‘पत्रकार महिलाका सवाल सम्बोधन गर्छाैं’

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारले बनाउने आमसञ्चार नीतिमा पत्रकार महिलाहहरूको सवाललाई सम्बोधन गरिने बताएकी छन् । मन्त्री नेपालीले शनिवार मन्त्रालयको आयोजना र सञ्चारिका समूह कर्णाली प्रदेशको सहजीकरणमा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चार नीतिमा पत्रकार महिलाहरूका सवाललाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेकी हुन् । ‘प्रदेशले प्रसारण ऐन निर्माण गरिसकेको छ । आमसञ्चार विधेयक पनि संंसद्मा टेबुल भएको छ,’ उनले भनिन्, ‘अब सञ्चार नीति बन्ने छ र तपाईंहरूका सवालको सम्बोधन गरिने छ ।’

प्रदेशमा रहेका सञ्चारमाध्यम र पत्रकारहरूका लागि विभिन्न कार्यक्रम ल्याएकाले पत्रकार महिलाहहरूलाई त्यसले पनि सहयोग पुग्ने उपेक्षा मन्त्री नेपालीले व्यक्त गरिन् । उनले आगामी नीति–कार्यक्रम र बजेटमा सरकारले कल्याणकारी कोष, कल्याणकारी बजेट, पत्रकार महासंघका लागि पूर्वाधार सहयोग तथा पत्रकारहरूलाई छात्रवृत्तिलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिएको जनाइन् ।

कार्यक्रममा सञ्चारिका समूह कर्णाली प्रदेशकी अध्यक्ष टीका विष्टले पत्रकार महिलाहरूलाई पेशामा टिकाइराख्न र उनीहरूको नेतृत्व क्षमता विकास गर्न सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । उनले सञ्चार नीति र पत्रकार महिलाहरूको सवालका बारेमा प्रस्तुति राखेकी थिइन् । कार्यक्रमका सहभागीहरूले प्रदेश सरकारले बनाउने सञ्चार नीतिमा पत्रकार महिलाहरूलाई प्रोत्साहन गर्ने, उनीहरूले सञ्चालन गरेका सञ्चार माध्यमलाई सहुलियत प्रदान गर्ने, आवश्यक अनुदानलगायतका विषयहरूलाई समेट्नुपर्ने सुझाएका थिए । अन्तरक्रिया कार्यक्रममा सुर्खेतस्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १३ असार २०७८, आईतवार ०५:०२