जोखिम छँदै हेलचक्य्राइँ

सुर्खेतमा झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा कायमै छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ‘चेन ब्रेक’ गर्न जारी गरिएको निषेधाज्ञा पछिल्लो समय खुकुलो बनाउँदै लगिएको छ । अहिले लगभग सबै क्षेत्र खुकुलो पारिसकिएको छ । बजार खुलेका छन् भने सेवाग्राहीको चाप हुने सरकारी कार्यालय र वित्तीय संस्थाहरूले समेत नियमित सेवा दिन थालेका छन् । विद्यालय र सार्वजनिक यातायातबाहेक करिव सबैजसो क्षेत्रका गतिविधि सामान्य बन्दै गएका हुन् । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै वैशाख १४ गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै बजार तथा सार्वजनिक क्षेत्रहरूमा चहलपहल ह्वात्तै बढेको छ । सतर्कता भुलिएको छ । संक्रमणको जोखिम कायमै रहेका बेला मानिसहरूले स्वास्थ्य सुरक्षामा फेरि बेवास्ता गर्न थालेका हुन् । बजारको भिडभाड र हेलचक्य्राइँ हेर्दा संक्रमण पुनः बढ्ने जोखिम रहेको जनस्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना जोखिम टरिनसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उनीहरूले सुझाएका छन् । तर, आमसर्वसाधारण भने संक्रमणको जोखिम भूलेर भिडभाडमा समेत सतर्क बनेको देखिँदैन । सुरक्षा सावधानीविनै बजार र सार्वजनिक स्थलहरूमा बाक्लो भिडभाडका दृश्यहरू देखिन थालेका छन् । त्यति मात्र होइन निषेधाज्ञाकै बीचमा आन्दोलन र ¥यालीहरू गर्न थालिएको छ । स्थानीय प्रशासनले अझैं पनि जन्म–मृत्यु र विवाहजस्ता संस्कारमा १५ जनाभन्दा कम मात्र सहभागी हुन पाइने बताए पनि सडकमा भने आन्दोलनका कार्यक्रम हुने गरेका हुन् । स्थानीय प्रशासन आफैँले जारी गरेको आदेशको अवज्ञा हुँदा पनि मुकदर्शक बन्ने गरेको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सार्वजनिक स्थलमा हुने भिडभाडका गतिविधिप्रति नजरअन्दाज गर्न थालेको छ ।

कर्णाली प्रदेशको राजधानीसमेत भएकाले वीरेन्द्रनगर बजारक्षेत्रमा खासगरी बढी चहलपहल छ । बजार खुलेपछि किनमेल गर्नेको भिड पनि बाक्लो देखिन्छ । उनीहरूले संक्रमणको खतरालाई ख्याल गरेको पाइँदैन । लामो समय बन्दाबन्दीले घरमै थन्किएका मानिसहरू निषेधाज्ञा ‘लुज’ भएसँगै अटेरी गर्न थालेका छन् । भौतिक दूरी कायम तथा मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्रीको प्रयोग नगर्ने प्रवृत्ति बढ्दो छ । सतर्कता घटेको छ ।

कर्णाली प्रदेशमा पहिलोभन्दा दोस्रो लहरको संक्रमणले ठूलो मानवीय क्षति ग¥यो । वैशाख मध्यतिर उच्च विन्दुमा रहेको संक्रमण दर जेठ मध्यतिरबाट घट्दै गएको छ । प्रदेशमा वैशाखमा संक्रमणदर ९८ प्रतिशतसम्म पुगेको थियो भने दैनिक १०–१२ जनाको मृत्यु हुन्थ्यो । असार लागेयता संक्रमण र मृत्युदर दुवैमा कमी आएको हो । तर, जोखिम भने अझैं टरिसकेको छैन । पछिल्लो साता कर्णालीमा कोरोना संक्रमण दर २४ प्रतिशत रहेको छ । संक्रमण दरमा कमी आए पनि जोखिम उस्तै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प नरहेको चिकित्सकहरू बताउँछन् । निषेधाज्ञा खुकुलो पारिएपछि सहरीक्षेत्रमा भिडभाड बढ्दो छ । यसले कोरोना संक्रमण फैलिने सम्भावना धेरै रहेको चिकित्सकहरूको भनाइ छ ।

सुर्खेत प्रदेशमै कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । यहाँ अहिले पनि एक हजार हाराहारीमा सक्रिय ‘केस’ छन् भने १० हजार बढी संक्रमित भइसकेका छन् । कर्णालीमा हालसम्म तीन सय सात जनाको मृत्यु हुँदा सुर्खेतका मात्र एक सय ७७ जनाको कारोना संक्रमणका कारण ज्यान गएको छ । प्रदेशमा अहिलेसम्म २७ हजार आठ सय ४६ जना संक्रमित भएका छन् । त्यसमध्ये २५ हजार दुई सय ५९ जना संक्रमणमुक्त भइसकेका छन् । कर्णालीमा अझैं दुई हजार दुई सय ८० सक्रिय संक्रमित छन् ।

पछिल्लो समय अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको छ । कोरोना संक्रमितको उपचार गर्दै आएको कर्णालीकै ठूलो प्रदेश अस्पतालमा भर्ना हुनेको संख्या पहिलेको तुलनामा निकै कम छ । प्रदेशभर अहिले १७ जना संक्रमित उपचाररत छन् । प्रदेशभर १२ जनाको आईसीयू र दुई जनाको भेन्टिलेटमा उपचार भइरहेको हो ।

तेस्रो लहरको तयारी

संक्रमणको दोस्रो लहर नियन्त्रणउन्मुख भएसँगै अब तेस्रो लहर आउन सक्ने र त्यसका लागि सरकारले तयारी थाल्नुपर्ने विज्ञहरूले सुझाएका छन् । उनीहरूका अनुसार अब आउन सक्ने संक्रमणको लहरले बालबालिकाहरूलाई बढी प्रभावित गर्ने छ । तेस्रो लहरको पूर्वतयारीका लागि जिल्लास्थित अस्पतालहरूलाई अहिलेदेखि नै २० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याएर राख्न पत्राचार गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापनदेखि प्लान्ट निर्माणका कामहरू पनि अघि बढाइएको छ । दोस्रो लहरमा अक्सिजन अभाव धेरै भोगेकोले अक्सिजन प्लान्ट जडानमा जोड दिएको उनले बताए ।

सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिका तथा कालीकोटमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रक्रिया अघि बढाइएको निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पनि कोरोना नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मितिः   १३ असार २०७८, आईतवार ०५:००