक्रिय संक्रमित छन् ।

प्रकाशित मितिः   १४ असार २०७८, सोमबार ०५:००