स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कांगे्रस महामन्त्री एवम् पूर्वगृहमन्त्री खड्काले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा आवश्यक स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेका हुन् । शुक्रवार कर्णाली प्रदेश अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर, १० थान अक्सिजन फ्लोमिटर, १० थान पल्सअक्सिमिटर, १० जर्किन सेनिटाइजर र सात हजार पाँच सय पिस मास्क हस्तान्तरण गरिएको हो । त्यस्तै, नेता खड्काकै पहलमा प्रदेश अस्पताललाई १० लिटर क्षमताका अक्सिजन कन्सेन्ट्रटर नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले पनि प्रदान गरेको छ ।

कोरोना महामारीलाई लक्षित गरेर महामन्त्री खड्काले अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काले बताए । यस्तै, प्रदेश अस्पताललाई शुक्रवार नै एक्सपोर्ट फाउण्डेसनले एक थान अक्सिजन कन्सेन्ट्रटर दिएको छ । अक्सिजन कन्सेन्ट्रटर हस्तान्तरण गरेको फाउण्डेसनका निर्देशक सुनिल खड्काले जनाए ।

यसैबीच, कर्णाली प्रदेश अस्पतालले शुक्रवार सञ्चारकर्मीहरूसँग अन्तक्रिया गरेको छ । अस्पताल प्रशासनले हाल प्रदान गरिरहेका सेवा र अस्पतालका बारेमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम गरेको हो । सो अवसरमा अस्पताल निर्देशक डा. खड्काले पछिल्लो समय प्रदेश अस्पतालले विशेषज्ञ तथा गुणस्तरीय सेवा प्रवाह गरिरहेको जनाए । भौतिक पूर्वाधार, जनशक्ति र उपकरणहरू थपिँदै गएकाले स्वास्थ्य सेवा गुणस्तरीय बन्दै गएको उनले बताए ।

प्रकाशित मितिः   १२ असार २०७८, शनिबार ०५:०३