काँक्रेविहारः चर्चा ज्यादा, काम कम
दिनेश गौतम- |
हामी सुर्खेतकै बासिन्दाहरू वर्षमा कति पटक काँक्रेविहार जान्छौं ? सायदै जान्छौं होला । विरलै जान्छौं, त्यो पनि बाहिरबाट आएको कोही कसैले काँक्रेविहारको बारेमा सुनेको होस् र उसको आग्रहको कारण मात्र हामी बाध्य भएर काँक्रेविहार जान्छौं । अथवा शिवरात्रीको दिन काँक्रेविहारको नजिकै पर्ने शिवमन्दिर दर्शन गर्न गएको समयमा नजिक भएकोले जान्छौं । अथवा कुनै पिकनिक आयोजना हुँदैछ भने पिकनिक कार्यक्रमको लागि त्यहाँ जान्छौं र त्यो भन्दा बढी घुम्न वा पर्यटकीय महŒवकासाथ हामी काँक्रेविहार गयौं भने त्यो अपवाद हुनेछ । तर हामीलाई प्रत्येक पटक सुर्खेतको घुम्न लायक ठाउँको नाम भन्न वा लेख्न वा सुनाउन वा पठाउन वा जे सुकै गर्न लगाइयोस्, पहिलो पटक हाम्रो दिमागले सोच्दछ, काँक्रेविहार ।
काँक्रेविहार मध्यपश्चिम मात्र नभएर समग्र देशको चर्चित पर्यटकीय स्थल हुन सक्ने सम्भावना भएको क्षेत्र हो । काँक्रेविहार बौद्धधर्मावलम्बी र हिन्दु धर्मावलम्बीहरू सबैको साझा धार्मिक स्थलको रूपमा परिचित छ हामी सबैमाझ । काँक्रेविहार एउटा ऐतिहासिक क्षेत्र पनि हो । यहाँको भग्नावशेष (जुन पुनर्निर्माणको क्रममा रहेको छ) ले नेपालको इतिहासको कुनै–कुनै कालखण्डको कुनै–कुनै तथ्य वा घटनालाई देखाउन सक्दछ, त्यसकारण यो ऐतिहासिक क्षेत्र हो । काँक्रेविहार संरक्षित क्षेत्र पनि हो । वीरेन्द्रनगरदेखि दक्षिण र साविकको लाटीकोइली गाविसमा रहेको काँक्रेविहार उपत्यकाभित्रको एउटा महŒवपूर्ण भू–भागलाई प्रतिनिधित्व गर्दछ जुन विशाल जङ्गलको रूपमा रहेको छ । प्रश्न यही छ, यति धेरै सम्भावना र महŒव बोकेको काँक्रेविहारको संरक्षण वा चर्चा जति मात्रामा हुनुपर्ने थियो, त्यो किन भएन ? वा अलिकति पनि किन भएन ? चर्चा बढी नै भएर पनि यसको उपयोगिता किन देखिएन ? काँक्रेविहारलाई के पुगेन ? वा के बढी भयो ? पंक्तिकारलाई लागेका केही कुराहरू निम्नलिखित छन् ।
(१) काँक्रेविहार ः त्रास र डरको अर्काे नाम
कुनै ठाँउ घुम्न छ । त्यहाँको बारेमा जान्नु छ, बुझ्नु
छ । त्यस ठाउँमा रहेका अद्वितीय विषय वा घटना वा वस्तुप्रति अवगत हुनुछ । त्यस ठाउँमा केही न केही खर्च गर्नुछ तर विडम्बना एउटै ठूलै समूह नबनाएसम्म त्यहाँ जान खतरा छ । त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कमजोर छ वा छँदै छैन । विगतमा भएका विभिन्न दर्दनाक र अत्यन्त अपमानजनक घटनाहरूले त्यो ठाउँप्रतिको धारणा नै मानिसहरूमा अत्यन्त नकारात्मक बनेको छ । त्यसको नाम हो, काँक्रेविहार । सोच्नुस् त जहाँको नाम सुनेर बाहिरको मान्छे पनि यहाँसम्म आउँछ, आउन खोज्छ, यहाँको मान्छे पनि त्यहाँसम्म जान सक्छ, जान्छ, त्यसै ठाउँमा एक्लै वा दुई तीन जना भएर जान सकिने स्थिति छैन । अनि हामी सुर्खेतको पर्यटनको दिगो विकासको कुरा गर्ने ? उद्योग वाणिज्य संघ वा अन्य पर्यटन विकासको नाममा बनाइएका ‘अनावश्यक’ संस्थाहरूले वर्षमा एकपटक खुलामञ्चमा मेला लगाएर समृद्ध सुर्खेत पर्यटनबाट मात्रै सम्भव छ भन्ने ? जहाँ दीर्घकालीन पर्यटनको सम्भावना छ, त्यसतर्फ भने कसैको ध्यान नजाने ? पिङ्ग खेल्न र कलाकारको नाच हेर्न त पक्कै पर्यटकहरू सुर्खेत आउँदैनन् होला । यतिसम्म विडम्बना छ यहाँको ।
यी मेला लगाउने र अन्य सुर्खेतको पर्यटनको विकासमा सम्भावना देखाउन होटलमा सेमिनार गर्नेहरूले चाहने हो भने काँक्रेविहार पुग्ने बाटोसम्म पर्याप्त सुरक्षा व्यवस्था गर्न सकिँदैन ? मोटरसाइकल वा अन्य सवारी साधनमा त्यहाँ जानेलाई त्यति धेरै समस्या छैन होला सुरक्षाको तर पैदल जाने, दिनभरी त्यतै बिताउन चाहनेहरूको लागि सबैभन्दा असुरक्षित ठाउँ हो काँक्रेविहार । बलात्कारदेखि चोरी डकैतीसम्म भएका विगतका घटनाहरू हुन, काँक्रेविहार धेरै हदसम्म असुरक्षित छ भन्न सकिने आधारहरू । अनि सुरक्षा निकायको त कुरै नगरौं । बीचबजारमा गाडी कुदाउन र कार्यालयमा आएका केसहरू बाहेक अन्त जान झन्झट मान्ने यिनीहरूको ध्यान आफैं काँक्रेविहार त जाने त कुरै भएन । मसँग उदाहरण छ, तिहारको समयमा वीरेन्द्रनगर वडा नं. १० मा मदिरा सेवन गरेका युवाहरूले लडाईं गरिरहँदा पाँच पटक फोन गरेर घटनाको बारेमा सुनाउँदा पनि वास्ता नगरेको हो सुर्खेत प्रहरीले । अब काँक्रेविहारमा केही अप्रिय घटना भइहाल्यो भने प्रहरीलाई खबर गरौं भने पक्कै पनि प्रहरी भोलिपल्ट पुग्ला भन्ने भो । भन्न खोजेको कुरा चाहिँ काँक्रेविहारको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने नै हो भने पहिलो कदम सुरक्षाको मामलामा उठाउनुपर्दछ ता कि घुम्न जाँदा डराउन नपरोस् । कोही आइहाल्छ कि भनेर दायाँ बायाँ हेर्दै छिटोछिटो हिँड्न नपरोस् ।
(२) आधा घण्टाको बाटोः खानेपानी खोइ ?
पर्यटनको नाममा सरकारले वर्षेनी खर्च गर्छ । यदि म गलत छैन भने काँक्रेविहारको पुनर्निर्माण मात्रै नभएर व्यवस्थापनको लागि पनि केही न केही अंशमा त बजेट प्राप्त हुन्छ होला । लाटीकोइली शिव मन्दिरको बाटोबाट तपाईं काँक्रेविहार जानुस्, कहीं पनि खानेपानीको व्यवस्था छैन । बीचमा एक ठाउँमा तरकारीमा पानी हाल्ने जस्तो ट्याङ्की बनाइएको छ, जहाँको पानी पशुलाई खुवाउन समेत योग्य छैन । पर्यटनको नाममा मेला लगाएर ‘यति लाख नाफा ग¥यौं, अब यो रकम पर्यटन विकासमा खर्च गरिनेछ’ भनेर पत्रकार सम्मेलन गर्नेका आँखा कुनै समय त यस्तो समस्यातिर पुगे पनि हुने नि ? लाटीकोइली शिव मन्दिरदेखि करिब आधा घण्टा हिँड्दा पानी पिउन सकिने स्थिति छैन । त्यसको लागि जिम्मेवार पाएको निकायले तत्काल यसतर्फ ध्यान दिइ कसरी हुन्छ त्यो बाटोमा खानेपानीको व्यवस्था गर्नुपर्दछ । यसले काँक्रेविहारको पर्यटकीयस्थलको रूपमा विकास तथा प्रचार–प्रसारमा थप सहयोग त हुन्छ नै, बाहिरबाट घुम्न आएका मानिसहरू डराइ–डराइ हिँड्दै गर्दा पानी समेत पनि खान नपाउने स्थितिको अन्त्य हुन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।
अन्तिममा, किन यति मसिनो सरिया ?
काँक्रेविहार पुगिसकेपछि तपाईं अचम्मका दृश्यहरू देख्न सक्नुहुन्छ वा पाउनुहुन्छ । अत्यन्त सुखद् कुरा त के भने वर्षांै देखि समाचारमा सुन्दै आएको काँक्रेविहार पुनर्निर्माणको दृश्य तपाईं देख्नुहुन्छ । यो कार्य एकदम तीव्र गतिमा अगाडि बढेको देख्न सकिन्छ । पहिले काँक्रेविहारमा रहेको मन्दिर जस्तो आकार वा ढाँचाको थियो, त्यस्तै बनाइने भएकाले त्यो निकै ठूलो र भव्य हुने देखिन्छ । थोरै भए पनि नक्सामा देखाइएको पहिलेको काँक्रेविहारको प्रारूपमै काम भइरहेको छ । निर्माणको कार्य भइरहँदा त्यत्रो विशाल मन्दिरको लागि प्रयोग भएको सरिया देख्नुभयो भने चाहिँ तपाईंको पहिलो सोच भूकम्पमा जानेछ सायद । हुन त इन्जिनियरको नाप नक्सा एउटा होला, ठेकेदारको हिसाब–किताब एउटा होला तर भूकम्प आएमा फेरि भत्किने गरी अत्यन्त मसिनो किसिमको सरिया प्रयोग गरेर बनाइनुभन्दा बरु नबनाउनु नै श्रेयस्कर हुन्छ । बनेर भत्किनुभन्दा बरु बन्दै बनेन् भन्ने त हुन्छ । त्यो सरियाको आकार बढाए मात्रै पनि धेरै जोखिम कम हुन्छ । खै त, अब यसतर्फ ध्यान कसको जाने ?
साझा बिसौनी संवाददाता ।