अविरल आँसु
तनको घाउ ओइलाउँछ, पुरानो हुन्छ, खाटा बस्छ, विस्तारै निको हुन्छ । मनको घाउ सित्ती निको हुन्न, वर्षौं लाग्छ । सम्झनामा ठेस लाग्यो भने फेरि आलो भएर बल्झिन्छ । जीवनका लागि ओत दिने छत वा छानो हुन्छ, आड दिने भित्ता हुन्छन्, भित्र जाने–आउने दैलो हुन्छ, हेर्ने झ्याल हुन्छन् तब घर हुन्छ ।
घरले जाडो छेकेर न्यानो दिन्छ, गर्मी छेकेर शीतल दिन्छ । साँझ–बिहान चुल्होमा आगो बलेर अन्न पाक्छ, भोक मेटाउँछ । मनमा चोट लाग्दा भित्तामा अडेस लागेर चुपचाप सहन पाइन्छ । पीर व्यथा जति भए पनि आमाको काख झैं प्यारो ओछ्यान हुन्छ, निदाउन्जेल शोक मेटाउँछ । कसैका बाबुआमा धर्तीमा होलान् कसैका नहोलान्, कसैका छोराछोरी साथमा हुनन् कसैका नहुनन् । तर धर्तीमा प्रायः सबैको आफ्नो घर हुन्छ, ठेगाना हुन्छ । कहिल्यै बहुलाएर नियतिले घर ठेगाना मेटिदिए के हुन्छ ? बेघर हुन्छ जीवन, सर्वनास हुन्छ, कल्पनाभन्दा परैपर जान्छ, मान्छेको अवस्था सडकको बास हुन्छ ।
अविरल वर्षाको कारण यही असार महिनाको पहिलो हप्ता देशको विभिन्न भागमा धनजनको अपुरणीय क्षती भयो । सिन्धुपाल्चोकमा इन्द्रावती र मेलम्ची नदि सँगै उर्लिएर ताण्डव रूप देखाए । मनमोहक बस्ती हेलम्बु र मेलम्चीमा पसेर भीषण बाढीले वितण्डा मच्चायो । कति चौपाया, धनमाल र व्यवसाय बगायो, उन्नति–प्रगति गर्ने कति कर्मठ जीवनहरूलाई बेपत्ता बनायो । मुरीका मुरी धान फल्ने खेत बगायो, कैयौं घर बगायो, सयौं परिवारलाई बेघर बनायो ।
दाम्लाका बस्तुभाउलाई फुकाउने उछार पाएनन्, उर्लंदो उन्मत्त बाढीमा उद्धार गर्न सकेनन् । हेर्दाहेर्दै सोहोरेर बगायो चौपायाहरू । कराउँदै र उद्धारको गुहार माग्दै बगिरहेका निरिह पशुलाई लाचार हुँदै हेरिरहन विवश भए मान्छेहरू, हे ईश्वर ! हे भगवान ! भन्दै रुँदै चिच्याए तर नियतिले सुनेन ।
जुरुक्क उचालेर घर लग्यो, मानौ कतै ठाउँसारी गरेको हो, केहीछिन बगाएर घरलाई भल्खाँडामा भाँच्यो, तोडफोड ग¥यो । टुक्राटुक्रा पा¥यो, चपाउँदै लग्यो । रगत–पसिना मिसाएर बनाएको घर, बैंकसँग ऋण मागेर थपेको तला, जीवनको लक्ष्य एउटा घर । आँखा अगाडिबाट उक्काइ लग्यो, अविरल आँसु झार्दै, अत्तालिदै भगवान पुकार्नु बाहेक केही गर्न सकेन कसैले । घर मात्र बगेको हो र ! घरसँग सपनाहरू बगे, सपनासँग भविष्य पनि त बग्यो ।
तुरुन्तै फर्की आएर खाना खाने भन्दै माछा पोखरीमा बाढीको पानी थुनेर तर्काउँदै माछा जोगाउन गएका एकजना स्थानीयबासीलाई अकस्मात् आएको बाढीले हुत्याएर पल्टायो । अवश्य उठ्ने प्रयत्न गरे होलान्, फेरि पछा¥यो । घिच्याउँदै लग्यो आफ्नो यात्रामा सामेल बनायो । यता घरमा पाकेको खाना पस्केर खान बाँकी छ, श्रीमती र छोराले बाटो हेरिरहेका छन् । अब ती व्यक्ति एकछिन पछि आउंँदैनन । भरे आउँदैनन्, भोलि आउँदैनन् र आउँदै आउँदैनन् कहिल्यै पनि । नआउनु थियोे र आउँछु भनी ढाँटेर गए । श्रीमतीको मनमा के बित्यो होला ! कति जोडले धडकियो होला छातीभित्र पीर । कति निर्दयी हुन्छ नियति !
स्थानीय एकजना सज्जनले बाढीको ज्यादतीमा मेलम्चीको भाग्य पुछिएको कुरा गर्दागर्दै घाँटीमा पीर अड्केर गला अवरुद्ध भयो । बन्द भए ओठहरू, फुट्नै सकेनन् वाक्यहरू । आँखाबाट उम्रदै बग्दै बोल्न थाले आँसु । यस्तो दुर्दशा आउला भनी कतै कहिल्यै कल्पना नगरेको, रत्तिभर दया नराखी दैवीप्रकोपले बस्तीलाई बगरमा परिणत गरिदिएको र आफ्नो कमाइ धन्दाले सहजै रोजिरोटी चलेकाहरूलाई सडकमा झारिदिएको दुखेसो पोखे मौन आँसुले । मौनता पनि घत लाग्दा र गहिरा अर्थ हुन्छन् भाव हुन्छन् । जसले नबोलेर नै मनका कैयन कुरा बयान गर्छन् ।
सरकार हामी सडकमा आयौं, गास–बासको व्यवस्था मिलाइ पाउँ । मलाई जेनतेन खान पुग्ला तर यी गरिबहरू भोकभोकै नमरुन् । आधा शताब्दी उमेर पार गरेका, नियतिको खेलमा सर्वस्व गुमाएका ती पीडित पुरुषले हात जोड्दै सहयोगको याचना गरेको कारुणिक दृश्यले मन चिरेर साह्रै विदीर्ण बनायो । कति गरुँगो हुन्छ आँसुको ओजन जो परेलाले थाम्न सक्दैन । मान्छेको आँसुमा कत्रो तागत हुन्छ हेर्नेका आँखालाई पनि जलमग्न बनाइदिन सक्छ । यसरी नियतिसँग हारेका ती नागरिकहरू खुला आकाश मुनी मेलम्चीको बगरमाथी कसरी बास बस्नु ? जानू त कहाँ जानू पृथ्वीमा अर्को नेपाल छैन, यति प्यारो र निष्ठुरी अर्को मेलम्ची पनि त छैन ।
यो दैवी प्रकोपले वितण्डा मच्चाएको समय काललाई उचित मौकाको रूपमा लिएर कसै–कसैले पीडितका नाममा, ठाँउठाउँमा चन्दा संकलन गर्ने गरेका नमिठा खबर पनि बराबर आइरहन्छन् । मानवीय समवेदनालाई भजाएर आफ्ना स्वार्थसिद्ध गरिने त्यस्ता कामकारबाहीले कतै प्रश्रय पाउनु हुँदैन । देशबासीको साइनो र सम्बन्ध देशकै मायाले त गाँसिएको हुन्छ, यस्तो कठिन घडीमा मद्दत र सहयोग नगरे कहिले गर्ने ? स्वतः स्फुर्तरूपमा भावना जागृत भएर पीडितका नाममा चन्दा उठाउनु कसरी नराम्रो काम हो ? कसैले गर्न खोजेको यति पवित्र र पूण्य कर्मको किन विरोध गर्नु ? मन मनमा यस्ता तमाम जिज्ञासा उठ्न सक्छन् । यिनै जिज्ञासा मेट्न विगत कालका दैवीप्रकोपको घटना र प्रशंग उठाउन वान्छनीय देखिन्छ । देशको विभिन्न भू–भागमा भूकम्प बाढी र पहिरो जाँदा ठाउँ ठाउँमा यसैगरी चन्दा संकलन गरियो । संकलित चन्दा रकम वास्तविक पीडितले नपाएका खबर पनि आए । चन्दा संकलन गर्ने व्यक्तिहरूको कतै पहिचान भएन । रकम कति थियो हिसाबकिताब पनि कतै भेटिएन । विगतका केही यस्ता तिता अनुभूति छन् ।
पवित्र भावनाले असल मनका कतिपय समाजका प्रतिष्ठित व्यक्तिहरू यो शुभ कर्ममा जुट्नुभएको पनि होला, त्यस्ता मनकारी स्वजनहरूको मर्ममा चोट पु¥याउने यो आलेखको मनसाय पनि होइन । तर यिनै कामलाई अनुसरण गर्दै भित्री मनमा कालो उदेश्य राखी अन्य व्यक्ति वा समूहले पनि फेरि चन्दा संकलन गर्न थाले भने विगत कालमा झैं सहि सदुपयोग हुन मुस्किलै देखिन्छ । यसरी चन्दा संकलन गरिनु सायद कानुनसंगत पनि होइन । मनमा दया उठेर पीडितलाई सहयोग गर्ने इच्छा जागृत भएका मनकारी व्यक्ति, वर्गले बैंक मार्फत तोकिएको खातामा वा सरकारले निर्दिष्ट गरे बमोजिम सहयोग प्रदान गर्न सकिने कुरा त्यति असजिलो पनि छैन । यसो हुँदा चन्दादाताले दिएको रकम सदुपयोग भए÷नभएको बुझ्न, पीडित पक्षले प्राप्त गर्ने संकलित रकमको हिसाब सजिलै हेर्न सकिन्छ र सबै थोक छर्लङ्ग पारदर्शी पनि हुन्छ ।
वर्षौं वर्षदेखि वर्षायामको यस्तो महाविपत्ती व्यहोर्न हामी अभिशप्त छौं । देशमा पटकपटक परिवर्तन आयो, फिता चप्पल लगाएर सिंहदरबार पसेकाहरू नेता भए, मोटाए र फर्कंदा मोटर चढ्ने हैसियत बनाए । सबै दलका नेताले पालैपालो यसै गरे, कमाए, खाए । जो आए पनि गए पनि भूइँमान्छेका जिविकोपार्जन र आधारभूत आवश्यकताका कुरा जस्ताको त्यस्तै रहे ।
सुकुम्बासीका चिनारीले खोला किनारमा बस्ने समुदायलाई राजनीतिले भोट बैंकको रूपमा हेरिरहेका कारण कुनै सरकारले उनीहरूलाई अन्यत्र कतै पुनःस्थापन गर्ने प्रयत्न गर्दैन । नदी किनारै किनारबाट तानिएको मोटर बाटाको दायाँबायाँ व्यवसायीक दृष्टिकोणले निर्बाध घर–कटेरा निर्माण भैरहेको अवस्थामा सरकारले रोक्ने छेक्ने जाँगर गर्दैन । अधिकांश गाउँपालिका र नगरपालिका पदाधिकारी वा निजका नातागोताले डोजर खरिद गरेका छन् । भू–बनोट, माटाको प्रकार वा अवस्थाको थोरै ज्ञान नलिइ, ओभरसिएर–इन्जिनियरको रत्तिभर प्रवाह नगरी मनपरि ढङ्गले डोजर चलाउँदै प्रत्येकको आँगनमा बाटो लगेर विकास गरिएको छ । त्यो विकासले घरीघरी भूक्षय निम्ताईरहेको छ, त्यसमा पनि सरकारले अनदेखा गरिरहन्छ ।
राजनीतिको गति जता मोडिए पनि राज्यलाई कर तिर्ने ती जनताले यतिखेर बिचल्ली पर्दा सरकारसँग राहतको अपेक्षा नराखे कोसँग राख्ने ? नीति नियम छँदै छन्, निष्पक्ष रूपमा लागू गरेर उल्लेखित बेथिति रोक्दै गए देशमा जनमुखी सरकार छ भन्ने विश्वास पैदा हुन्छ । गास–बासको व्यवस्था मिलाइ बाढीपीडितलाई उचित राहत दिनु जनमुखी सरकारको मुल दायित्व हो । सरकार पन्छिन मिल्ने छैन ।
प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०५:०४
साझा बिसौनी ।