सेना र प्रहरीले नै मानेनन् हात्तीपाइलेको औषधि खान
साझा बिसौनी संवाददाता
सुर्खेत, ३० फागुन ।
सरकारले सुरु गरेको हात्तीपाइलेविरुद्धको अभियानमा सर्वसाधारणहरूको उल्लेखनीय सहभागिता भइरहँदा सुरक्षा निकायको भने न्यून सहभागिता रहेको छ । अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयलले बारम्बार आग्रह गर्दा समेत सुर्खेतमा नेपाली सेना र प्रहरीले हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्न आनाकानी गरिरहेका छन् । स्वास्थ्यका अधिकारीहरूले ब्यारेक र क्याम्पमै औषधि पु¥याउँदा समेत सेना र प्रहरीले औषधि सेवन गर्न आलटाल गरेका हुन् ।
अभियानको पहिलो दिन शनिवार जिल्लाभर नै सार्वजनिक बुथहरूमा स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूले सबैलाई हात्तीपाइलेको औषधि खुवाएका थिए । तर, सुरक्षा निकायबाट भने कुनै सहभागिता
भएन । अभियानको उद्घाटन समारोहमा शनिवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले औषधि सेवन गरे । तर उनीहरूले पनि सुरुवातमा औषधि सेवन गर्न आनाकानी गरेका थिए । स्वास्थ्यकर्मीको आग्रहपछि दुवै जनाले प्रेसर जाँच गरेर हात्तीपाइलेको औषधि खाए । यो बाहेक सेना र प्रहरीले औषधि सेवन गरेका छैनन् ।
शनिवार छुटेकाहरूलाई आइतवार घरघरमै पुगेर प्रत्यक्ष निगरानीमा यो औषधि खुवाइएको छ । तर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खान नमानेपछि स्वास्थ्यकर्मीले उनीहरूलाई एकमुष्ठ औषधि दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतवार सुर्खेतमा रहेको नेपाली सेनाको मध्यपश्चिम पृतना, कपासे ब्यारेक, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको जिल्ला सुरक्षा वेश, महेश्वरी बाहिनी र रक्तकाली गणमै पुगेर हात्तीपाइलेको औषधि पु¥याएको
थियो । तर मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट गरिएको अनुगमनको क्रममा सेना र प्रहरीले औषधि लिएको भए पनि सेवन गरेको पाइएन । निमित्त क्षेत्रीय स्वास्थ्य निर्देशक खेमराज उपाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालयमा आंशिक रूपमा मात्र औषधि सेवन गरेको फेला पारेको छ । बाँकी औषधि सोमवार खुवाइने बाचा प्रहरीले गरेको छ । तर, प्रहरी कार्यालका अधिकांश सिपाहीहरूले आफूहरूले औषधि नखाएको बताएका थिए ।
यस्तै नेपाली सेनाको कपासे ब्यारेकले औषधि सेवनमा आनाकानी गरेको छ । ब्यारेकमा तालिम सञ्चालन भइरहेकाले तत्काल औषधि खुवाउन नसकिने जवाफ सेनाका अधिकारीले दिएका छन् । सेनाका चिकित्सकहरूले समेत हात्तीपाइलेको औषधि सेवन गर्दा कुनै असर नहुने बताएको भए पनि सेनाले तत्काल औषधि खुवाउन नसकिने जवाफ दिएको छ । सेनाका एक अधिकारीले भने, ‘औषधि त आएको छ, तर पृतनापतिज्यूले नै अहिलेलाई रोक्न भन्नुभएको छ ।’ त्यसैगरी सशस्त्र प्रहरीले समेत आइतवारसम्म औषधि सेवन गरेको पाइएन । अनुगमन टोली सशस्त्र प्रहरीको जिल्ला सुरक्षा वेशमा पुग्दा सशस्त्रका अधिकारीहरूले आइतवार मासु खाएका कारण औषधि नखाएको जवाफ दिए । मासु खाएको बेलामा यो औषधि खान नहुने भन्दै कसैले पनि खान नमानेपछि औषधि त्यत्तिकै रहेको छ । तर, सोमवार कुनै पनि हालतमा सबैलाई औषधि खुवाउने प्रतिबद्धता सशस्त्रका अधिकारीहरूले गरेका छन् । यद्यपि सुरक्षा निकायले यो औषधि सेवन गर्नेमा स्वास्थ्यकर्मीहरूले समेत आशंका व्यक्त गरेका छन् । सरकारी अभियानमा सुरक्षा निकायको न्यून सहभागिता भएपछि स्वास्थ्यका अधिकारी समेत चकित परेका छन् । जिल्लाका बाढीपीडित, वादी बस्ती, मुस्लिम समुदाय र
सुकुम्बासी बस्तीमा सर्वसाधारणहरूले यो औषधि निर्धक्क भएर सेवन गरेका छन् । तर सुरक्षा निकायलाई औषधि खुवाउन हम्मेहम्मे नै भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका उदय बिसीले आफूहरूले सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयमै पुगेर औषधि प्रदान गरिएको बताए । साथै उनले सोमवारसम्ममा सबैले औषधि सेवन गर्ने विश्वास समेत गरे । उनका अनुसार सुरक्षा निकायबाट औषधि खाने प्रतिबद्धता प्राप्त भएको छ । अनुगमनका क्रममा सेना र प्रहरीबाटै औषधि सेवन नभएको भेटिएपछि निमित्त क्षेत्रीय स्वास्थ्य निर्देशक खेमराज उपाध्याय भन्छन्, ‘यो राष्ट्रको अभियान हो, सबैले औषधि सेवन गर्न जरुरी छ । सर्वसाधारणले धमाधम औषधि खाइरहेका छन्, सेना र प्रहरीले मात्र किन आनाकानी गर्नु ?’ साथै उनले सुरक्षा निकायले यो अभियानमा सहयोग गर्नुपर्ने र औषधि खानुपर्ने बताए । यसैबीच आज सोमवार पनि घरघरमै पुगेर यो औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
साझा बिसौनी संवाददाता ।