बढ्दो हेलचक्य्राइँ

गत वैशाखदेखि गरिएको निषेधाज्ञा कायमै छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर स्थानीय प्रशासलने निषेधाज्ञा घोषणा गरेको हो । उक्त निषेधाज्ञाको म्याद पटकपटक थप गर्दै दुई महिना बितिसकेको छ । अहिले केही खुकुलो बनाइएको छ । पूर्णरूपमा बन्द रहेको बजारलाई निश्चित समय निर्धारण गरेर खुलाइएको छ । नागरिकलाई हिँड्डूलमा पहिलेजस्तो कडाइ गरिएको छैन । तर निषेधाज्ञा खुकुलो भएसँगै लापरबाही पनि बढेको छ । बढ्दो लापरबाही र हेलचक्य्राइँले कोरोना संक्रमणको जोखिमलाई थप बढाएको छ ।

अहिले लगभग सबै क्षेत्र खुकुलो पारिसकिएको छ । विद्यालय र सार्वजनिक यातायातबाहेक करिव सबैजसो क्षेत्रका गतिविधि सामान्य बन्दै गएका हुन् । बजार खुलेका छन् भने सेवाग्राहीको चाप हुने सरकारी कार्यालय र वित्तीय संस्थाहरूले समेत नियमित सेवा दिन थालेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै बजार तथा सार्वजनिक क्षेत्रहरूमा चहलपहल ह्वात्तै बढेको छ । सतर्कता भुलिएको छ । संक्रमणको जोखिम कायमै रहेका बेला मानिसहरूले स्वास्थ्य सुरक्षामा फेरि बेवास्ता गर्न थालेका हुन् । बजारको भिडभाड र हेलचक्य्राइँ हेर्दा संक्रमण पुनः बढ्ने जोखिम रहेको जनस्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना जोखिम टरिनसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उनीहरूले सुझाएका छन् । तर, आमसर्वसाधारण भने संक्रमणको जोखिम भूलेर भिडभाडमा समेत सतर्क बनेको देखिँदैन । सुरक्षा सावधानीविनै बजार र सार्वजनिक स्थलहरूमा बाक्लो भिडभाडका दृश्यहरू देखिन थालेका छन् । त्यति मात्र होइन निषेधाज्ञाकै बीचमा आन्दोलन र ¥यालीहरू गर्न थालिएको छ । स्थानीय प्रशासनले अझैं पनि जन्म–मृत्यु र विवाहजस्ता संस्कारमा १५ जनाभन्दा कम मात्र सहभागी हुन पाइने बताए पनि सडकमा भने आन्दोलनका कार्यक्रम हुने गरेका हुन् । स्थानीय प्रशासन आफैँले जारी गरेको आदेशको अवज्ञा हुँदा पनि मुकदर्शक बन्ने गरेको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सार्वजनिक स्थलमा हुने भिडभाडका गतिविधिप्रति नजरअन्दाज गर्न थालेको छ ।

वीरेन्द्रनगर बजारक्षेत्रमा खासगरी बढी चहलपहल छ । बजार खुलेपछि किनमेल गर्नेको भिड पनि बाक्लो देखिन्छ । उनीहरूले संक्रमणको खतरालाई ख्याल गरेको पाइँदैन । लामो समय बन्दाबन्दीले घरमै थन्किएका मानिसहरू निषेधाज्ञा ‘लुज’ भएसँगै अटेरी गर्न थालेका छन् । भौतिक दूरी कायम तथा मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्रीको प्रयोग नगर्ने प्रवृत्ति बढ्दो छ । सतर्कता घटेको छ । विगतमा पनि करिव चार महिना लामो लकडाउन गरिएको थियो । जब लकडाउन हटाइयो पुनः दोस्रो लहर फैलियो । अहिलेको लापरबाहीले फेरि संकट निम्त्याउनेतर्फ न आम नागरिकले ध्यान दिएका छन् न सम्बन्धित निकायले नै ख्याल गरेका छन् । पछिल्लो समय संक्रमण दरमा कमी आए पनि जोखिम उस्तै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प नरहेको चिकित्सकहरू बताउँछन् । तर सहरीक्षेत्रमा भिडभाड बढ्दो छ, यसले कोरोना संक्रमण फैलिने सम्भावना धेरै छ । यस्तो हेलचक्य्राइँ नियन्त्रण गर्न जरुरी छ ।

प्रकाशित मितिः   १४ असार २०७८, सोमबार ०५:००