राउटे संरक्षण गर्न नीति
फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायलाई सामाजिकीकरण गर्न एकीकृत नीति बनाइने भएको छ । राउटे समुदायको सांस्कृतिक परम्परालाई जगेर्ना गर्दै सामाजिकरण गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले नीति बनाउने भएको हो । उक्त समुदायलक्षित एकीकृत नीति ल्याउन लागेको सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले बताए ।
सोमवार बिहान भर्चूअल रूपमा भएको लोपोन्मुख तथा जनजातिसम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री बुढा क्षेत्रीले मन्त्रालयले राउटेसम्बन्धी नीति बनाइरहेको जानकारी दिएका हुन् । पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको छ । जसका कारण उनीहरू असुरक्षित बन्दै गएका छन् । केही दिन पहिले दुई जना राउटे युवतीमाथि गैरराउटे समुदायका युवाहरूले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो । समुदाय नै असुरक्षित बन्न थालेपछि उनीहरूका लागि प्रदेश सरकारले एकीकृत नीति बनाएर संरक्षण गर्ने जनाएको हो ।
मन्त्री बुढा क्षेत्रीका अनुसार नीतिमा सुरक्षाको प्रबन्ध, बस्ती प्रवेशमा निषेध, राहतमा वितरणमा एकद्वार प्रणाली, खाना, नाना र छानाको व्यवस्थापनलगायतका विषय समेटिने छन् । ‘एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक ठानेर त्यसै अनुरूप तयारी गरिएको हो,’ मन्त्री बुढा क्षेत्रीले भने, ‘साउनदेखि नीतिअनुसार काम हुन्छ ।’
राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरूको सामाजिकीकरणमा मन्त्रालयले काम गर्ने उनले बताए । राउटे समुदायका युवतीमाथि बाह्य समुदायका व्यक्तिहरूबाट भएको घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरूको प्रवेश निषेध आवश्यक रहेको उनले औंल्याए । मन्त्री बुढा क्षेत्रीले राउटेको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले बालबालिकामा रहेको कुपोषण न्यूनिकरण गर्न र उनीहरूको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशनसमेत दिए ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व भएको बताए । ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटेसम्बन्धी नीति तयार गरिरहेका छौं,’ उनले भने ।
प्रकाशित मितिः ८ असार २०७८, मंगलवार ०८:०८
साझा बिसौनी ।